सूचनाको शक्ति - The Power Of Information

        

एक करोड खर्चेको रंगशाला घाँसे मैदान बनेपछि…

सोमबार साँझ केही युवा लेखनाथ रंगशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रंगशालामा थियो ।

बिहान बेलुका कराते लगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रंगशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् । आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ ।

पोखरा महानगरपालिका– २९ स्थित यो रंगशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढंगले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रंगशालाको विकल्प मानिएको लेखनाथ रंगशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् । आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रंगशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गरे । रंगशालाको ट्रयाक मापदण्ड अनुसारको नभएको उनले बताए ।

प्यारापिट पनि लथालिंग छ । ‘अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।’ पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रंगशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रंगशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ ।

बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४–०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ ।

उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रंगशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र संघ सरकारको लगानी चाहिने बताए । खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रंगशाला परेको उनको टिप्पणी छ । ‘राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकास गर्नुपर्छ,’ उनले भने ।

लेखनाथ रंगशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए । ‘खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता गरिरहेको छ,’ उनले भने ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १४:३२

लोकप्रिय