सूचनाको शक्ति - The Power Of Information

        

अर्गानिक तरकारी खेतीमा रमाउँदै थारु महिला

अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारु महिला बिहानै तरकारी लिएर नेपालगन्ज आउने गरेका छन् । अर्गानिक तरकारीको माग दिनदिनै बढ्दै गएपछि बाँके र बर्दियाका ग्रामीण भेगका थारु महिलाले आफ्नै खेतबारी उत्पादित तरकारीबाट प्रशस्त कमाइ गर्न थालेका हुन् ।

नेपालगन्ज ल्याइएका तरकारी तत्काल बिक्री भई राम्रो आम्दानी हुन थालेपछि उत्पादनतर्फ अधिकांश थारु महिला आकर्षित भइरहेका बाँके खजुरा–४ की रामदुलारी थारुले बताइन् । उनले विभिन्न किसिमका तरकारी बिक्री गरेर मासिक रु १५ देखि रु २० हजारसम्म आम्दानी गरिरहेको जानकारी दिइन् ।

बाँकेको नौबस्तामा घर वरिपरी तरकारी खेती गरिरहेकी वसन्ती थारुले उत्पादित तरकारी एकाबिहानै नेपालगञ्ज ल्याएर बिक्री गर्ने गरेको बताइन् । त्यस्तै, कोहलपुर मैटहवाकी सुनिता चौधरीले घरबाट ताजा तरकारी ल्याएर नेपालगन्जको पुष्पलाल चोकमा केही समयमै बिक्री हुने गरेको बताइन् ।

बर्दियाको बढैयाताल गाउँपालिका–३ का महिला वडासदस्य दुसानी थारुले दैनिक बर्दियाबाट नेपालगन्ज अर्गानिक तरकारी ल्याएर बिक्री गर्दै आएकी छन् । उनले हरेक दिन बिहानै नेपालगन्जको सडकमा तरकारी बिक्री गर्न थालेको वर्षौँ भइसकेको बताइन् ।

महिला उद्यमीका साथै वडासदस्य समेत रहेकी थारुले वर्षौँदेखि आफूले कृषि पेसा गर्दै आएको बताइन् । ‘म पहिलादेखि नै कृषि पेसामा आबद्ध थिएँ, विगत १० वर्षदेखि कृषि पेसामा आवद्ध छु । अर्गानिक तरकारी साइकलमा राखेर नेपालगन्ज ल्याएर बिक्री गर्दै आएकी छु,’ उनले भनिन् ।

उनले स्थानीय चुनावमा महिला सदस्यका रुपमा निर्वाचित भएपछि तरकारी खेती गरेर पनि आत्मनिर्भर बन्न सकिन्छ भनेर महिला दिदीबहिनीलाई सम्झाउने गरेको बताइन् । आफू जनप्रतिनिधि भए पनि कृषि पेसामा रमाइरहेकी दुसानीले बिहान नेपालगन्जमा तरकारी बिक्री गर्ने र दिउँसो घर पुगेपछि जनताका काममा लाग्ने गरेको बताइन् ।

पहिला साइकलमै राखेर तरकारी बेच्न नेपालगन्जसम्म आउने गरेकामा अहिले भने गाडीको प्रयोग गर्न थालेको उनको भनाइ छ । नेपालगन्जको धम्बोझीस्थित सिटिजन बैंक अगाडि सडकको किनार (सडक पेटी)मा महिलाले तरकारी बजार लगाउने गरेका छन् । सडकमा तरकारी राखेर बेच्दा बिहान ९ बजेपछि नगर प्रहरीले लखेट्ने गरेको दुसानीले गुनासो गरिन् ।

‘यसरी व्यावसायिक रुपमा तरकारी बेच्न थालेको तीन वर्ष भयो । अहिले १५ कठ्ठा जग्गामा विभिन्न तरकारीजन्य वस्तु उत्पादन गर्दै आएकी छु,’ उनले भनिन् । तरकारी बिक्रीबाटै पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको दुसानीले बताइन् । ‘देशमा केही गर्न सकिन्न भनेर विदेश गएर धेरै नेपाली नागरिकले दुःख पाएका छन्, मैले यहीँ तरकारीबाटै राम्रै आम्दानी गरिरहेकी छु,’ उनले भनिन् ।

स्थानीयस्तरमै उत्पादन हुने घरेलु तथा अर्गानिक वस्तुलाई सरकारले प्रवर्द्धन गर्नुपर्ने र बिक्री वितरणका लागि छुट्टै स्थान बनाइदिनुपर्ने उनको माग छ । नेपालगन्ज सडकमा दुसानी थारुजस्ता धेरै किसान बाँके र बर्दियाबाट एकाबिहानै तरकारी ल्याएर बिक्रीवितरण गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार १४:१७

लोकप्रिय