सूचनाको शक्ति - The Power Of Information

        

जनताले गर्न थाले विकासको अनुभूति

सङ्खुवासभाका विकट भेगमा कृषि सडक, पक्की पुल र झोलुंगे पुल निर्माण भएसँगै स्थानीयवासीलाई निकै राहत पुगेको छ । हेवा खोलामा पक्की पुल बनेपछि पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका राष्ट्रिय राजमार्गमा जोडिएका छन् भने एक स्थानीय तहदेखि अर्को स्थानीय तह जोड्ने हेवा खोलामा पक्की पुल बनेपछि स्थानीयवासीले विकासको अनुभूति गर्न पाएका छन् ।

कोशी प्रदेश सरकारको लगानीमा चैनपुर नगरपालिका–५ र पाँचखपन नगरपालिका–६ बीच पक्की पुल बनेपछि २० हजारभन्दा बढी बासिन्दालाई यात्रा गर्न सहज भएको हो । हेवा खेलामा पक्की पुलबाट स्थानीय उत्पादन, मोटरसाइकल र अन्य सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । पक्की पुलले ग्रामीण क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको पूर्वाधार विकास कार्यालय सङ्खुवासभाका प्रमुख शैलेन्द्र सिंहले बताए ।

आधुनिक, भौतिक सुविधाहरुको दिगो रुपमा सडक तथा पुलको विकास गरी सहर तथा गाउँ नगरवासीको अन्तरसम्बन्धलाई सुदृढ पारेको प्रमुख सिंहले बताए । ग्रामीण क्षेत्रमा निर्माण भएका पक्की पुलको निर्माण भएसँगै स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज किसानले बजार ल्याउन सहज भएको छ । पक्की पुल बनेपछि गाउँमा उत्पादन भएका कृषिजन्य उत्पादनले अहिले बजार मूल्य पाउन थालेका छन् ।

स्थानीय स्तरमा उत्पादन भएका अन्नबाली, तरकारी र फलफूल बजारसम्म ल्याउन पनि सजिलो छ । सडक सञ्जाल र पक्की पुल नहुँदा स्थानीयवासीले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर सहरसम्म लैजानुपर्ने बाध्यता थियो । हेवा खोलामा पक्की पुल बनेपछि इलाका प्रशासन, मालपोत कार्यालय चैनपुर पुग्न पाँचखपन र सभापोखरीका स्थानीयलाई तीन÷चार घण्टा घुमेर खाँदबारी हुँदै जानुपर्ने बाध्यताको अन्त्य भएको पाँचखपन नगरपालिका नगर प्रमुख विपिन राईले बताए ।

करिब चार करोड आठ लाख ९८ हजार रूपैयाँको लागतमा निर्माण भएको सो पुलको लम्बाई ३० मिटर रहेको छ । निर्माण ठेकेदार कम्पनी अरुण बरुण निर्माण सेवाले तोकिएको समयभन्दा छ महिनापहिले नै पुल निर्माण गरी पूर्वाधार विकास कार्यालय सङ्खुवासभालाई हस्तान्तरण गरेको थियो । तोकिएको समयभन्दा पहिले नै पुल निर्माण गरेबापत कुल लागतको १० प्रतिशत अतिरिक्त रकम निर्माण कम्पनीलाई उपलब्ध गराइएको थियो ।

प्रदेश संरचना कार्यान्वयन आएसँगै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार कार्यालय स्थापना भएको थियो । कार्यालय स्थापना भएसँगै तेह्रथुम र सङ्खुवासभाका विभिन्न स्थानमा पक्की पुल, कालोपत्र, सडक खोल्ने र स्तरोन्नतिको काम भइरहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा सङ्खुवासभा र तेह्रथुममा कार्यालयका ८८ योजना सञ्चालन तथा कार्यान्वयनमा छन् । त्यसमध्ये चार बहुवर्षीय सडक र चार पक्की पुलका आयोजना हुन् ।

पूर्वाधार विकास कार्यालयले हालसम्म तेह्रथुमको सिधुवा शुक्रबारे ओख्रे म्याङलुङ सडक १६ किलोमिटर शेर्मा जलजले भण्डारी सडक १७ किलोमिटर र सङ्खुवासभाको गुफापोखरी चैनपुर सात किलोमिटर गरी ४० किलोमिटर सडक कालोपत्र गरिसकेको जनाएको छ । त्यस्तै, खोरुङ्गा खोला मोटरेबल पुल, भोटीखोला मोटरेबल पुल, हेवाखोला मोटरेबल पुल गरी तीन स्थानमा पक्की पुल साथै विभिन्न स्थानमा ३० किलोमिटर सडक ग्राभेल गरिसकेको छ । झन्डै ५० किलोमिटर सडक मर्मतसम्भार गरेको कार्यालयले जनाएको छ ।

