सूचनाको शक्ति - The Power Of Information

        

नेपाल र भारतका चिकित्सकबीच उपचारमा सहकार्य गर्ने सहमति

कार्यशालामा सहभागी नेपाल र भारतका वरिष्ठ चिकित्सक ।

नेपाल र भारतका वरिष्ठ विशेषज्ञ चिकित्सकबिच नेपाली बिरामीको उपचारमा सहयोग, सहकार्य र समन्वय गर्ने सहमति भएको छ । भारतको प्रसिद्ध म्याक्स अस्पताल र बाँकेका वरिष्ठ चिकित्सकको सहभागितामा नेपालगन्जमा आयोजना गरिएको कार्यशालामा दुवै देशका चिकित्सकबिच सो सहमति बनेको हो ।

भारतको लखनउमा रहेको म्याक्स सुपर विशेषज्ञ अस्पतालमा नेपाली बिरामीको सहुलियतमा प्राथमिकता दिएर उपचार गर्ने सहमति दुवै देशका चिकित्सकबिच बनेको नेपाल मेडिकल एसोसिएसन नेपालगन्ज च्याप्टरका अध्यक्ष डा.विनोदकुमार थापाले बताए । उनले भारतबाट आएका सुपर स्पेसियालिस्ट चिकित्सकले बाँकेलगायत पश्चिम नेपालका बिरामीको उपचारमा सहकार्य, सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको बताए ।

सो अवसरमा दुवै देशका चिकित्सकले उपचार पद्धतिमा हाल आएका आधुनिक प्रविधि र पद्धतिका बारेमा विस्तृत रूपमा चर्चा गरेका थिए । कार्यशालामा भारतको लखनउस्थित म्याक्स सुपर विशेषज्ञ अस्पतालका एभिपी तथा युनिट हेड प्रमित मिश्राले विश्वस्तरमा भइरहेको चिकित्सा क्षेत्रका ज्ञान, नवप्रवर्तन र सहकार्यको महत्वका बारेमा जानकारी गराए ।

उनले भने, ‘हामीले नेपालको छिमेकमै ठुलो लगानीमा विश्वस्तरीय अस्पताल सञ्चालनमा ल्याएका छौँ, जहाँ सहुलियतमा सुपर स्पेसियालिस्ट सर्भिस उपलब्ध हुनेछ । त्यसका लागि छ्ट्टै नेपाल हेर्ने डेस्कको व्यवस्था पनि गरेका छौँ, जहाँ नेपाली भाषा मात्रै होइन, रुपैयाँ र भावना पनि चल्ने छ ।’

कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका महासचिव डा.दिनेशकुमार चौधरीले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा भइरहेको परिवर्तनबारे जानकारी गराउँदै यस्तो सहकार्यपूर्ण कार्यक्रमले ज्ञानको खाडललाई कम गर्न र सेवाको गुणस्तरलाई सुधार गर्न ठुलो मद्दत पुर्याउने बताए ।

कार्यशालामा म्याक्स सुपर स्पेसियालिटी अस्पताल लखनउका बहुविशेषज्ञताका वरिष्ठ चिकित्सकले आफ्ना विभिन्न अनुभव, ज्ञान र अभ्यासबारे आफ्ना प्रस्तुति दिए । म्याक्सका वरिष्ठ निर्देशक तथा प्रमुख मेडिकल अन्कोलोजिस्ट डा.आलोक गुप्ता, युरोलोजी, एन्ड्रोलोजी, मृगौला प्रत्यारोपण तथा रोबोटिक युरो अन्कोलोजीका निर्देशक डा.आदित्य के. शर्मा, न्युरो सर्जरीका निर्देशक डा.मनु रस्तोगी र डा.सम्सेरीले आफ्ना अनुभव र अभ्यास सुनाए ।

त्यस्तै म्याक्सका युरोलोजी, एन्ड्रोलोजी, मिर्गाैला प्रत्यारोपण तथा रोबोटिक युरो अनकोलोजीका निर्देशक डा.आदित्य के.शर्माले रोबोटिक सर्जरीले बिरामीको हेरचाहमा कसरी रूपान्तरणकारी प्रभाव पारिरहेको छ भन्ने कुरा प्रस्तुत गरेका थिए । सो कार्यशालामा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित बाँकेका विभिन्न अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकको सहभागिता थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार १८:००

लोकप्रिय