खेलकुद र खजुरा एक अर्काका पुरक हुन् । राष्ट्रिय खेलाडी होस् या अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा जिल्लामै अग्रस्थानमा छ, खजुरा । २०२४–०२५ सालतिर खजुरामा पुनर्वास वस्ती विकास भएसँगै खेलाडी र खेलकुद क्षेत्रको विकासको सुरुवात भएको मानिन्छ । तत्कालिन अवस्थामा गाउँटोलमा खेल्ने खेलाडीबाट सुरु भएको खेल यात्राका उदाहरण हुन, लालबहादुर थापा, लालबहादुर हमाल, श्याम थापा, लालबहादुर मल्ल, अमर थापा, केशमाया श्रीस, मानबहादुर काउचा हुँदै वर्तमान अवस्थाका बिनु बुढामगर, सोनिया भट्ट, कृष्णा खत्री, इसरार खान, दिपकराज सिंह ठकुरी आदी ।
तत्कालीन समयमा सिमित खेल र खेलाडी हुने अवस्थामा फुटवल र भलिवलसँगै एथ्लेटिक्स खेल पनि खजुरामा भित्रियो । एथ्लेटिक्सले खजुरालाई साफ गेममा पदकधारी समेत बनायो । उनी थिए, केशमाया श्रीस र मानबहादुर काउचा । त्यसैगरी पछिल्लो समय खजुरामा फस्टाउँदै र खजुराको चिनारी बन्न सफल खेल हुन् कबड्डी र जुडो । जुडोले ओलम्पियन सोनिया भट्टलाई जन्मायो भने कबड्डीले विश्वकप खेल्ने खेलाडी इसरार खानलाई जन्मायो । क्रिकेटमा खजुराको पहिचान बनिन् बिनु बुढामगर । खजुरामा मार्सल आर्टसमेत फस्टाउँदै गएको छ । समग्रमा खजुरा पनि बाँकेको घरबारी टोलजस्तै हो ।
खेलकुदका लागि जहाँ हरेक टोल र पुनर्वासका वस्तीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी दिएको छ खजुराले । खजुरामा खेलकुदको विकास हेर्ने हो भने सिमामा रहेको सैनिक बस्ती जहाँ फुटबलको प्रचुर सम्भावना र खेलाडी उत्पादन गर्ने क्षेत्र हो । सैनिकसँगै जोडिएको के गाउँ, एल गाउँ, सी गाउँ, ए गाउँ, बी गाउँ र धौलागिरी खजुराको गुलरिया रोड उत्तरतिरका बस्ती जहाँबाट सयौ खेलाडी उत्पादन भएका छन् । दक्षिणतिरका डी गाउँ, ई गाउँ, एफ गाउ, खजुरा बजार र मनकामनाका बस्तीहरुबाट समेत विभिन्न खेलहरुमा समयसँगै धेरै प्रतिभावान खेलाडी उदाइरहेका छन् । अझ खजुराको एउटा भेग जहाँ मधेसी मुस्लिम समुदायको बाक्लो उपस्थित रहन्छ, त्यो समुदायबाट कबड्डी र क्रिकेटका प्रतिभा आएकै छन् ।
जब खजुरा खेल र खेलाडी उत्पादनको थलो हो भने निःशन्देह पनि त्यहाँ खेलस्थल भनेजति होलान नै । हो खजुरामा सामान्य अवस्थामा खेल सञ्चालन गर्न खेलस्थलको अभाव भने छैन । तर सुविधा सम्पन्न पूर्वाधारको समस्या भने अवश्य नै छ । खजुराका अधिकांश बस्ती पुनर्वासका हुन्, जसको लाभ एक वस्ती एक खेल मैदान हो । यसरी हेर्दा आठ पुनर्वास बस्तीमा आठ खेलस्थल छन् । बाँकी सैनिक, धौलागिरी, मनकामनासँगै आफ्नै खेलस्थल सामान्य अवस्थामा खेल खेल्न सकिने छन् । खजुरा गाउँपालिकाभित्र एक खेलकुद ग्राम रहेको छ, जुन खजुरा–२ रिमझिममा अवस्थित छ ।
