सूचनाको शक्ति - The Power Of Information

        

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

म्याग्दीको बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो ।

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिए ।

‘आर्थिक वर्ष २०६४–०६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग पनि हो,’ उनले भने ।

उनका अनुसार आगामी आर्थिक वर्षका लागि प्रदेश समपूरक बजेटमार्फत यो सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिन प्रस्ताव गरिएको छ । चालु आवमा गण्डकी प्रदेश सरकारले रु ५० लाख र बेनी नगरपालिकाले रु ३० लाख विनियोजन गरेको रकमबाट महारानीथान–छापा–डाँडाखेत सडक स्तरोन्नति भएको हो ।

यो सडकको ४०० मिटर नाली निर्माण ४५२ मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, १३० मिटर ढलान भएको बेनी नगरपालिकाका इन्जिनियर दिपेश केसीले जानकारी दिए । बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिने नगरप्रमुख सुरत केसीले बताए ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार ११:०४

लोकप्रिय