धनकुटाको सिधुवाबाट शुक्रबारे–ओखरे हुँदै म्याङलुङ जोड्ने सडक, शेर्मा–जलजले–भण्डारीडाँडा–इसिशु–सङ्क्रान्ति–आठराई–फेदाप सडक, सङ्खुवासभाको गुफापोखरी–चैनपुर–बाह्रबिसे सडक, सङ्खुवासभाकै मानेभञ्ज्याङ–चन्दनपुर–हेलुवाबेँसी सडक, तेह्रथुमको सङ्क्रान्ति बजारदेखि खाम्लालुङ हुँदै सम्दु–भण्डारीडाँडा सडक, सङ्खुवासभाको तुम्लिङटार एयरपोर्ट–हाइवे पाँचखपन जोड्ने सभाखोला सडक बहुवर्षीय आयोजनाहरु हुन् ।

यीमध्ये केही आयोजनाको भौतिक प्रगति र आर्थिक प्रगति प्रतिशतका आधारमा समयमा नै काम सम्पन्न गर्ने लक्ष्य राखिएको सो कार्यालयले जनाएको छ । जनताका माग र भौगोलिक आवश्यकता बमोजिम सडक, कृषि सडक, सडक पुल, झोलुंगे पुललगायत अन्य सडक निर्माण, मर्मत सुधार तथा स्तरोन्नति सम्बन्धी कार्यहरु गरिरहेको कोशी प्रदेशका स्वास्थ्यमन्त्री तथा सङ्खुवासभाका प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले बताए । आधुनिक, भौतिक सुविधाहरुको दिगो रुपमा सडक तथा पुलको विकास गरी सहर तथा गाउँ नगरवासीको अन्तर सम्बन्धलाई सुदृढ पार्नु पूर्वाधार विकास कार्यालयको मुख्य काम भएको मन्त्री कार्कीले बताए ।

झोलुंगे पुलले दुरी घट्यो

पूर्वाधार विकास कार्यालयले गएको चार वर्षमा २० वटा झोलुंगे पुल निर्माणको काम सकेको छ । पूर्वाधार विकास कार्यालय सङ्खुवासभाले यो वर्ष मात्रै सभापोखरी गाउँपालिकाभित्रका विभिन्न स्थानमा तीनवटा झोलुंगे पुल निर्माण गरेको छ । आव २०७७–०७८ मा चार, आव २०७८–०७९ मा छ, आव २०८९–०८० मा तीन र चालु आवमा सातवटा झोलुंगे पुल निर्माण सकिएको कार्यालयका प्रमुख शैलेन्द्र सिंहले बताए ।

पूर्वाधार विकास कार्यालयले सभाखोलामा ८८ मिटर झोलुंगे पुल निर्माण गरिदिएपछि भने सिंगो गाउँलाई फाइदा पुगेको स्थानीय तिलक सुब्बा मादेनले बताए । पुल नहुँदा माङ्जुवा दोभान सिदेक्पा जाने करिब ६० परिवार वर्षायाममा सभाखोला तर्न नसकेपछि तीन घण्टा घुमेर बाह्रबिसे बजार आउनुपर्ने बाध्यता थियो । माङ्जुवा दोभान सिदेक्पा हुँदै स्थानीयलाई सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे आउन पनि सजिलो भएको उनको भनाइ छ ।

त्यसैगरी, आपुङ्गको माङ्जुवा खोलामाथि पनि प्रदेश सरकारकै लगानीमा एक सय १३ मिटर लामो झोलुंगे पुल निर्माण भएको छ । त्यसले सभापोखरी–५ र ६ नं वडा जोड्न सजिलो भएको छ । स्थानीयका अनुसार हिउँदका केही महिना दुःखकष्टका साथ खोला वारपार गरे पनि वर्षा सुरु भएपछि सो खोला तर्न सक्ने अवस्था हुँदैन ।

सदरमुकाम खाँदबारी पुग्न सभापोखरी–५ र ६ का स्थानीयलाई वर्षको आठ महिनासम्म दैनिक दुई घण्टा घुमेर धुपू हुँदै जानुपर्ने बाध्यता रहेको छ । उक्त स्थानमा झोलुंगे पुल बनेपछि राहत महसुस भएको छ । झोलुंगे पुलले एक गाउँबाट अर्को गाउँ जाने दुरी भने छोट्याएको छ । त्यसबाट करेसाबारीमा फलेका कृषिउपज पनि एक ठाउँबाट अर्को ठाउँमा लगेर बेच्न सजिलो भएको स्थानीयवासी बताउँछन् । पुल निर्माणपछि सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धालाई सजिलो भएको छ ।

पक्की पुल बनाउन नसकिने जिल्लाका दुर्गम ठाउँमा बनेका झोलुंगे पुलले गाउँवासीलाई प्रत्यक्ष रुपमा फाइदा पुगेको सभापोखरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंले बताए । झोलुंगे पुलले निर्माण भएसँगै स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजसमेत किसानले बजार ल्याउन थालेको उपाध्यक्ष चापागाईंले बताए । पुल सञ्चालनमा आएपछि पूर्वाधार कार्यालयले उपभोक्ता समिति र स्थानीय बासिन्दालाई मर्मत तथा प्रयोगसम्बन्धी तालिम दिने गरेको पूर्वाधार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ०७:३०

लोकप्रिय