जहाँ फुटवल, भलिवल, क्रिकेट, कबड्डी, एथलेटिक्स लगायतका खेल निरन्तर सञ्चालित छन् । खजुरा गाउँपालिका वडा नं.३ स्थित ‘क’ गाउँमा ब्याडमिन्टन हल निर्माणाधिन अवस्थामा छ । खजुरा वडा नं.६ मा सिमलघारीमा खेलमैदान स्तरौन्नतिकै चरणमा छ भने जुडो हलसमेत निर्माण भएको छ । पछिल्लो समय जुडो खेलले गरेको प्रगति र खेलाडी उत्पादनमा देखाएको लगनशीलताबाट प्रभावित भएर खजुरा गाउँपालिका र वडा नं.२ को लगानीमा जुडो हल निर्माण सम्पन्न भई प्रशिक्षक विजय गुरुङ्ग प्रशिक्षण गराउँदै आएका छन् । विजय गुरुङ तिनै प्रशिक्षक हुन्, जसले नीजि लगानीमा जुडो क्लब खोलेर सोनिया भट्ट ओलम्पियन र दिपा गुरुङ्ग साफ मेडलिस्ट उत्पादन गरेका छन् । हाल उनी स्वयंसेवक प्रशिक्षकका रुपमा हलमा दैनिक ५०–६० खेलाडी प्रशिक्षण गराइरहेका छन् ।
स्थानीय सरकारमा २०७९ मा डम्बरबहादुर विक ‘तुफान’को टिम विजय भएर आइसकेपछि खेल र खेलाडीको सुरक्षा र उत्पादनलाई ग्यारेन्टी गरेर अगाडि बढेको छ । उनी निर्वाचित भएर आयसँगै आथिक बर्ष २०७९–०८० को बजेट खेलकुद शीर्षकमा २८ लाखभन्दा बढी विनियोजन भयो । उक्त बजेट सञ्चालन गर्न कार्यविधि निर्माण गरी अधिकार सम्पन्न खेलकुद विकास बोर्ड गठनसँगै गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु खेलकुद गतिविधिमा सक्रिय छन् । गाउँपालिकाले एक वडा एक सुविधा सम्पन्न खेलमैदान निर्माण र खेल प्रशिक्षण निरन्तर गर्दै उत्पादनमा जोड दिएको छ ।
गाउँपालिकाले वडा नं.७ को जनता मावि बठुवाको फिल्डको स्तरोन्नति र एफ गाउँको फिल्ड विस्तार गरेको छ । हरेक बर्ष हुने राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद कार्यक्रम निरन्तरता पाउनुका साथै कार्यक्रम भव्य बनाउन खेलकुद कार्यक्रम सञ्चालन अवधी बढाएर सात दिन गराइएको छ । सम्भवतः बाँके जिल्लामै सबैभन्दा भव्य ‘अध्यक्ष कप’ खजुरामै हुन्छ । विद्यालय खेल महोत्सवका रुपमा भव्य र सभ्य अनि सारा जिल्लाको ध्यान खिच्न सफल आयोजना हुने गर्छ खजुरामा । जसले गर्दा खेलाडीको प्रतिभा प्रष्फुटन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
पालिका अध्यक्ष भन्छन्, ‘खेलाडीले खेल्ने हो, खेल प्रतिश्पर्धात्मक हुनुपर्छ, प्रक्रिया पूरा गरेजस्तो गरेर तीन–चार दिनमा सिध्याउने होइन नि ?’ खजुरा गाउँपालिकाले स्थानीय तहमा विजयी भएका खेलाडीलाई प्रोत्साहन रकम तथा खेल सामाग्री प्रदान गरेर हौसला बढाउनुका साथै खेल क्षेत्रमा निरन्तर सक्रिय रहन प्रेरित गरेको छ । त्यसको एउटा उदाहरण हो, इसरार खान र दिपक सिंह ठकुरीलाई नगदसहित सम्मान गरिएको छ । उनीहरुलाई ५१ र २५ हजार नगदसहित सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता धनिराम ओली बताउँछन् ।
१) विश्वकप कबड्डी खेलेर फर्किएका इसरार खानलाई भव्य ¥यालीसहित पालिका परिक्रमा र नगद ५१ हजारसहित सम्मान ।
२) इरानको तेहरानमा विश्वकप खेल्न जाने खेलाडी इसरार खानलाई खेल सामाग्री खरिदको लागि २० हजार हस्तान्तरण ।
३) फुटबल खेलाडी दिपक सिंह ठकुरीलाई २५ हजारसहित सम्मान ।
४) खजुरा वडा नं. २ मा जुडो हल निर्माण ।
५) सैनिकमा हुने राष्ट्रियस्तरको फुटवल प्रतियोगिताका लागि आर्थिक र व्यवस्थापकीय सहयोग ।
६) खेलकुद ग्रामको पूर्णता र आधुनिकरणमा बजेट व्यवस्थापन तथा त्यसको जिम्मेवारी ग्रहण ।
७) खेलकुद विकास बोर्डमा गाउँपालिकाभित्रका पूर्व खेलाडीको सम्मानजनक उपस्थिति ।
