सूचनाको शक्ति - The Power Of Information

        

बाढीपहिरोले देशभरका कुन-कुन राजमार्ग अवरुद्ध ?

बाढी र पहिरोले देशभर दर्जनौं राजमार्गमा क्षति पुगेको छ भने २२ राजमार्ग अवरुद्ध बनेका छन् । सडक विभागका अनुसार पूर्वदेखि पश्चिमसम्मका कैयौं राजमार्गमा क्षति पुगेको छ । कतिपय राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् भने कतिपय पूर्णरूपमा ठप्प छन् । कतिपय राजमार्ग सञ्चालन गर्न महीना दिन लाग्ने भएको छ ।

विभागका अनुसार वैशाखयता २१३ राजमार्गमा क्षति पुगेको छ । जसमध्ये मर्मतसम्भार गरेर ८३ वटा राजमार्ग सञ्चालनमा आएका छन् भने १०८ वटा राजमार्गमा सवारीसाधन एकतर्फी आवतजावत भइरहेको विभागले जनाएको छ । पछिल्लो केही दिनयताका बाढी र पहिरोले क्षति पुगेका २२ राजमार्ग अवरुद्ध छन् ।

आज बिहान मात्रै बाढीले तानसेन–रिडी–कोरला राजमार्ग अवरुद्ध बनेको छ । गुल्मीको भदौरे खोलामा राजमार्ग अवरुद्ध भएको विभागले जनाएको छ । त्यस्तै, कञ्चनपुरको सुडामा पूर्व–पश्चिम राजमार्ग, डोटीको रडुवामा मध्यपहाडी राजमार्ग र तनहुँमा आरुङ खोलामा भिमाद–रामपुर–मित्याल राजमार्ग अवरुद्ध छ ।

दैलेखको सियालमा कर्णाली राजमार्ग, कालीकोटको मोफ्ला बजार नजीक हुम्ला सडक, दैलेखको तालपोखरी नजीक दैलेख–नाम्चेनाम्ला सडक, कालीकोटको स्मोड र त्यसको नजीकै कर्णाली राजमार्ग अवरुद्ध छन् । यसैगरी, डोटीको राजपुर क्षेत्रमा दुई ठाउँमा मध्यपहाडी राजमार्ग, बाग्लुङको दब्ल्याङ भीरमा तानसेन–रिडी–कोराला राजमार्ग, धनकुटाको ओख्रेमा भेडेटार–रवि–राँके सडक अवरुद्ध छन् ।

विभागका अनुसार बाढी र पहिरोले सिन्धुलीको कुदुलेमा मध्यपहाडी राजमार्ग, कालीकोटको हुम्लमा जुम्ला सडक, सिन्धुपाल्चोकको कोदारीमा अरनिको राजमार्ग, गुल्मीको राक्सेमा तानसेन–रिडी–कोरला सडक र स्याङ्जाको रातोडाँडामा तानसेन–रिडी–कोरला सडक अवरुद्ध छन् । यस्तै, गुल्मीकै कनौटा र बरल्वामा तानसेन–रिडी–कोरला सडक, लमजुङको तिमाङमा डुम्रे–बेंसीशहर–चामे सडक र संखुवासभाको समाटारमा कोशी राजमार्ग अवरुद्ध छन् ।

केही ठाउँमा वर्षा कम भएकाले पहिरो पन्छाउने प्रयास भइरहेको विभागले जनाएको छ । कतिपय ठाउँमा भने वर्षा भइरहेकाले सडक खुलाउन केही दिन लाग्ने भएको छ । पूर्वी नेपालमा झरी कम भए पनि पश्चिमी क्षेत्रमा भने झरी परिरहेको छ । पश्चिम तराईमा लगातारको झरीले कैयौं बस्ती डुबानमा परेका छन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १२:१०

लोकप्रिय