सूचनाको शक्ति - The Power Of Information

        

बंगलादेशबाट काँकडभिट्टा हुँदै स्वदेश आइपुगे नेपाली विद्यार्थी

बंगलादेशबाट फर्केपछि काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा भेला भएका नेपाली विद्यार्थी ।

बंगलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन् । आइतबार मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् ।

‘पछिल्लो दुई दिनको तुलनामा आइतबार विद्यार्थीको आगमन बढेको हो,’ अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने । उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए ।

बंगलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए ।

आइतबार दिउँसो काँकडभिट्टा आइपुेकी रंगपुर कम्युनिटी मेडिकल कलेजकी एमबीबीएस छात्रा भावना राईले नेपाली समुदायका चार सयभन्दा बढी विद्यार्थीलाई कलेजले आफ्नो बसमा ओसारेर भारतको सीमानाका फुलबारीमा ल्याइदिएको बताइन् ।

इटहरी निवासी राईका अनुसार विद्यार्थी ओसार्न प्रयोग गरिएको कलेजको बसलाई बंगलादेश सरकारले सुरक्षा दिएको थियो । ‘कलेजका प्राध्यापक र कर्मचारीहरु पनि भारतको सीमासम्म हामीलाई पुर्याउन आउनुभयो,’ उनले भनिन्, ‘कर्फ्यु लागेको अवस्थामा बंगलादेशबाट भारत प्रवेश गर्न सफल भयौँ ।’

आइतबार मात्रै नौवटा बसमार्फत एकै भारतीय सीमानाकासम्म आएका रंगपुर मेडिकल कलेज र प्राइम मेडिकल कलेजका विद्यार्थीमध्ये धेरैजसो दार्जीलिङ, सिक्किम र सिलिगुढी क्षेत्रका भएको उनले जानकारी दिइन् । केही विद्यार्थी भुटानबाट समेत आएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ०५:४८

लोकप्रिय