नेपालबाट भारतको गोवा जाने भनि भारतीय बसमा चार दिनअघि त्यसतर्फ हिँडेका पश्चिम नेपालका विभिन्न जिल्लाका १०० जना नेपाली अझै गोवा पुगेका छैनन् । भारतीय बसका लागि नेपालगन्जमा टिकट काट्ने दुई वटा टुर्स एण्ड ट्राभल्स प्रालि र बसका सञ्चालकका कारण ती यात्रुले बाटोमा निकै सास्ती भोग्नुपरेको हो ।
नेपालगन्जमा रहेको पञ्चवटी टुर्स एण्ड ट्राभल्स प्रालि र भगवती बागेश्वरी टुर्स एण्ड ट्राभल्स प्रालिले भारतीय बस सञ्चालकलाई समयमा टिकटको रकम नपठाएपछि नेपाली यात्रुलाई बाटोमा दुई दिन अलपत्र पारिएको थियो ।
रुपैडिहाबाट हिँडेको दुई दिनसम्म पनि रकम नपाएपछि नेपाली यात्रु बोकेको यूपी ९३ बी टी ९९४४ नम्बरको बसका सञ्चालकले भारतको मध्य प्रदेशको मस्के भन्ने स्थानमा दुई दिनसम्म यात्रुलाई अलपत्र पारेको सो बसका यात्रु रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ का मोहन खड्काले फोनमा बताए ।
उनले नेपालगन्जस्थित वडा प्रहरी कार्यालयमा आफन्तमार्फत उजुरी दिएर टिकट काट्नेलाई पक्राउ गराएपछि उनीहरुले तेस्रो दिन पैसा पठाएको र त्यसपछि मात्रै बस गन्तव्यतर्फ हिँडेको बताए । तीन दिनमा गोवा पुग्नुपर्नेमा पाँचौं दिन पनि नपुगेकोे बताए ।
पश्चिम नेपालको रुकुम पश्चिम, दाङ, सल्यान, कैलाली र नेपालगन्जका करिब १०० जना यात्रुले नेपालगन्जमा रहेको पञ्चवटी टुर्स एण्ड ट्राभल्स प्रालि र भगवती बागेश्वरी टुर्स एण्ड ट्राभल्स प्रालिबाट टिकट काटेर शनिबार बेलुकी नाकापारि रुपैडिहाबाट गोवाका लागि भारतीय बसमा सवार भएर हिँडेका थिए ।
बसमा क्षमताभन्दा बढी यात्रु कोचाकोच पारेर ल्याएको जनाउँदै नेपालमा रहेका दुई वटा टुर्स एण्ड ट्राभल्स प्रालिले समयमा रकम नपठाउँदा नेपाली यात्रुले बाटोमा अनावश्यक दुख पाएको सोही बसका अर्का नेपाली यात्रु दाङ घोराहीका मनीषा सिंहले गुनासो गरे । उजुरी परेपछि नेपालगन्जमा प्रहरीले ती दुबै टुर्स एण्ड ट्राभल्स प्रालिका आधिकारिक व्यक्तिलाई वडा प्रहरी कार्यालयमा बोलाएर यात्रुको समस्या जानकारी गराई रकम तिर्न लगाएको थियो ।
पञ्चवटी टुर्स एण्ड ट्राभल्स प्रालि र भगवती बागेश्वरी टुर्स एण्ड ट्राभल्स प्रालिका कर्मचारीले विभिन्न कारणले रकम पठाउन नसकेको जनाउँदै सोमबार बिहान रुपैडिहामा मानिस पठाएर रकम बस सञ्चालकको खातामा हाल्न लगाएका थिए । पञ्चवटी टुर्स एण्ड ट्राभल्स प्रालिका ऐनबहादुर बस्नेतले आफु्हरुले पैसा पठाउन केही ढिला भएको स्वीकार गर्दै अब त्यस्तो नहुने बताएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके