सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा गोली चल्यो, तीन जना घाइते

बाँके प्रहरीले डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न गोली प्रहार गरेको छ । डडुवा–६ शिखनपुरूवामा फरार प्रतिवादी सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले बताए ।

उनलाई नियन्त्रणमा लिएर प्रहरी पुग्दा स्थानीयवासीले अवरोध पुर्याएपछि तीन राउण्ड गोली चलाइएको प्रहरीको भनाइ छ । गोली लागेर इलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी, स्थानीय ३० वर्षीय नानक सिंह र पक्राउ गरिएका सरदार घाइते भएका थिए ।

३० वर्षीय सिंहको दायाँ खुट्टामा गोली लागेको छ भने फरार रहेका प्रतिवादी सरमान सिंह सरदारको पनि दाहिने घुँडामा एक राउण्ड गोली लागेको छ । घाइते सबैको भेरी अस्पताल बाँकेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले प्रहरीकै हतियार खोसेर आक्रमण गर्न थालेपछि गोली चलाउन परेको प्रहरीले बताएको छ ।

बिहीबार बिहान साढे ८ बजे जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हिरमिनियाको टोलीले सरदारलाई पक्राउ गरेको थियो । त्यसपछि स्थानीयले सरदारलाई प्रहरीबाट खोसेर फिर्ता ल्याएपछि आधा घण्टा लगाएर ९ बजे उनलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो । सरदारलाई बाँके जिल्ला अदालतको २०७० असार १८ गतेको फैसलालाले ६ वर्ष कैद र १२ हजार जरिवाना सजाय सुनाएको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १४:११

लोकप्रिय