साउनको पहिलो दिन अर्थात साउने संक्रान्ति । खेती–किसानीमा आधारित ग्रामिण समाजका लागि विशेष दिन । यस दिनलाई ‘लुतो’ फाल्ने र तिउरी लगाउने दिनको रुपमा लिन्छ । साउने संक्रान्ति सबैतिर मनाइने भए पनि यसका विधी एवं प्रक्रियामा एकरुपता पाइदैन । धेरैजसो भेगमा भने यस दिन आफ्नो खेतबारीमा उत्पादन भएका वा पाकेका फलफूल चढाउने, कतिपय औषधिय वनस्पतिलाई घरमा सजाउने गरिन्छ ।
कण्डारक नामक रात्रिचर (राती हिँड्ने)को पूजा गरिन्छ । त्यसपछि ‘उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा सकाल आइज’ भन्दै अगुल्टो फ्याक्ने प्रचलन छ । वर्षायामसँग हैजा, घाउ–खटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस् भनेर कामना गरिन्छ । चढाएर कण्डारकको पूजा गरेपछि दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास गरिन्छ । यस दिन नुहाएर तिउरी लगाउने गरिन्छ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन् ।
त्यस क्रममा हिलोमैलोले लाग्ने छाला सम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको छ । परम्परा अनुसार काग भलायो, कुकुर डाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कूल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ ।
ज्योषित विज्ञान अनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशीमा प्रवेश गर्छ । त्यही कारण यस दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । यस दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ लाग्ने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ । सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
धार्मिक आस्था राख्नेहरुले यस महिनालाई पवित्र मान्ने गर्छन् । यस अवधिम स्नान, होम, श्रद्धा, दान जस्ता काम गर्नु लाभदायक हुने विश्वास छ । साउनको पहिलो दिनदेखि नै सौभाग्यको प्रतिक र वस्त्र पहिरिने गरिन्छ । भगवान शिवको पूजा आराधना गरिन्छ । उपवास एवं ब्रत बसिन्छ । मासुजन्य एवं तामासी भोजन त्याग गरिन्छ । शरीरलाई शुद्ध गरेर मनलाई भक्ति–भजनमा लगाइन्छ ।
साउने संक्रान्तिको दिन आफ्नो खेतबारीमा उत्पादन भएको फलफूल चढाउने गरिन्छ । यसैगरी अनिकाल वा प्राकृतिक विपत्ति झेल्न नपरोस् भनी कामना गरिन्छ । अन्नदाता एवं प्रकृतिप्रति कृतज्ञता व्यक्त गरिन्छ ।
असार वा मध्य वर्षायाममा किसानहरु खेतीपातीमा लाग्छन् । यसबेला ‘मानो खाएर मुरी उब्जाउने’ भन्दै खेतीपातीमा तल्लिन भएर लाग्ने गरिन्छ । यस क्रममा हातमा चोटपटक लाग्ने, हिलो–मैलाको कारण छालामा संक्रमण भएको हुनसक्छ । अतः खेती–किसानीको काम पुरा भएसँगै सरसफाई गर्ने, लुतो जस्ता छालामा लाग्ने रोग, चोटपटकको उपचार गरिन्छ । हात एवं नङमा मेहेन्दी लगाइन्छ ।
आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति । धार्मिक, संस्कृति र प्राकृतिक रूपमा यो दिनको विशेष महत्त्व रहेको छ । नेपालमा मुख्य रूपमा मनाउने गरिएको ४ सङ्क्रान्तिहरू मध्ये आज परेको साउने सङ्क्रान्तिको विशेष महत्त्व रहेको छ । संक्रान्तिहरुकै कुरा गर्दा वैशाख, कार्तिक र माघ महिनाको १ गतेका संक्रान्तिहरुलाई पनि महत्त्वपूर्ण मानिन्छ । तर विशेष रूपमा माघे सङ्क्रान्ति र साउने संक्रान्तिलाई अझ विशेष मानिने गरेको छ ।
सङ्क्रान्ति चाडलाई विशेषतः सूर्यसँग सम्बन्धित मानिन्छ । सूर्यसँग सम्बन्धित भए पनि योसँग जोडिएका विभिन्न धार्मिक पक्षले गर्दा यसलाई झनैं महत्त्वपूर्ण बनाउने गरेको छ । साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति, यो दिनदेखि सूर्य दक्षिणायन हुने गर्छन् । सूर्य उत्तरायण हुने बेलामा माघे सङ्क्रान्ति पर्ने गर्छ । सूर्य दक्षिणायनमा जाने बेलामा पहिलो महिना साउन पर्छ । यो महिनामा विशेष रूपमा भगवान् शिवसँग सम्बन्धित धार्मिक कार्यहरू गरिन्छ ।
यो महिनामा शिवजीका महिमाहरू उजागर गर्ने महिना पनि मानिन्छ । प्रा.डा.देवमणी भट्टराई भन्छन्, ‘साउने सङ्क्रान्तिको दिनमा लुतो फ्याँक्ने पनि गरिन्छ ।’ कर्कट सङ्क्रान्तिमा झुन्डा नाम गरेको राक्षसको पूजा गरेर घरमा भय निवारण गर्न त्यस दिन कण्डारक (राती हिँड्ने)को पूजा गरेर लुतो फ्याँक्ने चलन रहेको छ । सूर्य दक्षिणायनमा आएपछि प्रकृतिमा आएको परिवर्तनलाई हाम्रो शरीरले एकै पटक आत्मसात् गर्न सक्दैन ।
मौसम बर्षात् भएको कारण मानिसहरूको सम्पर्क पानी, हिलोसँग बढी हुन्छ । यसले शरीरमा विभिन्न किसिमका घाउ खटिराहरू आउने गर्छ । जसलाई चलन चल्तीको भाषामा हिलो उर्छेको पनि भनिन्छ । त्यसको निवारणलाई पनि लुतो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्ने दिनको साँझ कुरिलो र तीतेपातीमा आगो बालेर अगुल्टोले लुतो लैजा भनी चार दिशामा फ्याँक्ने र नाङ्लो ठटाएर घरको मूल ढोका बन्द गर्ने गरिन्छ । सूर्य दक्षिणायनमा प्रवेश गरेपछि यसको प्रभाव वनस्पतिहरूमा बढी पर्छ ।
यसको प्रभावले वनस्पतिहरूमा फल लाग्ने गर्छ । यसरी लागेको फलको पहिलो स्वाद भगवानलाई खुवाएर न्वागी मनाउने चलन रहेको छ । दक्षिणायनमा देउताहरू आराम गर्ने त्यति सक्रिय नहुने मानिन्छ । सूर्यको गति दक्षिणायन सुरु भएपछि नेपालमा राष्ट्रिय सांस्कृतिक पर्व सुरु हुन थाल्छ । यो आयनमा नाग पञ्चमी, जनै पूर्णिमा, हरितालिका तीज, इन्द्रजात्रा, गाई जात्रा, कुशे औँसीदेखि स्वस्थानी पूजासम्मका चाडपर्वहरू मनाइने गरिन्छ । सूर्य उत्तरायण माघे सङ्क्रान्ति पछि प्रवेश गरेपछि देउताहरू उठ्ने धार्मिक विश्वास मानिन्छ ।
यो आयनमा प्रवेश गरेपछि धार्मिक अनुष्ठानहरू व्रतका प्रतिष्ठा, पुराण श्रवण, देउताहरूको प्रतिष्ठाहरूको कार्य सम्पन्न गरिन्छ । देवादी देव महादेवलाई जल तत्त्वको रूपमा लिइन्छ । छिट्टै खुसी हुने भगवान् भएको कारण साउन महिनामा भगवान् शंकरलाई विशेष रूपमा मान्ने गरेका हुन्छन् । शिवको वरदान दिने क्षमता बढी भएको कारणले दक्षिणायनको सुरुको महिनादेखिनै उनको आराधना थालिन्छ । यो महिनाको सोमवार विशेष रूपमा हरियो रङ्गका वस्त्र, चुरा र मेहन्दी लगाएर व्रत बसी भगवान् शिवजीको आराधना गर्नाले आफूले चिताएको मनोकामना पुरा हुने विश्वास रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं