मुलुककै तेस्रो ठूलो नाकाका रुपमा रहेको नेपालगन्जको जमुनाहा नाकाबाट दैनिक ठूलो परिमाणमा सामान आयात हुने गर्दछ । यस नाकाबाट सवारी साधन, मोटरसाइकल र निर्माण सामग्री लगायतको आयात हुने गर्दछ । तर यो नाकामा अन्य नाकाको तुलनामा तस्करी पनि उत्तिकै हुने गरेको छ ।
कुनै बेला वार्षिक करिब चार करोड बढी राजस्व चोरी निकासीका सामान जफत गरेर राजस्व असुल गर्ने कार्यालय पनि यही हो । विगतका वर्षरूको तुलनामा चोरी निकासीमा नियन्त्रण भएको कार्यालयको दावी रहे पनि त्यो भने सहर्ष स्वीकार गर्न सकिँदैन । अहिले पनि यो नाकामा तस्करी उस्तै छ । सरकारी कर्मचारीदेखि सुरक्षाकर्मीसम्मले तस्करी सामान ओसार्न सहयोग पुर्याउने गरेको सर्वसाधारणहरूको दावी छ ।
नेपालगन्जको भन्सार कार्यालय परिसरमै तस्करी नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीले तस्करी सामान ओर्सार्न सहयोग पुर्याउँदै आएका छन् । सुरक्षाकर्मीले तस्करी सामान बोक्ने रिक्सा र साइकललाई सुरक्षित स्थानमा जान सघाउ पुर्याउने गरेका छन् । तस्करले भारतका विभिन्न सहरबाट ट्रकमा लोड भएको सामान सीमावर्ती भारतीय बजार रुपैडिहामा झार्ने गर्छन् ।
त्यहाँबाट रिक्सा तथा साइकलमा विनाभन्सार नेपालसम्म पुर्याउने गरिएको छ । भन्सार कर्मचारीका अनुसार, मोटरपार्टस्, मोबाइल लगायत लाखौं रुपैयाँको सामान तस्करी हुने गरेको हो । तस्करले मजदुर लगाएर दसगजा नजिकैको जमुनाह सडकदेखि पूर्वतर्फबाट प्रत्येक दिन सामान लैजाने र राति ९ बजेपछि मुख्य भन्सार कार्यालय नजिकै बाटो भएर नेपालगन्ज भित्र्याउने गरेका छन् ।
सामान तस्करीमा सशस्त्र र जनपद प्रहरीको सहयोगकै कारण विनाअवरोध दैनिक रुपमा भित्रिँदै आएको व्यापारीको भनाइ छ । मोटरपार्टस्, मोबाइल लगायत सामान तस्करी हुन थालेपछि नेपालगन्ज भन्सार कार्यालयमा भन्सार मूल्यांकनमा समेत समस्या भएको छ । कार्यालयको तथ्यांकअनुसार अहिले मोटरपार्टस्को भन्सार निकै न्यून रहेको छ । मोबाइलको हालसम्म भन्सारमा मूल्यांकन गरिएको देखिंदैन ।
भन्सार कर्मचारीले रोक्ने प्रयास गर्दा तस्करले उल्टै धम्काउने गरेको गुनासो गर्छन् । ‘के गर्न सक्छस् गर । हामीले यहाँका प्रहरी प्रमुखदेखि डिआइजीसम्म लाइन मिलाएका छौं भन्दै तस्करले धम्क्याउँछन्,’ डिउटीमा खटिएका भन्सार कर्मचारी भन्छन् । नेपालगन्ज भन्सार कार्यालयका एक कर्मचारी नाम नभन्ने र्सतमा भन्छन्, ‘प्रमूख जिल्ला अधिकारी र प्रहरी प्रमुखले तस्करी रोक्छौं भन्नुहुन्छ, तर अहिलेसम्म केही गरेको देखिएन । रोक्न खोजे धम्की दिन्छन् ।’
