सूचनाको शक्ति - The Power Of Information

        

फत्तेपुरका १२६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँकेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरमा ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत १२६ घरमा धारा जडान भएका छन् । फत्तेपुरको पदनाह, जोरैया, मोहनपुर दक्षिण हब्रहवा, उत्तर हब्रहवा र सिधनिया बस्तीका १२६ घरमा जडान गरिएको फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले जनाए ।

‘गत वर्ष असारदेखि घरघरमा खानेपानी धारा जडान गरेर स्वच्छ पेयजलको सुविधा पुर्याएका छौं,’ अध्यक्ष थापाले भने, ‘यहाँका ४०० घरमा धारा जडान गरेर स्वच्छ पानी पुर्याउने लक्ष्य छ ।’ अध्यक्ष थापाका अनुसार आर्थिक वर्ष २०७६–०७७ देखि उक्त कार्यक्रम लागु भएको हो । वि.सं २०७८ देखि फत्तेपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरी आयोजनाको काम हुँदै आएको थियो ।

तीन कठ्ठा जमिनमा खानेपानीको भवन, ट्याङ्की, ‘पम्प हाउस’ लगायत संरचना तयार गरी पानी वितरण थालिएको अध्यक्ष थापाले बताए । महिना दिनमा १० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्तालाई रु १५० शुल्क कायम गरिएको छ भने १० युनिटभन्दा बढी उपभोग गर्नेलाई प्रतियुनिट रु २० का दरले शुल्क लिने गरिएको छ ।

घरघरमा खानेपानी सुविधा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् । राप्तीसोनारी–६ कै पनेरियामा पनि खानेपानी आयोजना निर्माणाधीन छ । राप्तीसोनारी–७ निवुवाटार र नन्कौपुरमा पनि खानेपानी आयोजनाको काम जारी छ । ‘पाइप लाइन’ विस्तारको काम सम्पन्न भएसँगै चाँडै धारा जडानको काम सुरु हुने राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूले बताए ।

स्रोत : रासस
प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार १०:२९

लोकप्रिय