सूचनाको शक्ति - The Power Of Information

        

१०० फिटमाथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ : क्याप्टेन मनीषरत्न

बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनीषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक प्रा.डा.मीना थापाले क्याप्टेन शाक्यको अवस्था सामान्य रहेको र अन्य जटिलताहरू नदेखिएको बताएकी छन् ।

क्याप्टेन शाक्यको आँखा, नाक र टाउकोमा चोट रहेको, ढाडको एउटा हड्डीका साथै देव्रेतर्फका तीन वटा करङ भाँचिएको अवस्था रहेको डा.थापाले बताएकी छन् । क्याप्टेन शाक्यले डा.थापासँग जहाज दुर्घटनाका सन्दर्भमा केही कुरा सुनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट जहाज उडाएर ५०–१०० फिटमाथि पुर्याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन शाक्यको भनाइ छ ।

अस्पतालका निर्देशक डा.थापाले क्याप्टेन शाक्यसँग गरेको कुराकानी उद्धृत गर्दै भनिन्, ‘जहाज उडाउन कोसिस गर्दै थिएँ, ५०–१०० फिट माथि गएको थियो । त्यसपछि कन्ट्रोल गर्न सकिनँ । छिनमै जहाज तल झर्यो, मचाहिँ कता–कताबाट बाहिर निस्किएँ ।’ सौर्य एयरको नाइनएन– एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १७ जना नेपाली र एक जना विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते भएका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १४:१४

लोकप्रिय