सूचनाको शक्ति - The Power Of Information

        

भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना

भेरी-बबईमा चिनियाँ कम्पनीको तमासा, पाँच वर्षमा ६५ प्रतिशत काम

निर्माणमा देखिएको ढिलासुस्तीले आयोजनाको समय र लागत बढ्ने देखिएको छ ।

e]/L aaO{sf] ;'?ªåf/ ;q dlxnfcl3 aaO{ lsgf/ xfQLvfnaf6 z'? ul/Psf] l6laPd !@ lsdL @!) ld6/ kxf8 l5rf]Nb} e]/L lsgf/ cfOk'u]sf] ;'v]{tsf] e]/L aaO{ 8fOe;{g cfof]hgfsf] ;'?ªåf/ e]/Lu+uf gu/kflnsfsf] lrKn]l:yt …6g]n PlSh6 Kn]6kmd{Ú . t:aL/ M k|sfz clwsf/L, /f;;, ;'v]{t

भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना अन्तर्गत सिभिल संरचना निर्माणमा चिनियाँ ठेकेदार कम्पनीले चरम ढिलासुस्ती गरेको छ । सिभिल संरचना अन्तर्गत (हेडवर्क्स, पावरहाउस, पेनस्टक र सर्ज साफ्ट) निर्माणको मूख्य जिम्मेवारी पाएको गुआंग्डोंग युएंटियन इन्जिनियरिङ कम्पनी लिमिटेडले ढिलासुस्ती गरेको हो ।

चिनियाँ कम्पनी र रमन कन्ट्रक्सनको संयुक्त उपक्रम (जेभी)मार्फत काम गराउन २०७६ साउन १३ मा ठेक्का सम्झौता गरिएको थियो । चार वर्षभित्र सम्पन्न गर्ने सिभिल संरचनातर्फको निर्माण गर्न ६ अर्ब १६ करोडको ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अवधिअनुसार चिनियाँ निर्माण कम्पनीले २०८० साउन १३ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

तर, ठेक्का सम्झौता अवधि सकिएको झन्डै एक वर्ष बित्दा पनि ठेकेदार कम्पनीले सिभिल संरचनाको काम पूरा गर्न सकेको छैन । आयोजनाका अनुसार हालसम्म ६५ प्रतिशत प्रगति मात्र निर्माण सकिएको हो । विभिन्न वहाना बनाएर चिनियाँ ठेकेदारले सम्झौता सर्तबमोजिम काम नगरेको हो ।

कम्पनीले भेरी नदीमा दुई ढोका सहितको करिब १२० मिटर लामो हेडवर्क्स, पेनस्टक पाइप र विद्युतगृह निर्माण जिम्मेवारी पाएको थियो । सम्झौता सर्तको अवधि घर्किंदै गए पनि ठेकेदार कम्पनीले निर्माण पूरा गर्न कति समय लगाउने हो, त्यो यकिन छैन । सिभिलतर्फ गर्नुपर्ने ३५ प्रतिशत संरचनागत काम अझै बाँकी छ ।

विगतमा जस्तै सुस्त निर्माण गति हुने हो भने सिभिल संरचनाको काम सकिन अढाइ वर्षमा पनि नसकिने निश्चितजस्तै रहेको आयोजनाका अधिकारीहरू बताउँछन् । निर्माणमा देखिएको ढिलासुस्तीले आयोजनाको समय र लागत बढ्ने देखिएको छ । सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फ परामर्शदाता इरानी महाब घोड्स कन्सल्टिङ इन्जिनियरिङ कम्पनीले डिजाइन, सुपरभिजन र ठेक्का व्यवस्थापनको काम गर्दै आएको छ ।

विगतमा कोरोना महामारी, स्थानीयको अवरोध लगायतका कारणले आयोजना निर्माणमा ढिलाई भएको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०७९–०८० भित्र आयोजनाका सम्पूर्ण काम सक्नुपर्ने लक्ष्य लिए पनि सिमित स्रोत, साधनको कमी र निर्माण व्यवसायीको कमजोर व्यवस्थापनका कारण आयोजना निर्माणमा ढिलाइ हुँदै गएको आयोजनाको व्यवस्थापकको तर्क छ ।

कोभिडका कारणले सिभिल संरचना अन्तर्गत एक वर्ष म्याद थप गरेको आयोजनाले जनाएको छ । थपिएको म्याद २०८१ भदौमा सकिँदैछ । सम्झौता गर्ने बेलाको तुलनामा कामको ‘भोल्युम’ बढेकाले एक वर्ष म्याद थप गरिएको आयोजनाका सूचना अधिकारी पवन अधिकारी बताउँछन् । ‘अन्तरराष्ट्रिय परामर्शदाताले सुझाएअनुसार कामको भोल्युम पनि बढेको छ,’ उनले भने, ‘त्यसबाहेक कोरोना महामारी, स्थानीयको अवरोध लगायतका कारणले पनि निर्माणमा असर गर्यो ।’

उनका अनुसार कामको चाप थपिएको र डिजाइन पनि परिवर्तन भएकाले पुनः म्याद थप गर्ने आयोजनाको तयारी छ । भेरी बबई आयोजनाको सिभिल संरचनामा भइरहेको ढिलाइबारे महालेखापरीक्षकको कार्यालयले समेत प्रश्न उठाएको छ । आयोजना र एक निर्माण व्यवसायीबीच ६ अर्ब १६ करोड रुपैयाँको ठेक्का सम्झौता सर्तभित्र सम्पन्न हुन नसकेको महालेखाको निष्कर्ष छ ।

महालेखाले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १११ मा सम्झौता शर्तबमोजिम कार्य सम्पन्न गर्नुपर्ने औंल्याएको छ । ‘आयोजनाले भेरी नदीमा २ ढोकासहिको करिव १२० मिटर लामो हेडवर्क्स, पेनस्टक पाइप र विद्युतगृह निर्माणका लागि आयोजना र एक निर्माण व्यवसायीबीच ६ अर्ब १६ करोड ५२ लाख १५ हजारमा ४८ महिनाभित्र सम्पन्न गर्ने गरी जुलाइ २९, २०१९ मा सम्झौता भएको छ,’ महालेखाले भनेको छ ।

महालेखाले सम्झौताअनुसार २०८०–०४–२९ सम्म कार्य सम्पन्न गर्नुपर्नेमा यो वर्षसम्म भौतिक र वित्तीय प्रगति क्रमशः ४२ र ३९.९५ प्रतिशत (२०८० असारमसान्तसम्म) रहेको जनाएको छ । ‘ठेक्काको अवधि समाप्त हुँदासम्म न्यून प्रगति भएकाले सम्झौताको शर्तबमोजिम कारबाही गरि निर्माण कार्य सम्पन्न गर्नुपर्दछ’, महालेखा परीक्षकको ६१ औं प्रतिवेदनमा लेखिएको छ ।

भेरी बबई डाइभर्सनतर्फ ३३ अर्ब १९ करोड र भेरी करिडोर विकास आयोजना अन्र्तगत तीन अर्ब ६१ करोड गरी कुल लागत ३६ अर्ब ८० करोड रुपैयाँ संशोधित लागत अनुमान गरिएको छ । जसमध्ये करिब १६ अर्ब लागतमा २०७६ बैशाख ३ मा १२.२ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ । नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन(टीबीएम) प्रविधिको प्रयोग गरी टनेल खन्ने काम डेढ वर्षमा सकिएको थियो ।

चाइना ओभसिज इन्जिनियरिङ ग्रुपले टनेल निर्माण गर्न २०७१ माघ १५ मा सम्झौता भएको थियो । टनेल निर्माणको काम ढिलाइ हुन थालेपछि टीबीएम प्रविधि प्रयोगमा ल्याइएको थियो । आयोजनाबाट ४६.८ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । भेरीगंगा नगरपालिकाको हात्तीखालस्थित बबइ नदीको किनारमा विद्युतगृह निर्माण भइरहेको छ ।

विद्युत उत्पादनसँगै आयोजनाबाट बाँके र बर्दिया लगायतका जिल्लामा ५१ हेक्टर कृषियोग्य जमिन बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७१–०७२ देखि सुरु भएको थियो । सिँचाइ विभागबाट पहिलो बहुउद्धेश्यीय आयोजनाका रूपमा भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाका रूपमा २०६८ भदौ ७ मा सुर्खेतको वीरेन्द्रनगरमा कार्यालय स्थापना गरिएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार ११:४६

लोकप्रिय