८) खजुरा–५, उढरापुरमा रात्रीकालिन क्रिकेट ।
९) खजुरा गाउँपालिकाबाट प्रदेश र राष्ट्रिय खेल खेल्न जाने खेलाडीलाई प्रोत्साहन रकम तथा सामाग्री हस्तान्तरण ।
१०) प्रतिभावान खेलाडी उत्पादनका लागि प्रशिक्षणको व्यवस्था ।
यी केहि प्रतिनिधिमूलक कार्यहरु हुन्, जुन अहिले सञ्चालित छन् ।
आर्थिक बर्ष २०८०–०८१ को बजेटमा खजुरा गाउँपालिकाले गत बर्षको बजेटको तुलनामा झण्डै १३ लाखले वृद्धि गर्दै ४० लाख पु¥याएको छ । नीति तथा कार्यक्रममा खेलकुदलाई पेशामा बदली खेलाडीको जिविकोपार्जनसँग जोडने लक्ष्य लिएको छ । अहिले प्रतिश्पर्धात्मक जीवनमा खेलाडी खेलेर जीउन सक्ने क्षमता निर्माण गर्नैपर्छ । अझ खेलाडी जीवन कष्टकर र एकदमै प्रतिश्पर्धा तथा आरोह अवरोहको जीवन हो । यस्तो अवस्थामा आर्थिक पक्ष र मनोवैज्ञानिक पक्ष सबल हुनैपर्छ । तसर्थ खेललाइ बढाउँदै खेलाडीको जीवन निर्वाहमा सहजता ल्याइदिनु स्थानीय सरकारको दायित्व हो, जुन खजुरा गाउँपालिका सरकारले सुरुवात गरिसकेको छ । यसैको एउटा उदाहरण हो अन्तर्राष्ट्रिय खेल खेलेर आउने खेलाडीलाई सम्मानजनक नगदसहित पुरस्कृत गर्नु ।
खजुरा गाउँपालिकामा हाल विभिन्न खेलहरुको आवधिक र निरन्तर प्रशिक्षण सञ्चालित छन् । खेलकुद ग्राममा आइटिएफ र सेल्फ डिफेन्स हप्किडो, जुडो हलमा जुडो, खेलकुद ग्राम र न्यु डाफेको मैदानमा फुटवल, जनता माविमा भलिवल, आदर्श माविको मैदानमा एथ्लेटिक्स, जनता मावि बठुवामा कबड्डी, ज्ञानोदय माविमा बक्सिङ्ग, ‘क’ गाउँमा ब्याडमिन्टन लगायत विभिन्न खेलहरुको प्रशिक्षण सञ्चालित छन् भने यस्ता खेल सहभागितामा गाउँपालिका सरकार वडा कार्यालय र खजुरा खेलकुद विकास बोर्ड लागिरहेकै छ । खजुरा गाउँपालिकाले राष्ट्रपति रनिङ्ग शिल्ड जिल्ला छनौट अन्तर्गत कबड्डी छात्र निरन्तर ७ बर्षदेखि प्रथम हुँदै आएको छ भने छात्रातर्फ ३ पटक प्रथम भएको छ ।
यी प्रतियोगितामा विजयी खेलाडीलाई पालिका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले आफ्नै कार्यकक्षमा बोलाएर सम्मानसहित शुभकामना दिँदै आउनुभएको छ । हाल खजुरा खेलकुद विकास बोर्डमा पालिका अध्यक्षले पालिकाभित्रका चर्चित अन्तर्राष्ट्रिय पदकधारी खेलाडी केसमाया श्रीस र राष्ट्रिय भलिवल खेलाडी लालबहादुर मल्ललाई समेटेर खेलकुदका लागि खेलाडीसहितको टीम निर्माण गर्नुभएको छ । अध्यक्ष विकले अब छिट्टै खेलाडी निर्माणका लागि प्राविधिक जनशक्ति तयार गर्न खेल प्रशिक्षक प्रशिक्षण तालिक सञ्चालन गरिने बताउनुभयो । खजुरा गाउँपालिकाका प्रवक्ता स्वयं बुद्दिचाल संघका लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेकाले खेलकुदका लागि सकारात्मक र उत्पादनशील कार्य भइरहेका छन् ।
१) केशमाया श्रीस – एथ्लेटिक्स आठौं साफ कास्य
२) मानबहादुर काउचा – एथ्लेटिक्स आठौं साफ
३) बिनु बुढा मगर – क्रिकेट पहिलो राष्ट्रिय महिला टिम सदस्य
४) सोनिया भट्ट – जुडो ओलम्पियन सन् २०२० टोकियो
५) दिपा गुरुङ्ग – जुडो तेह्रौं साफ
६) कृष्णा खत्री – फुटबल
७) इसरार खान – कबड्डी जुनियर विश्वकप २०२३ इरान
८) दिपकराज सिंह ठकुरी – फुटबल प्रधानमन्त्री कप आमन्त्रित २०७९
अझै धेरै खेलाडी मैत्रीपूर्ण खेल खेलेका खेलिरहेका छन् । यतिमात्रले खजुरा क्षेत्रको खेलकूद रोकिँदैन । खजुरा गाउँपालिकाबाट खेलकुदको व्यवस्थापकीय भूमिकामा समेत धेरै पात्रहरु क्रियाशिल हुनुहुन्छ । हाल राष्ट्रिय खेलकुद परिषद अन्तर्गत आधिकारीक खेल संघहरुमा यस गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरु यस प्रकार छन् ।
१) भीम ओली – केन्द्रीय उपाध्यक्ष, भलिवल संघ
२) धनीराम ओली – अध्यक्ष, बुद्धिचाल संघ लुम्बिनी प्रदेश
३) जनार्दन खत्री – अध्यक्ष, कबड्डी संघ लुम्बिनी प्रदेश
४) अमर केसी – सदस्य, खो खो संघ लुम्बिनी प्रदेश
५) चन्द्र राना – सदस्य, जिल्ला खेलकुद विकास समिति बाँके
६) चिरन चन्द – अध्यक्ष, जिल्ला भलिवल संघ बाँके
७) सुशील मल्ल– उपाध्यक्ष, जिल्ला फुटवल संघ बाँके
८) पशुपति योगी – उपाध्यक्ष, जिल्ला बुद्दिचाल संघ बाँके
९) यामनारायण महतो – सचिव, जिल्ला भलिवल संघ बाँके
१०) होम सुनार – आइटिएफ तेक्वान्दो
११) सुमन सिंह बस्नेत – कोषाध्यक्ष, जिल्ला भलिवल संघ बाँके
१२) चित्रा श्रीस – सदस्य, जिल्ला एथ्लेटिक्स संघ बाँके
१३) बुद्दिराम महतो – सदस्य, जिल्ला एथ्लेटिक्स संघ जिल्ला बाँके
१४) गौतम श्रेष्ठ – सदस्य, जिल्ला एथ्लेटिक्स संघ जिल्ला बाँके
लगायत यी र यस्ता धेरै पदीय भूमिकामा खजुरा गाउँपालिकाबाट खेल क्षेत्रमा प्रतिनिधित्व गरिरहेका छन् । अब के गर्न सकिन्छ र कसरी खजुरालाई खेलकुद हब बनाउने त भन्ने प्रश्नमा खजुरा गाउँपालिका अध्यक्ष विक भन्छन्, ‘समग्र खजुरालाई समेटेर उत्पादन र खेलाडीको भविष्यसँग जोडिएको योजनासहित अगाडि बढ्दैछौं । अब खजुराबाट प्रतिनिधित्व गर्ने खेलाडी बिना प्रशिक्षण, खाली खुट्टा, भोको पेट, प्रशिक्षकको अभाव र रित्तो गोजिले खेल्न पर्दैन । गर्व गरेर मेहनतका साथ खजुराको खेलाडी हुँ भनेर खेल्छ र पदक भिरेर आउँछ र उसको भविष्यको चिन्ता पालिकाको हुन्छ ।’ खेल पूर्वाधारका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष विक भन्छन्, ‘हामी भाग्यमानी छौं हामीसँग ७–८ वटा खेलकुदका उपयुक्त मैदान छन्, अब ती मैदानको स्तरोन्नति गर्छौ । जहाँ जतिबेला पनि सहजरुपमा खेल सञ्चालन गर्न सकियोस् ।’
इन्डोर खेल मैदानको लागि जुडो र ब्याडमिन्टन हल जस्तै एक–दुई सामान्य सुविधासहितको हल निर्माण गरिने उनीले बताछन् । अध्यक्ष विक भन्छन्, ‘विद्यालयस्तरका सम्पूर्ण खेलका लागि प्रत्येक सामुदायीक र संस्थागत विद्यालयलाई खेल शिक्षक ब्यवस्थापन गर्न सुझाउछौं र प्रशिक्षणको लागि आवश्यक सहयोग गरेर जान्छौं । अब सिकाई र नतिजा सङ्गसङ्गै खजुरामा आउनेछ ।’ गाउँपालिका खेलकुद विकास बोर्डका सदस्य सचिव छवि बिष्ट यसै आर्थिक बर्षमा सकारात्मक योजना बनिरहेको र छिट्टै ठोस योजना र सम्पादनको प्रक्रियासहित अघि बढ्ने बताउँछन् । सदस्य सचिव बिष्ट भन्छन्, ‘हामी खेललाई मनोरञ्जन होइन अब जीवन जीउने आधार र परिचित गराउने माध्यमका रुपमा विकास गर्दैछौ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके