सूचनाको शक्ति - The Power Of Information

        

तीन वर्ष बितिसक्दा पनि कमला पुलको निर्माण अलपत्र

धनुषा र सिराहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए ।

उपप्रधानमन्त्रीसमेत रहेका महासेठले दिएको म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म पुल निर्माणको प्रगति भने शून्य छ । ‘करिब १३ वर्षदेखि निर्माणाधीन यो पुलको पुनर्निर्माण समयमै हुनुप¥यो । नभए निर्माण कम्पनीलाई कारबाही गरी नयाँ प्रक्रिया अगाडि बढाउनुस्,’ पुलको निरीक्षण गर्दै उपप्रधानमन्त्री महासेठले भनेका थिए ।

वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए । मधेश प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । ०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो ।

सम्झौता भएको सात वर्षसम्म पनि पुल निर्माण नभएपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले उक्त निर्माण कम्पनीसँग ठेक्का तोडेर निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । बिल्डर्सको कमान्डमा निर्माण अन्तिम चरणमा पुगिसकेकाले ०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा पुल भासिएको निर्देशक महतोले बताए ।

उनका अनुसार १३ पाया (पिलर) र १२ स्पान (स्ल्याब) रहेको पुलको सिराहातर्फको दोस्रो र धनुषातर्फको चौथो पाया भासिएको थियो । पुल भासिएपछि निर्माण कम्पनी र बिमा कम्पनीबीचको विवादले हालसम्म काम रोकिएको निर्देशक महतोको भनाइ छ । सरकारी निकायको कुनै पनि ठेक्का गर्दा रु. १० लाखभन्दा बढीको आयोजनामा बिमा गराउनुपर्ने प्रावधान छ ।

सोही प्रावधानअनुसार पुल निर्माण कम्पनीले बिमा गराएको थियो । ‘पुल भासिएपछि बिमा कम्पनीले क्षतिपूर्ति नदिएपछि सोही विवादका कारण काम रोकिएको छ,’ उनले भने । निर्माण कम्पनीका प्रबन्ध–निर्देशक विष्णु शर्माले यो वर्ष पुल निर्माण सम्पन्न गर्न सम्भव नरहेको बताए । पुल पुनर्निर्माण गर्न हालसम्म डिजाइन पास नभएकाले निर्माण सम्भव नरहेको उनको भनाइ छ ।

‘पेस गरिएको डिजाइनमध्ये एउटा धनुषातर्फको पास भएको छ । केही दिनअघि मात्रै कम्पनीका तर्फबाट तयार गरिएको डिजाइन मन्त्रालयमा बुझाएका छौँ । सिराहातर्फको डिजाइन पास भएको छैन । अनि कसरी यो वर्ष काम हुन्छ ?’ प्रबन्ध निर्देशक शर्माले प्रश्न गरे । वर्षामा नदीमा बाढी आउन सक्ने भएकाले आगामी असोज–कात्तिकबाट निर्माण अगाडि बढाइने उनको भनाइ छ ।

यही असार मसान्तसम्म निर्माणको म्याद रहेको भन्दै प्रबन्ध–निर्देशक शर्माले म्याद थप गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए । उनले बिमा कम्पनीसँग उच्च अदालत काठमाडौंमा मुद्दा चलिरहेकाले निर्माणमा ढिलाइ भएको तर्क गरे । प्रबन्ध–निर्देशक शर्माका अनुसार पुल भासिएपछि बिमा कम्पनीसँग रु. १२ करोड क्षतिपूर्तिको माग गरिएको थियो ।

‘बिमा कम्पनीले रु. दुई करोड मात्रै दिने भनेपछि, कम्पनीविरुद्ध उजुरी दिएका छौँ,’ उनले भने, ‘उजुरीका आधारमा समस्या समाधान नभएपछि उच्च अदालत गएका हौँ । उच्च अदालतमा गत जेठ तेस्रो साता मुद्दा दर्ता गराएका छौँ ।’ अहिले पुलमा सामान्य निर्माण भने भइरहेको उनले बताए ।

कमला नदीमा पुल नबन्दा धनुषा र सिराहाका नागरिकको जनजीवन प्रभावित हुँदै आएको सिराहा नगरपालिका– १७ का प्रवीण यादवले बताए । ‘पुलका कारण बर्खाको समयमा आफ्नै खेतबारीमा पुग्न पनि गाह्रो हुन्छ । आवागमनमा सास्ती हुनुका साथै यस क्षेत्रको आर्थिकस्तर, व्यापार–व्यवसायमा कमी हुँदै आएको छ,’ उनले भने ।

यहाँका सर्वसाधारणलाई प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न निकै सास्ती भोग्नु परिरहेको छ । बाढीले आवतजावत प्रभावित भएपछि सिराहाका नागरिक गम्भीर प्रकृतिको उपचार गराउन जनकपुरधाम वा कोशी प्रदेशको राजधानी विराटनगर पुग्न समस्या हुने गरेको यादवको भनाइ छ । सिराहाबाट जनकपुरधाम पुग्न हुलाकी राजमार्गबाट ३० किलोमिटर पर्दछ भने महेन्द्र राजमार्ग भएर जाँदा ९० किलोमिटर पर्दछ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार ०९:२५

लोकप्रिय