गत आर्थिक वर्षमा धान चामल आयात ४० प्रतिशतले घटेको छ । भारतले धान निर्यातमा भन्सार शुल्कका साथै चामलमा कोटा सिस्टम लगाएका कारण आयातमा कमी भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०–०८१ मा २२ अर्ब रुपैयाँ बराबरको धान चामल आयात भएको छ ।
गत आवमा १२ अर्ब ९४ करोड १० लाख रुपैयाँको ३१ करोड ९० लाख केजी धान र नौ अर्ब २८ करोड ९८ लाख ५६ हजार रुपैयाँ बराबरको आठ करोड ८७ लाख २३ हजार केजी चामल आयात भएको छ । आव २०७९–०८० मा ३६ अर्ब रुपियाँ बराबरको धान र चामल आयात भएको थियो ।
२०७९–०८० मा १९ अर्ब १९ करोड रुपैयाँ बराबरको ५५ करोड ५८ लाख केजी धान र १५ अर्ब ९१ करोड रुपैयाँको २३ करोड ३९ लाख केजी चामल आयात भएको थियो । गत आवमा भारतले धान निर्यातमा २० प्रतिशत शुल्क लगाएका कारणले आयातमा कमी आएको छ । गत आवमा १४ अर्ब ८९ करोड रुपैयाँको मकै आयात भएको छ ।
विभागका अनुसार अघिल्लो आवमा १७ अर्ब ९३ करोड रुपैयाँको मकै आयात भएको थियो । प्रत्येक वर्ष स्थानीय उत्पादनले माग धान्न नसक्दा ठुलो परिणाममा खाद्यान्न आयात हुने गरेकोमा गत वर्ष भारतले आयातमा कडाइ गरेकाले समग्र खाद्यान्न आयातमा कमी आएको हो । गत आवमा ७५ करोड ४१ लाख ९५ हजार रुपैयाँको कोदो आयात भएको छ ।
३३ करोड ८७ लाख रुपैयाँको जौ, ४७ करोड १३ लाख रुपियाँको गहुँ आयात भएको भन्सार विभागको तथ्याङ्क छ । गत आर्थिक वर्षमा ४५ अर्ब ७० करोड ७४ लाख ७५ हजार रुपैयाँको कुल खाद्यान्न (चामल, धान, मकै, जौ, गहँ, कोदो) आयात भएको छ । आव २०७९–०८० मा ५६ अर्ब ६२ करोड ५३ लाख ४७ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो ।
नेपाल चामल, तेल, दाल उद्योग सङ्घका अध्यक्ष कुमुद दुगडले भारतले धानचामल निर्यातमा भन्सार शुल्क लगाएका कारण आयातमा कमी भएको जानकारी दिए । धानमा आयात गर्दा व्यवसायीले २० प्रतिशत भन्सार शुल्क पाँच प्रतिशत कृषि सेवा शुल्क तिर्नुपर्छ । आयातमा कडाइ गरेसँगै गैरकानुनी ढङ्गले खाद्यान्न आयात हुँदा राजस्व सङ्कलनमा कमी आउने गरेको छ ।
धानको आयातमा भन्सार शुल्क लाग्दा बजारमा चामलको अभाव भएको उनको भनाइ छ । बजारमा अभाव हुँदा प्रतिबोरामा २०० रुपैयाँसम्म मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । समयमा धान आयात नभए बजारमा थप मूल्य बढ्न सक्ने व्यवसायीको भनाइ छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा.हरि केसीले चामलको आयात किन घट्यो भनेर अध्ययन गर्न आवश्यक रहेको बताए ।
बजारमा खाद्यान्न अभाव हुन नदिनका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट छ लाख टन चामल आयात गर्नका लागि पहल गर्न पत्राचार गरिएको दुगडको भनाइ छ । नयाँ धानको उत्पादन हुने बेलासम्म बजार माग धान्न आगामी असोज महिनासम्मका लागि छ लाख मेट्रिक टन धान आयात गर्न एक साताअघि पत्राचार गरेको सङ्घले जनाएको छ । अर्जेन्टिनाबाट पोल्टी फार्मका लागि ठुलो परिमाणमा मकै आयात हुने गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिमाणमा मकै आयात हुने गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं