सूचनाको शक्ति - The Power Of Information

        

विद्युत अवरुद्ध हुँदा राप्तीपारिका गाउँहरु अन्धकारमा

राप्ती नदी र अन्य खोला नालामा आएको बाढीले विद्युतका पोल र तार ढालेपछि बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दर्जन बढी गाउँहरूमा विद्युत सेवा अवरुद्ध भएको छ । मर्मत सम्भार जारी रहेकोले दुवै पालिकाका केही गाउँमा विद्युत सेवा सुचारु भए पनि अझै धेरै ठाउँमा सेवा सुचारु हुन सकेको छैन ।

पानी घटेपछि मर्मतको काम सुरु गरिएकोले सोमबार बेलुकाबाट खोकरी, बक्सहवा, बसेरी र दुबेरी गाउँको विद्युत सेवा सुचारु भएको कुसुम ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडले जनाएको छ । यी चार वटा गाउँमा सोमबार बेलुकीबाट विद्युत सुचारु भएको कुसुम ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर केसीले बताए ।

तर अझै पनि मर्मतको काम बाँकी रहेकाले सुनखरे र चुनाहा गाउँको विद्युत सेवा सुचारु हुन नसकेको उनले बताए । सोही प्रकारले नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बाढी र वर्षाले विद्युत पोल र तारहरूमा क्षति भएपछि नरैनापुरका धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको बताए ।

उनले मर्मत सम्भारका लागि पटकपटक सम्बन्धित कार्यालयलाई आग्रह गरेपछि मर्मत कार्य सुरु गरिए पनि अझै धेरै ठाउँमा बिद्युत अनियमित नै रहेको बताए । राप्ती नदीमा आएको बाढीले शनिबार दिउँसो राप्तीसोनारी र नरैनापुरका विभिन्न स्थानमा विद्युत पोल र तारमा क्षति पुर्याएपछि सो क्षेत्रका दर्जन बढी गाउँको बिद्युत सेवा अवरुद्ध भएको थियो ।

राप्तीसोनारी गाउँपालिका–१ का स्थानीय बासिन्दा कृष्ण चौधरीले विद्युत नहुँदा सो क्षेत्रको जनजीवन निकै प्रभावित भएको र खासगरि रातीको समयमा ठुलो सास्ती भोग्नु परेको बताए । राप्तीसोनारी–१ अन्तर्गतका नदी बारीका गाउँहरूमा पनि विद्युत पोल तथा तारमा अविरल वर्षाले क्षति गरेको कुसुम सामुदायिक ग्रामीण विद्युत सहकारी संस्थाले जनाएको छ ।

सो सहकारी संस्थाले राप्ती नदी पार गरेर सौरी–भम्का, बैरिया–अमुवा, बाँसखोली–भवानीयापुर, बाघखोर–सुनखरे, चप्परगौडी–चुनाहा र लौकी–खोकरी गरी विभिन्न ६ स्थानबाट बिद्युत सेवा विस्तार गरेको छ । राप्ती नदीमा हरेक वर्ष आउने बाढीले यी स्थानका बिद्युत तार तथा पोलहरूमा बाढीले क्षति पुर्याउँदै आएको छ ।

सोही प्रकारले नरैनापुरका विभिन्न ठाउँमा रहेका विद्युत पोल, तार र अन्य उपकरणमा कहिले हावा हुरी त कहिले वर्षा र बाढीले क्षति पुर्याउँदै आएको छ । उक्त समस्याको दीर्घकालीन रूपले समाधान गरिदिन स्थानीयले पटक पटक सङ्घीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुसँग माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १८:२३

लोकप्रिय