सूचनाको शक्ति - The Power Of Information

        

तरकारी बेचेर पढाइ खर्च जुटाउँदै निडर

सुर्खेत रोडमा तरकारी बिक्री गर्दै १७ बर्षीय निडर कठायत ।

नेपालगन्ज उपमहानगरपालिका –१ स्थित जिल्ला प्रहरी कार्यालय पछाडि बस्ने १७ बर्षीय किशोर निडर कठायतलाई दिउँसो २ बजेपछि तरकारी बेच्न सुर्खेतरोड पुग्न हतार हुन्छ । दिउँसो २ बजे उनी घरमा राखेका तरकारी ठेलामा मिलाउन व्यस्त हुन्छन् ।

तरकारी ठेलामा मिलाइ सकेपछि उनी घरबाट ठेलामा राखेको तरकारी लिएर बिक्री गर्न नेपालगन्जको व्यस्त सडक सुर्खेत रोडमा पुग्छन् । उनको घरबाट तरकारी विक्री गर्ने स्थान सुर्खेत रोडको ग्यालेक्सी होटल नजिक सडक किनारमा पुग्न झण्डै एक घण्टा समय लाग्छ ।

उनी घरबाट निस्केपछि तरकारी विक्री गर्दै उक्त स्थानमा ३ बजेको आसपास आइपुग्छन् । पचलझर्ना गाउँपालिका–३ खार्दु कालिकोट स्थायी ठेगाना भएका निडरले नेपालगन्जको सडकमा तरकारी विक्री गर्न लागेको ८–९ महिना पुगेको छ ।

‘विहान उठेर ६ बजे स्कूल जान्छु स्कूल ११ बजे सकिन्छ, अनि घर आएर खाना खाएर रानी तलाउस्थित तरकारी बजार जान्छु,’ उनले भने, ‘तरकारी खरिद गरी घरमा ल्याएर ठेलामा मिलाउँदा लगभग २ बज्छ, अनि ठेला लिएर बजार निस्कन्छु ।’

२०६३ सालमा कालिकोटमा जन्मिनुएका उनले २ कक्षासम्मको अध्ययन कालिकोटमै गरेको र त्यसपछि बुवाआमाको साथमा नेपालगन्ज आएर धम्बोझी माध्यमिक विद्यालयमा कक्षा ३ मा भर्ना भइ हालसम्म सोही स्कुलमा अध्ययन गरिरहेको बताए ।

उनी अहिले नेपालगन्ज धम्बोझीस्थित धम्बोझी माध्यमिक विद्यालयमा विज्ञान विषय लिएर कक्षा ११ मा अध्ययनरत छन् । घरको जेठो सन्तानका रुपमा जन्मिएका निडरको दुई बहिनी र एक भाइ छन् । भाइ–बहिनी साना छन् । बुवा केही काम गर्न सक्नु हुन्न ।

आमा कालिकोटकै एक सरकारी स्कुलमा शिक्षिका रहेको उनले बताए । ‘हाम्रो पाँच जनाको परिवार छ, बुवा केही गर्न सक्नु हुन्न, भाइ–बहिनी सानै छन्, आमाले कालिकोटमा पढाउनुहुन्छ । आमाको कमाइले मात्र हाम्रो पढाइ खर्च र घर खर्च धान्न गाह्रो भयो,’ निडरले भने, ‘मैले एसइई पास गरिसकेपछि विहान स्कुल जाने र दिउँसोमा तरकारी बेच्न सुरु गरें ।’

तरकारी व्यवसायबाट राम्रै कमाइ भइरहेको निडरको भनाइ छ । तरकारी विक्रीको कमाइबाट भाइ बहिनीका साथै आफ्नो पढाइ खर्च र घरखर्च धान्न सहज भएको उनले बताए । निडरका अनुसार केही समय पहिलासम्म नेपालगन्जको खजुरारोडमा बुवाले भाडामा सटर लिएर चिया पसल चलाउँथे ।

निडर सोही चियापसलमा काम गर्दै आएका थिए । तर पसल चल्न छाडेपछि उनको बुवाले चिया पसल बन्द गरे । आम्दानीको स्रोत बन्द भयो । अनि उनले तरकारी बेच्न सुरु गरे । १७ बर्षको उमेरमा तरकारी ठेलामा राखेर सहर बजारमा बिक्री गर्दै हिँड्दा आफूलाई कुनै लाज सरम र घिनता नहुने उनले बताए ।

‘काम गरेर खान केही लाज मान्नु पर्दैन । चोर्न, ढाँट्न अनि मागेर खान पो लाज लाग्छ त १ काम गरेर खान के को लाज ?’ निडरले भने, ‘मसँगै पढ्ने साथीहरु तथा पढाउने शिक्षकहरु दैनिक मसँग तरकारी किन्न आउनुहुन्छ । उहाँहरुले मलाई प्रोत्साहन दिनुहुन्छ । मलाई काम गरेर खान झनै हौसला मिल्छ ।’

निडरलाई अंग्रेजी बिषय पढाउने शिक्षक हेमन्तराज काफ्लेले निडर अति नै सरल, निडर, इमान्दार, मिहिनती, अनुशासित र लगनशील विद्यार्थी भएको बताए । निडर पढाइमा पनि उत्कृष्ट रहेको काफ्लेको भनाइ छ । उनले भने, ‘निडर पढाइमा पनि उत्कृष्ट छन्, मिहिनेत, अनुशासन र लगनशीलता उनको विषेशता हो ।’

‘कक्षा ११ मा ८२ जना विद्यार्थी छन्, तीमध्ये निडर अग्रपङ्तिमा रहेको शिक्षक काफ्लेले बताए । उनले भने, ‘निडरको स्वाभिमान, लगनशीलता र काम देखेर म आफै छक्क पर्छु ।’ नेपालगन्जमा तरकारी विक्री गर्ने धेरैजसो तराईमूलका बासीन्दा हुनुहुन्छ । त्यसमा पनि भारतबाट यहाँ आएर तरकारी बेच्नेहरु उल्लेख्य छन् ।

नेपालगन्जमा पहाडीमूलका केही व्यक्तिहरु फाट्टफुट्ट रुपमा तरकारी व्यापार गर्ने भए पनि १७ बर्षको उमेरमा ठेलामा तरकारी विक्री गर्दै हिँडेर आफ्नो पढाइ खर्च जुटाउनु हुने निडरबाट साँच्चिकै गतिलो पाठ सिक्न सकिन्छ ।

स्रोत : गोरखापत्र
प्रकाशित मिति : २० माघ २०८०, शनिबार ०८:३४