भन्सार कर्मचारीले भने प्रहरीकै मिलेमतोमा तस्करी भएपछि रोक्न नसकिएको बताएका छन् । तस्करले सीमाका प्रहरी जवानदेखि जिल्लाका प्रमुखसम्मलाई ‘लाइन’ दिने भएकाले सहजै दैनिक लाखौं रुपैयाँको तस्करी भइरहेको कर्मचारीहरुको दाबी छ । भन्सारका एक कर्मचारीका अनुसार प्रहरी प्रमुखसँग बसेर त्यसबारे पटक–पटक छलफल हुने भए पनि रुपैडिहामा प्रहरी चौकीसँगै भन्सार कार्यालय, राजस्व गस्ती, भन्सार कर्मचारी लगायतकै अगाडिबाट खुलेआम दैनिक लाखौंको तस्करी हुने गरेको छ ।
भारतबाट भन्सार छलेर चिनी भित्र्याउने क्रम बढेको छ । मूल्य वृद्धिसँगै अवैधरुपमा कराडौको चिनी नेपाल भित्र्याएर लाखाँैको राजस्व चुहावट गरी पैसा कमाउने खेलमा केही स्थानीय व्यापारी योजनाबद्धरुपमा लागेका छन् । नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लामा समेत ठूलो मात्रामा चिनी बिक्री वितरण हुँदा चिनीको माग अत्याधिक बढ्दै गएकाले यहाँका व्यवसायीले भारतबाट ठूलो मात्रामा अवैधरुपमा चिनी ल्याउने गर्छन् ।
चिनीको मूल्यसँगै माग पनि बढ्दै जाँदा नेपालगन्ज नाकापारिको सीमावर्ती भारतीय बजार रुपैडिहाबाट भन्सार छलेर सयौं ट्रक चिनी नेपाल भित्रिरहेको नेपालगन्जका एक चिनी व्यवसायी बताउँछन् । सीमामा खटिएका सुरक्षाकर्मी, भन्सारका कर्मचारीसमेतलाई मिलाएर नेपालगन्जका करिब एकदर्जन भन्दाबढी ठूला र करिब डेढ दर्जन साना व्यवसायीले दैनिक लाखौंलाखको चिनी राजस्व छलेर अवैधरूपमा भित्र्याइरहेको आरोप छ ।
नेपालको तुलनामा भारतमा चिनी प्रतिकिलो ३० रुपैयाँसम्म सस्तो पर्छ । व्यापारीका अनुसार चिनीको आयातमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेकाले सो तिरेर ल्याउदा नाफा अति नै कम हुने हुँदा भन्सार छलेर ल्याउनुपर्ने बाध्यता छ । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट दैनिक खुलारुपमा साइकलमा चिनीका बोरा राखेर जयसपुर, साइगाउँ र पिप्र्रहवाका नाकाबाट चिनी नेपाल भित्रिँदै आएको छ ।
स्थानीय धम्बोझी, घोसीटोल, सुर्खेतरोड, एकलैनी र त्रिभुवन चोकमा रहेका व्यवसायीले दैनिक सयौं बोरा चिनी खुलारुपमा भारतबाट मगाएर गोदाममा राखेर बिक्रीवितरण गरे पनि सम्बन्धित निकायले चिनीको कागजपत्र माग्ने र सामान्य सोधपुछसमेत गर्ने नगरेको व्यवसायीहरू बताउँछन् । सीमापारिबाट दैनिक करिब १० ट्रकभन्दा बढी चिनी अवैधरुपमा नेपाल भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ ।
तस्करले चोरीका गाडीलाई भन्सारबाटै वैधानिकता दिलाउने गरेको खुलासा भएको छ । तस्कर आफैले भारतबाट ल्याइएका गाडी भन्सारमा बुझाएर त्यसबापत आउने कमिसन र लिलामपछि आफैले सकारेर दोहोरो लाभ लिने गरेका हुन् । पछिल्लो समयमा मात्र त्यसप्रकारका झन्डै एकदर्जन गाडी नेपालगन्ज भन्सार कार्यालयमा पुगेपछि त्यसको खुलासा भएको हो ।
