सूचनाको शक्ति - The Power Of Information

        

लोकप्रिय बन्दै कोदोको बिस्कुट, माग धान्नै सकस

बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ । काठेखोला गाउँपालिका–८ लेखानी कादेशका चानसिंह श्रीसले सुरु गरेको कोदोको बिस्कुट उत्पादन तीन महिनामै माग धान्न नसक्ने अवस्थामा पुगेको हो ।

पुरानो खाद्य बालीका रुपमा रहेको कोदोलाई ‘ब्रान्डिङ’ गर्न गत फागुनदेखि बिस्कुट उत्पादन गरी उनले बजारमा पठाएका थिए । बिस्कुट बजारमा पुगेपछि माग ह्वात्तै बढेको हो । ३४ वर्षीय युवा श्रीसले घरेलु उद्योगमार्फत कोदोको बिस्कुट उत्पादन सुरु गरेका हुन् । उनले उद्योग फस्टाउन थालेपछि पाँच जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

गाउँमै उद्यम गरेर स्वरोजगार बन्न सात वर्षदेखि कोदोको बिस्कुट बनाउन अनुसन्धान गरेपछि श्रीसले उत्पादन सुरु गरेका हुन् । ‘कोदोको बिस्कुटको माग दैनिक १५ हजार थान छ तर मेरो उद्योगको क्षमता दैनिक एक हजार ५०० छ,’ उनले भने, ‘मैले उपभोक्ताको माग पुरा गर्नै सकेको छैन ।’

मागको ३० प्रतिशत मात्रै कोदोको बिस्कुट बजारमा पठाउन सकेको उनले बताए । अझै ७० प्रतिशत माग पुर्याउन बाँकी छ । त्यसका लागि भारतबाट अत्याधुनिक बिस्कुट बनाउने उपकरण भित्र्याउने तयारीमा श्रीस छन् । एक महिनाभित्र उक्त उपकरण आएपछि मागअनुसार उत्पादन हुने उनको भनाइ छ ।

विसं २०७७ मा स्थापना गरिएको उद्योगले अहिले कोदोको बिस्कुट उत्पादन गरेर बजारमा पुर्याएको हो । गाउँमा उत्पादन भइरहेको कोदोको महत्व जगाउँदै कोदोको स्वादमा जागा इन्टरनेसनल इन्भेष्टमेन्ट एन्ड रिसर्च सेन्टर प्रालिको नामबाट बिस्कुट बजारमा पुर्याइएको उद्योगका सञ्चालक श्रीसले बताए ।

लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउन अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको श्रीसले बताए । उनले ४० लाख लागतमा नयाँ उपकरण भारतबाट ल्याउन लागेको जानकारी दिए । कोदोको बिस्कुटले यत्तिको लोकप्रियता कमाउला भनेर उनले सोचेको थिएन ।

उनका अनुसार छिमेकी जिल्लासँगै विदेशबाट समेत बिस्कुटको माग हुन थालेको छ । जापानमा समेत आफ्नो बिस्कुट प्रदर्शन भइसकेको उनले बताए । घरेलु उद्योगको हिसाबले सानो पूँजीमा सुरु गरेको उद्योगमा राष्ट्रिय उद्योगको जस्तो माग आएपछि थप संरचना निर्माणको काम सुरु गरेका छन् ।

‘धान्नै नसक्ने माग आयो, अहिले उद्योगको क्षमता विस्तारमा लागेको छु, २० लाखमा सुरु गरेको उद्योग अबको एक महिनामा करोड लागत पुग्छ, मागअनुसारको बिस्कुट उत्पादनका लागि एक महिना लाग्छ,’ श्रीसले भने, ‘अहिले नयाँ उपकरणका लागि संरचनाहरु निर्माण भइरहेको छ, कोदोको बिस्कुटको माग धान्न नसकेर फोन उठाउनै नसक्ने भएँ ।’

सीए पढ्ने सपना अधुरै राखेका श्रीसल पाँच वर्ष काठमाडौँमा रेष्टुराँ चलाएका थिए । उनी कोरोनाकालमा गाउँ फर्केपछि बिस्कुट उद्योग सञ्चालनमा ल्याएका हुन् । कुनै समय गरिबको खानाका रुपमा चिनिएको कोदोको परिकारको महत्व बढेपछि श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गरेका छन् ।

अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई रु २० मा बजार पठाएका छन् । जसलाई नेपाल सरकारले गुणस्तरको चिह्नसमेत प्रदान गरिसकेको छ । उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत रु १० लाख अनुदान दिएको छ ।

गाउँमै पाइने कच्चापदार्थ कोदोलाई बहुमूल्य बनाउन बिस्कुट निर्माण गरेको उनको भनाइ छ । बिस्कुटमा धेरै मात्रमा कोदोको पीठो भए पनि गहुँ, घीउ र तेलको समिश्रण हुने गरेको छ । अग्र्यानिक कोदोबाट उत्पादित बिस्कुटले स्वास्थ्यलाई समेत फाइदा पुग्ने उनको भनाइ छ ।

स्रोत : रासस
प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ०९:२६