सूचनाको शक्ति - The Power Of Information

        

कैलालीमा सुधारगृहमा युवकको मृत्यु

कैलालीमा सुधारगृहमा राखिएका एक युवकको शंकास्पद मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह)मा २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपेन्द्रकुमार पालले सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनको छतबाट  बुधबार राति हाम फालेको बताए ।

त्यसबाट घाइते भएका शाहीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको छ ।

डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हामफालेको बुझिएको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको बताए ।

तर, मृतकका परिवारले भने घटनाको प्रकृति हेर्दा शाहीको भवितव्य नभएर हत्या भएको हुनसक्ने भन्दै छानबिनको माग गरेका छन् । मृतकका बुवा धनराज जोशीले छोराको हत्या भएको जिकीर गर्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए ।

उनले सुधार केन्द्रले विगत २५ दिनदेखि छोरालाई भेटघाट गर्न नदिइएको दाबी गर्दै कुटपिट गरेर छोराको हत्या गरिएको आरोप लगाए ।शाहीलाई उनका अभिभावकले गत पुसमा सुधार केन्द्रमा राखेका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार ०९:०१

लोकप्रिय