भारतबाट चोरी गरी ल्याइएका नयाँ गाडीलाई पार्टपुर्जा सम्पूर्ण निकालेपछि बेवारिसे देखाएर भन्सारलाई बुझाइने गरिन्छ । त्यसको केही समयमै अत्यन्तै न्यून मूल्यांकनमा लिलामी हुने सोही गाडी तस्कर गिरोहकै सदस्यबाट सकारेपछि लाखौं मूल्यका गाडी भन्सारबाट कौडीको भाउमा वैधानिकता दिलाइने गरेको हो । पछिल्लो केही समययता मात्र नेपालगन्ज भन्सार कार्यालयमा दर्जन अत्याधुनिक सुविधासमेतका गाडी पुगेका छन् ।
तीमध्ये केही गाडी भन्सार तथा राजस्व सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बल आफैले र बाँकी ‘सुराकी’का आधारमा भन्सार पुगेका हुन् । सुराकीका आधारमा भन्सार पुर्याइएका गाडी लिलाममा बिक्री भएपछि कबोल अंकको २० प्रतिशत सूचना दिनेलाई दिइने वैधानिक व्यवस्था छ । ‘संरचनात्मक अवस्था’मा भन्सार पुर्याइने गरेका गाडीहरू अधिकांश नयाँ हुन् । तर त्यसमा कुनै पार्टपुर्जा छैनन्, केवल फेर्न नमिल्ने इन्जिन र चेसिस मात्रको अस्थिपञ्जर पुर्याइने भन्सारमा एक चौथाइ मूल्यांकन गरी लिलामी सूचीमा राखिने गरिएको छ ।
‘जसले ल्याउँछ, उसैले लिलाम बोल्छ,’ भन्सार सम्बद्ध एक जानकारले भने, ‘न्यून मूल्यमा पाएपछि उसले झकिेका उही गाडीका पार्टर्पुजा लगाएर महंगो मूल्यमा वैधानिक गाडी बजार पठाउँछ ।’ यसबारे भन्सार प्रशासन अनभिज्ञ छैन । भन्सार सुरक्षा र राजस्व चुहावट रोक्न परिचालित सशस्त्र प्रहरी बलका अधिकारीहरू पनि तस्करीको यो तरिकाबारे जानकार छन् । सशस्त्र प्रहरीबल, सीमासुरक्षा गणका एक प्रहरी अधिकृतले भने, ’हामी लाचार छौं ।’
उनले चोरीतस्करीको अनुसन्धानभन्दा राजस्व वृद्धि र चुहावट रोक्न आफूहरू केन्द्रीत हुनुपरेकाले त्यसबारे गहिरिएर लाग्न नसकिएको बताए । चोरीका गाडीलाई वैधानिकता दिने नयाँ विधिमा भन्सार प्रशासन र तस्करको मिलोमतो देखिन्छ । कतिपय गाडी ग्यारेजबाटै भन्सार पुर्याइए पनि अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । गाडी बुझाउन ल्याउने नै बोलकबोल गरी लैजाने गरेको सम्बद्धहरू स्वीकार्छन् ।
त्यसमध्ये कतिपय गाडी माओवादी कार्यकर्ताले समेत बेवारिसेका नाममा भन्सारमा बुझाएर लिलामी सकार्ने असफल प्रयास गरेका छन् । त्यही अवस्था मोटरसाइकलको पनि छ । लिलाम गरिने मोटरसाइकलको आधा लाखमा बोल लगाइने मोटरसाइकल पनि अस्थिपञ्जर मात्र हुनाले गिरोहबाहेकले लिएमा राम्रै नोक्सानी बेहोर्न बाध्य हुनेछन् ।
दिनदिनै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा अनुसन्धान गस्ती गरी कारबाही गरे पनि सीमा क्षेत्रमा तस्करीको क्रम भने रोकिएको छैन । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बाँकेले भन्सार छलेर नेपाल भित्रयाएको ठूलो परिमाणमा मालसमान दिनहुँजसो बरामद गर्ने गरेको छ । तर ओसार–पोसारमा संलग्न व्यक्तिहरू भने पक्राउ हुन सकेका छैनन् । बाँकेको जैसपुर गाविसको चौलिका, पिप्र्रहवा, थुकैला र बालेगाउँबाट दिनहुँजसो अवैध मालसामान बरामद हुने गर्दछ ।
बरामद हुने मालसमानमा अधिकांश लत्ताकपडा, चिनी, गाडीका पार्टपुर्जा, भाडावर्तन जाडोमा लगाउने टाउजर, स्वीटर, पछ्यौरा लगायतका रहेका छन् । सशस्त्र प्रहरीले अवैधरुपमा भारतदेखि भन्सार छलेर भित्र्याइएको मालसमानलाई कानुनी प्रक्रिया अनुसार थप कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्जमा बुझाउने गर्दछ । यसरी पटक–पटक प्रहरीले ठूलो मात्रामा चोरीका सामानहरू बरामद गरेको भए पनि चोरी गर्ने क्रम भने कहिल्यै रोकिएन ।
नेपालगन्ज र आसपास क्षेत्रबाट फागुनयता सशस्त्र प्रहरीले हरेक महिनाजसो चोरीका गाडी समातिरहेको छ । राजनीतिक दलका कार्यकर्ता चढेको अवस्थामा पनि केही यस्ता गाडी समातिएका छन् । सुरक्षाकर्मीले समेत चोरीका गाडी प्रयोग गर्ने गरेको पाइन्छ । दलका नेता र सुरक्षाकर्मीले प्रयोग गरेका गाडी पनि समाते पनि कतैबाट आउने निर्देशनपछि त्यसै छाडिन्छ ।
सशस्त्रका एक अधिकृतका अनुसार नेपालगन्ज र आसपासका क्षेत्रमा करिब पाँच सयबढि साना–ठूला चोरीका सवारी साधन चोरीका छन् । भारतबाट चोरेर ल्याइएका गाडी पहाडी भेगमा धेरै रहेको ती अधिकारीले जनाएका छन् । राजनीतिक दलका नेता र सुरक्षाकर्मीले खुलआम प्रयोग गर्न थालेपछि पछिल्लो समयमा ठूलो संख्यामा चोरीका गाडी भित्रिएका जानकारहरू बताउँछन् ।
दलका नेता र सुरक्षाकर्मीले चोरीका सवारी साधन चढेपछि सर्वसाधारणमा पनि त्यही सिको गर्ने प्रवृत्ति बढेको नेपालगन्ज भन्सार कार्यालयका एक कर्मचारीले बताए । ‘भन्सार नाकामा कडाइ नगरिँदा चोरीका गाडी जथाभावी भित्रिएका छन्,’ भन्सारका एक कर्मचारीले भने– ’अव्यस्थित सिमानाको फाइदा उठाउँदै सवारी साधन तस्करी गर्ने व्यक्तिलाई राजनीतिक संरक्षण हुँदा भारतबाट चोरीका गाडी भित्रिने क्रम बढेको छ ।’
सवारी साधन जाँचको जिम्मा पाएको ट्राफिक प्रहरीले भने अहिलेसम्म त्यस्ता चोरीका साधन कमै भेटाउने गरेको छ । धमाधम चोरीका गाडी समातिँदै गए पनि भारतबाट यस्ता गाडी भित्रिने क्रम नरोकिएको भन्सारका कर्मचारी बताउँछन् । कर्मचारीका अनुसार घुम्ने उद्देश्यले गाडीसहित नेपाल आएका व्यक्तिले तस्करीलाई सघाइरहेका छन् । नेपाली नम्बर प्लेटका गाडी सीमादेखि बढीमा एक किलोमिटरभित्र भारतीय भूमिमा जान पाउँछन् ।
तर, भारतीय नम्बर प्लटेका गाडी आफुखुसी नेपालका जुनसुकै ठाउँमा आवतजावत गरिरहेकाले ’गाडी तस्करी’ मौलाइरहेको स्थानीयको भनाई छ । ‘नेपालगन्ज नाकाबाट प्रवेश गरेका भारतीय नम्बर प्लेटका गाडी जुनसुकै नाकाबाट र्फकन सक्छन्,’ भन्सार कार्यालयका एक कर्मचारीले भने, ‘नेपाल सरकारले दिने सुविधाअनुसार भन्सारका कर्मचारीले भारतीय नम्बर प्लेटका गाडीलाई प्रवेश अनुमति दिन्छन् । पछि ती गाडी फर्के नफर्केको कसैले जानकारी लिँदैन ।’
६०० रुपैयाँ शुल्क तिरेपछि भारतीय नम्बर प्लेटका गाडी एकदिन नेपाल राख्न मिल्छ । सोही दिन फर्कने गरी नेपाल पसेका गाडीलाई भने शुल्क लाग्दैन । भन्सारबाट सिधै छिरेका अधिकांश गाडी तस्करी हुने गरेको त्यहाँका कर्मचारीको आशंका छ । दिनमा कति भारतीय नम्बर प्लटेका सवारी साधन नेपाल पस्छन् र कति बाहिरिन्छन् भन्ने भन्सारका कर्मचारी बताउँन सक्दैनन् । नेपालमा एकदिनभन्दा बढी बस्ने सवारी साधनको मात्र भन्सारमा रेकर्ड राख्ने गरिएको छ ।
चोरीका सवारी साधन जथाभावी भित्रिएका कारण भन्सारले ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ । भारतमा दुई लाख भारतीय रुपैयाँमा किनेको गाडी नियमपूर्वक नेपालमा ल्याउँदा सात लाख २९ हजार रुपैयाँ राजस्व तिर्नुपर्छ । चोर बाटोबाट नेपाल भित्रिने सवारी साधनका कारण राजस्वमा धेरै घाटा भइरहेको भन्सार कार्यालयले जनाएको छ ।
माओवादी सशस्त्र द्वन्द्वका बेला विस्थापित भएका ग्रामीण भेकका सात छोटी भन्सार अझै पुनःस्थापना नगरिएपछि भारतसँग सिमाना जोडिएको बाँकेमा भन्सार नतिरी चोरीका सामान भित्र्याउने क्रममा वृद्धि हुँदै गएको छ । ग्रामीण क्षेत्रहरूमा भन्सार चौकी नहुने भएकोले निर्वाधरुपमा अवैध सामान निकासी गर्न सजिलो भएकोले अहिले अवैध सामान निकासी गर्न तस्करहरूको ध्यान ग्रामीण क्षेत्रको नाकातिर गएको छ ।
भन्सार पुनःस्थापना हुन नसक्दा चोरीका सामान भित्र्याउने क्रममा वृद्धि सँगसगै राजस्व असुलीमा समस्या पर्ने गरेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगन्ज–रुपैडिहा खण्डमा चोरीका सामान रोक्न सशस्त्र र जनपद प्रहरी परिचालन गरिए पनि छोटी भन्सारमा सुरक्षाकर्मी र कर्मचारीसमेत नराख्दा लाखौँ राजस्वको घाटा भइरहेको छ । मूल नाकाबाट भन्सार छलेर सामान ल्याउनेलाई सशस्त्र प्रहरीले पक्राउ गर्ने क्रम बढाए पनि छोटी भन्सारमा नियन्त्रण गर्ने निकाय छैन ।
द्वन्द्वकालमा क्षति भएका पूर्वाधार निर्माण हुन नसकेका कारण कर्मचारी फिल्डमा बस्न नसक्दा छोटी भन्सार सञ्चालन हुन नसकेको बताइएको छ । यता छोटी भन्सार नहुँदा अवैद्य सामान भारत लैजान र भारतबाट नेपाल ल्याउन व्यापारीहरूलाई भने सहज भइरहेको छ । भन्सार कर्मचारी र सुरक्षाकर्मी नभएका नाकाबाट हतियारसमेत भित्रिने गरेको स्थानीयवासी बताउँछन् । भारतीय सुरक्षाकर्मीसँग मिलेमतो गर्नेहरूले विगतमा अहिले पनि छोटी भन्सार रहेका नाकाबाट जस्तोसुकै सामान लैजान र भित्रयाउने गरेको भन्सारको एक कर्मचारीको भनाइ छ ।
‘तस्करी हुने भएरै विगतमा ती स्थानमा छोटी भन्सार राखिएको हो,’ ती कर्मचारीले भने, ‘फेरि पनि ती स्थानमा छोटी भन्सार नराख्ने हो भने राजस्व तिरेर सामान ल्याउनेहरू नै चोरी नाकाबाट सामान भित्र्याउन थाल्छन् ।’ सशस्त्र द्वन्द्वताका माओवादी धम्की र आक्रमणका कारण विस्थापित भएका राप्तीपारिका सुइँया, नरैनापुर, भगवानपुर, खडैचा र भंघोटना लगायतका छोटी भन्सार अझै बन्द छन् । छोटी भन्सार सञ्चालन नहुँदा यसअघि कार्यालय रहेका भवन र अन्य भौतिक सम्पत्तिसमेत नष्ट भइसकेको छ ।
चोरी पैठारी तथा लागूऔषध तस्करी नियन्त्रणका लागि नेपालगन्ज–रुपैहिडा सिमानासम्म आधा दर्जन सुरक्षा चेकजाँच पोस्ट स्थापना गरिएको छ । नेपाल–भारत ओहोरदोहोर गर्नेलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीले रोकेरै चेकजाँच गर्छन् । चौलिका चोकदेखि जमुनाहा प्रहरी चौकीसम्म २४ घन्टा छ्याप्छ्याप्ती सुरक्षाकर्मी परिचालित छन् । चौलिका भन्सार क्षेत्रमा सशस्त्र प्रहरी र पिपरहवा, जमुनहासम्म बाक्लै सुरक्षाकर्मीको उपस्थिति छ ।
धेरै स्थानमा हुने सुरक्षा चेकजाँचले कतिपयलाई सास्ती खेप्र्नुपर्छ । तर त्यही सुरक्षा चेकजाँच पोस्टमा खटिएका सुरक्षाकर्मीलाई झुक्याउँदै लागूऔषध तस्करी हुने गरेको पछिल्ला घटनाले देखाएका छन् । विभिन्न समयमा नेपाली नागरिकहरु चरेससहितका विभिन्न लागुऔषध भारतमा पक्राउ परेपछि उक्त तथ्य खुलेको हो । भारतीय कानुन अनुसार लागूऔषध कारोबारमा पक्राउ पर्नेको ६ महिनासम्म जमानत हुँदैन ।
पक्राउ परेका नेपालीले आफूहरू भरिया भएको र त्यहाँका सुरक्षाकर्मीलाई झुक्याएर चरेस ल्याएको दाबी गर्ने गर्छन् । आर्थिक प्रलोभनमा परेर भारतको बहराइचसम्म चरेस पुर्याउन जाने क्रममा पक्राउ अधिकांश नेपालीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गर्ने गरेको छ । सुरक्षाकर्मीको उपस्थिति भए पनि फितलो चेकजाँचका कारण लागूऔषध तस्करी नियन्त्रण हुन नसकेको हो ।
सुरक्षाकर्मीको ध्यान पोकापोकीतर्फ मात्रै हुँदा तस्करी नरोकिएको स्थानीय बताउँछन् । सीमामा खटिएका सुरक्षाकर्मीहरू साइकल, रिक्सालाई बढी चेकजाँच गर्ने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् । ‘पोकापोकी चेकजाँचमा सुरक्षाकर्मीको बढी समय बित्छ,’ एक प्रत्यक्षदर्शीले भने, ‘त्यसो गरिँदा तस्करले लागूऔषध लगायतका प्रतिबन्धित वस्तु सीमा वारपार गराउँछन् ।’ चरेस कारोबारको अभियोगमा करिब तीन दर्जन नेपाली अझै पनि बहराइच कारागारमा छन् ।
यो तथ्यांकले भारतसँग सीमा जोडिएका बाँकेका सीमावर्ती गाविसबाट मात्र होइन मुख्यनाका जमुनाहाबाट समेत लागूऔषध भित्रयाउने र बाहिर लैजाने गरेको देखाएको छ । तस्करले रुकुम, रोल्पा लगायत मध्यपश्चिमका विभिन्न जिल्लाहरूबाट ल्याएको चरेस अनुकूलता मिलाएर नेपालगन्जसम्म पुर्याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी तथ्यांकले यस क्षेत्रमा लागूऔषधको कारोबार बढ्दै गएको देखाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके