सूचनाको शक्ति - The Power Of Information

        

निर्मला पन्त हत्याको ६ वर्ष, कहिले पत्ता लाग्ला दोषी ?

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ । निर्मला विसं २०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएको भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा मृत फेला परेकी थिइन् ।

निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरेका थिए । भेजाइनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि विष्ट पछि छुटे ।

नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो । अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कन्चनपुर प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्टसहितका केही प्रहरी बर्खास्त भए । विभागीय कारबाहीमार्फत् बर्खास्त भएका एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाई पाए ।

सीआइबीले अनुसन्धानका लागि विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान जारी रहेको बताएको छ । केन्द्रीय जाँच व्यूरो (सीआइबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आ–आफ्नै तरिकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म प्रहरीले एक सयभन्दा धेरै व्यक्तिको डिएनए संकलन गरी प्रयोगशालामा जाँच गराइसकेको छ भने एक दर्जन व्यक्तिलाई हिरासतमा लिएर पनि अनुसन्धान गरिसकेको छ । तर, अहिलेसम्म अपराधी पत्ता लाग्न सकेको छैन । ६ वर्षको अवधिमा नेपाल प्रहरीले धेरै जनशक्ति र धनराशीको खर्च पनि गरेको छ । तर, पनि यो अपराधको गुत्थी केलाउन प्रहरी असफल नै भएको छ ।

नेपाल प्रहरीको इतिहासमै यो सबैभन्दा पेचिलो, खर्चिलो र टाउको दुखाइएको अनुसन्धान हो । घटनाको लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो, (सीआईबी)लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर अनुसन्धान गर्दा पनि पत्ता लाग्न नसकेको यो घटनामा प्रहरी सङ्गठनले नै सबैभन्दा धेरै क्षति व्यहोरेको छ ।

घटनाको २५ दिनमा अभियुक्त भन्दै सार्वजनिक गरिएका स्थानीय मानसिक रोगी दिलिपसिंह विष्टको डीएनए नमिलेपछि घटनाको अनुसन्धान झनै पेचिलो र तनावपूर्ण बन्दै गयो । त्यसपछि पनि स्थानीय दुई युवालाई पक्राउ गरेर अनुसन्धान गरियो र उनीहरूले पनि आफ्नो अपराध स्वीकार गरेको बताइयो । तर, उनीहरूको पनि डीएनए म्याच नभएपछि उनीहरूलाई पनि छाडियो ।

कहिले प्रहरीले नै अपराधीलाई लुकाएको आरोप लाग्यो भने कहिले प्रहरी अधिकारी नै घटनामा संलग्न भन्दै बहालवाला प्रहरी अधिकारीकै डीएनए परीक्षणसम्म गराइयो । हरेक पाटोबाट अनुसन्धान गरिएको भए पनि यो अनुसन्धानको गुत्थी अझै सुल्झिन सकेको छैन । अहिले पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर घटनाबारे सूक्ष्म ढंगले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको बताउँछ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १४:१५

लोकप्रिय