नेकपा एमालेका मन्त्रीहरु यतिबेला ‘हाइ अलर्ट’मा रहेका छन् । पछिल्लो राजनीतिक उतारचढावबीच एमालेका मन्त्रीहरुलाई ‘हाइ अलर्ट’मा राखिएको बालकोट उच्च स्रोतले बताएको छ । एमालेका एक मन्त्रीले पनि त्यसलाई पुष्टि गरेका छन् । उनले यसलाई सिधै भन्न नचाहे पनि आफूहरु जतिबेला पनि ‘हाइ अलर्ट’मै रहेको बताए ।
उनीहरुलाई कुनै पनि राजीनामा दिनुपर्ने अवस्था आउने भन्दै ‘हाइ अलर्ट’मा रहन भनिएको हो । पछिल्लो समय प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनभन्दा बाहिर गएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा रहेपछि देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गम्भीर छलफल भएको थियो ।
उक्त छलफलपछि एकाएक तरंगित भएको राजनीतिले अर्कै मोड लिने संकेत दिइरहेको छ । यद्यपि शनिबारको देउवा र ओलीको भेटपछि केही अताल्लिएका प्रचण्डले ओलीसँग दुई पटक छलफल गरिसकेका छन् । ओली र देउवाको छलफलपछि देउवाले कांग्रेसको पदाधिकारी बैठकसमेत बोलाएका छन् । यसले थप तरङ्ग पैदा गरेको छ ।
प्रचण्डले आफूसँग जादूमयी सांसदहरुको संख्या रहेको उल्लेख गर्दै आफू बिना सरकार गठन नै नहुने तर्क गर्दै ओली र देउवासँग समानान्तर शैलीमा हिँड्न खोजेसँगै दुई ठूला पार्टीका प्रमुखबीच एकाएक गम्भीर वार्ता भएको हो । २०७९ को पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले दुई पटक काँध फेरिसकेका छन् भने अर्को काँध फेराइको संकेत र उतारचढावको चर्चासँगै सत्ता गठबन्धन तरंगित भइरहेको छ ।
पहिले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग लागेका प्रचण्ड अचानक कांग्रेससँगै टाँसिन आइपुगेका थिए । त्यसपछि गत फागुनमा फेरि एमालेलाई झुक्याएभन्दा पनि अप्रत्याशित तरिकाले कांग्रेसलाई झुक्याएर प्रचण्ड फेरि एमालेतिरै लागे । अहिले अचानक समीकरण बदलिँदै जान लागेको बुझ्न सकिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं