सत्ता साझेदार दल नेकपा एमालेले प्रतिपक्षी नेपाली कांग्रेससँग साझेदारीका लागि सहमति गरेपछि नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमै पदाधिकारी बैठक बोलाएका छन् ।
एमालेले आजै आफ्ना मन्त्री फिर्ता बोलाउने र प्रधानमन्त्रीलाई दिएको समर्थन पनि कायम नरहेको घोषणा गर्नेछ । त्यसपछि प्रधानमन्त्री औपचारिक रूपमा अल्पमतमा पर्नेछन् । अल्पमतमा परिसकेपछि प्रचण्डसँग दुई विकल्प हुनेछन् ।
एक – राजीनामा दिने ।
अर्को – विश्वासको मत लिने ।
राजीनामा दिन कुनै साइत कुर्नुपर्दैन । यो कुनै संवैधानिक वा कानुनी बाध्यता पनि होइन । केवल स्वेच्छाले लिने निर्णय हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन मार्गप्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई सोमबारै आग्रह गरिसकेका छन् ।
विश्वासको मत लिन भने प्रधानमन्त्रीलाई ३० दिनको सुविधा संविधानले नै दिएको छ । यत्रो दिनमा आफ्ना पक्षमा वातावरण बनाउन सकिन्छ भन्ने लागेमा प्रधानमन्त्रीका प्रयास त्यसतर्फ पनि केन्द्रित हुन सक्छन् ।
तर कांग्रेस वा एमालेमध्ये एउटा शक्ति उनका पक्षमा नउभिएसम्म त्यो सम्भव छैन । त्यसो त माओवादी नेताहरूले अब संविधानको धारा ७६ उपधारा ३ अनुसार सरकार बन्नुपर्ने तर्क पनि गर्न सक्नेछन् ।
त्यो भनेको संसद्को सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने हो । त्यसो हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन् । देउवा प्रधानमन्त्री हुँदा ओलीलाई जिल्याउन पाउने माओवादीको दाउ पनि हुन सक्छ ।
उपधारा ३ अनुसार देउवा प्रधानमन्त्री भएमा आफूले समर्थन गर्ने सक्ने वचन पनि माओवादीले दिन सक्छ । तर ओली र देउवा भने उपधारा २ अर्थात् गठबन्धनको सरकारकै लागि प्रक्रिया राष्ट्रपतिले अगाडि बढाउने विश्वासमा छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं