सूचनाको शक्ति - The Power Of Information

        

माग अनुसार खुदो पुर्‍याउनै मुस्किल

प्राचीन कालदेखि नै खुदोले चिनिएको क्षेत्र हो पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन ढोडबेँसी । प्रत्येक वर्षको पुसे पन्ध्र होस् वा माघे सङ्क्रान्ति यहाँको खुदो किन्ने र खाने प्रचलन प्राचीन कालदेखि नै चल्दै आएको थियो । तीन दशक अघिसम्म पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेँसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिँड्ने प्रचलन नै थियो ।

पछिल्लो समयमा यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घर–घरमा पुगी खुदो बेच्ने चलन हराए पनि यहाँको खुदोले अहिले पनि उत्तिकै चासो र चर्चा कमाएको छ । पोखरामा मात्रै नभएर यहाँको खुदोको माग राजधानी काठमाडौँसम्म पनि हुने गरेको छ । कास्की, तनहुँ आसपासका क्षेत्रमा जन्मथलो भई विभिन्न सेवा पेशा र व्यवसायका कारण राजधानी र अन्य शहरमा बस्दै आएका व्यक्तिले वर्षेनी यहीँबाट खरिद गरी खुदो लैजाने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

यहाँको खुदोको माग बढिरहे पनि कृषिप्रतिको अनिच्छालगायतका कारण मागअनुसार पु¥याउन नसकिएको स्थानीयवासी बताउँछन् । मालेपाटन ढोडबेँसी क्षेत्रमा उखु खेती सुरु गरिएको यकिन तिथिमिति नभए पनि करिब २०० वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको बुढापाकाको भनाइ छ । खुदो यस क्षेत्रको विशिष्ट पहिचान रहेको र यहाँका स्थानीयवासी व्यावसायिक उखुखेतीमा आकर्षित बनेको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले बताए ।

२०० वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परालाई जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ जोड दिइएको उनले बताए । सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ । नेपाली संस्कृतिअनुसार पुसे पन्ध्रमा लट्टे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे सङ्क्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ ।

उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ । समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु एक दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो । पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको उनले जानकारी दिए । कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुन लागेको वास्तविकतामा यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन् ।

व्यावसायिकताको प्रयाससँगै सङ्गठित बनेका यहाँका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएका छन् । सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवम् बजारीकरणसँगै बाख्रा, कुखुरा पालनलगायत लगानी गरिँदै आएको छ । मालेपाटन र ढोडबेँसी क्षेत्रमा विगतमा रु ७० लाखदेखि रु एक करोडसम्म खुदोको कारोबार हुने गरेको थियो । पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छालगायत कारणले यसको खेती कम हुँदै गएको छ ।

उखु लगाएको एक वर्षमा काट्नका लागि तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ । अनी रस पकाइन्छ । उक्त रसलाई घण्र्टौँ पकाएपछि खुदो तयार हुन्छ । यहाँका किसानले कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाउँथे । यस क्षेत्रमा २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी यन्त्रका माध्यमबाट उखु पेल्ने गरिएको छ । यस वर्ष माघ महिनामा नै यस क्षेत्रमा उत्पादित खुदो सकिएको स्थानीयवासी तारानाथ रिजालले जानकारी दिए । खुदो खोज्नेको सङ्ख्या बढेपनि मागअनुसार आपूर्ति गर्न नसकिएको उनले बताए ।

पछिल्ला समयमा मालेपाटन ढोडबेँसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेसँगै पोखरा महानगरपालिकाको सहयोगमा विगत दुई वर्ष यता यहाँको खुदोलाई ब्राण्डिङ गरिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा–३२ मालेपाटन र ढोडबेँसीको खुदो’ लेखेर सिलबन्दी गरिएको छ । एक वडा एक पकेट कार्यक्रम अन्तर्गत यहाँ उखु खेतीको विस्तारका लागि अघिल्लो वर्ष पोखरा महानगरपालिकाले रु १२ लाख उपलब्ध गराएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।

यहाँ उत्पादित खुदोको यस वर्ष पनि प्रयोगशालामा परीक्षण गरिएकोमा गुणस्तरीय पाइएको उनले बताए । गत वर्ष हावा हुरीका कारण यहाँको उखु खेतीमा केही असर पारेको उनले जानकारी दिए । ‘मालेपाटन ढोडबँेसीको खुदोको माग वर्षेनी बढ्दै गरेका अवस्थामा त्यसअनुरुप आपूर्ति गर्न धौधौ हुनेगरेको छ,’ उनले भने, ‘स्थानीयको जागरुकता बढेमा महानगरपालिकाले गर्न सक्ने सहयोगका लागि हामी निरन्तर लागिरहेकै छौँ ।’उत्पादन बढाउन सकेमा त्यसले स्थानीयको आयआर्जन बढाउने र स्वरोजगारी सिर्जना गर्ने उहाँले बताए ।

मालेपाटन र ढोडबेँसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्राण्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको र आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए । विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकोमा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन् । उखुमा लाग्ने गरेको ढुसीजन्य रोग, हावाहुरीको समस्या आदि चुनौतीका रूपमा रहेको उनीहरूको भनाइ छ ।

स्रोत : रासस
प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १७:५८