राप्ती नदीमा पानीको सतह ह्वात्तै बढे पनि सिक्टा सिचाई आयोजनाले बाँकेको अगैयास्थित ब्यारेजका १४ वटा मात्रै ढोका खोलेको छ । ब्यारेजका कुल १८ वटा ढोकामध्ये चार वटा ढोका अझै बन्द छन् ।
ब्यारेजका सबै ढोका नखोल्दा अगैयाभन्दा माथिका केही गाउँहरूमा बाढी पसेको र गाउँ नै डुबानमा पर्ने जोखिम बढेको स्थानीयले बताएका छन् । राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेर केही घरमा क्षति पुर्याइसकेको छ ।
राप्तीको बाढीले बाघखोरका स्थानीयबासी खुमलाल रावत, प्रेम सुनार, शालिकराम भण्डारीको घरमा क्षति पुर्याएको छ । स्थानीय माधव रावतका अनुसार राप्तीको बाढी सोही गाउँका राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीको घर पनि पस्न लागेको छ ।
बाढी राप्तीसोनारी–१ अन्तर्गत पर्ने कुसुम क्षेत्रका अन्य गाउँमा पनि बाढी पसेको इलाका प्रहरी कार्यालय कुसुमका इन्चार्ज दोर्णबहादुर खड्काले जनाएका छन् । राप्तीसोनारी–२ अगैयाका स्थानीय वसन्त ओलीले सिक्टा सिचाई आयोजना कार्यालयले ब्यारेजका सबै ढोका एकैसाथ नखोल्दा नदीमा पानीको सतह बढिरहेको बताए ।
‘सिक्टा सिचाई आयोजनाका १८ वटा ढोकामध्ये चार वटा ढोका अझै पूर्णरुपमा बन्द अवस्थामा छन्,’ उनले भने ‘यी ढोका नखोल्दा थप क्षति हुने डर छ ।’ उनका अनुसार आयोजना कार्यालयले शनिबार दिउँसो ३ः३० बजेसम्म ब्यारेजका १४ वटा मात्रै ढोका खोलेको छ । ब्यारेजका ढोका नम्बर १, ५, १७ र १८ बन्द नै रहेको उनले बताए ।
बाढीले अगैयास्थित राप्ती नदीमा रहेको झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको बताउँदै ओलीले अगैयास्थित मसानघाटमा रहेको प्रतीक्षालय पनि बगाउन लागेको जानकारी दिए । ‘राप्तीको बाढीले बगाएर ल्याएको रुख झोलुङ्गे पुलमुनि आएर अड्किएको छ, यसले गर्दा पुल नै बग्ने अवस्थामा पुगेको छ,’ उनले भने ‘मसानघाटमा रहेको प्रतीक्षालय पनि बगाउने अवस्थामा छ ।’
यता सिक्टा सिचाई आयोजनाका निर्देशक देवराज निरौलाले ब्यारेजका सबै ढोका खोलिसकेको जिकिर गरेका छन् । ‘हामीले ब्यारेजका सबै ढोका खोलिसकेका छौं,’ उनले भने । बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो ३ः३० बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर ७० सेन्टिमिटर पुगेको ईप्रका कुसुमका इन्चार्ज खड्काले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके