सूचनाको शक्ति - The Power Of Information

        

चौधरी समूहले हडपेको बाँसबारी जग्गा सरकारको नाममा फिर्ता

बाँसबारी छाला जुत्ता कारखाना उद्योगको हडपिएको जग्गा सरकारको नाममा फिर्ता ल्याइएको छ । हाल चाँदबाग स्कुलले चर्चेको जग्गा मालपोत कार्यालय डिल्लीबजारमार्फत सरकारका नाममा कायम गरिएको हो ।

नेपाल सरकारका नाममा बुधबार कायम भएको जग्गाधनी पुर्जामा कित्ता नम्बर ५८ को जग्गाको क्षेत्रफल ४८७ वर्गमिटर उल्लेख छ । यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सरकारी जग्गा हडपिएको सम्बन्धमा अनुसन्धान गरेको थियो ।

ब्युरोले अनुसन्धानपछि गत माघ २२ गते मालपोत कार्यालयलाई पत्र पठाएर उक्त जग्गा नेपाल सरकारका नाममा स्रेस्ता अद्यावधिक गर्न भनेको थियो ।

सरकारी जग्गा हडप्ने तत्कालीन च्याम्पियन फुटवेयर प्रालि र हालको चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले माघ २५ गते २१ दिन भित्रमा उपस्थित हुन पत्र पठाएको थियो ।

सीआईबीले अध्यक्ष ठाकुरसहित चाँदबागका सञ्चालक व्यापारी अरुण चौधरी र कारखानाका तत्कालीन अध्यक्ष बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरेर अनुसन्धान गरेको हो ।

पछि अदालतको आदेशले उनीहरू छुटिसकेका छन् । उनीहरुले सुरुमा च्याम्पियन फुटवेयर लिमिटेड नामक सार्वजनिक कम्पनी खडा गरेका थिए । तर पछि निजी कम्पनी बनाएको पाइएको छ ।

हाल उक्त कम्पनीको नाम पनि चाँदबाग रेसिडेन्सी प्रालि रहेको छ । बाँसबारीको हडपिएको जग्गा हाल चाँदबागकै नाममा रहेको थियो । यो कम्पनीका नाममा कारखानाको १० रोपनी जग्गा दिने निर्णय गर्दा अध्यक्ष अजितनारायण थापा रहेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १७:३४

लोकप्रिय