सूचनाको शक्ति - The Power Of Information

        

हुम्ला हुँदै चीनसम्म पुग्छ बाजुराको निगालो

छिमेकी जिल्ला बाजुरामा उत्पादन गरिएका डोको, नाम्लोलगायतका सामग्री हुम्ला आयात हुँदै आएका छन् । माथिल्लो हुम्ला सदरमुकाम सिमकोट आसपासका नागरिक हिउँदयाममा छिमेकी जिल्ला बाजुराका विभिन्न स्थानमा पुगी डोको खरिद गरेर यहाँ ल्याएर बिक्री गर्दछन् ।

हिउँदको समयमा काम नहुने सबै फुर्सदिला हुने हुँदा घरखर्च चलाउन बाजुरामा उत्पादन भएका डोको ल्याएर सदरमुकाम आसपासका गाउँमा बिक्री गर्ने चलन रहेको छ । टाढाको दुरी तीन दिन लगाएर बाजुरामा पुगी त्यहाँबाट सडक नभएको ठाउँमा पिठ्युँमा बोकी र यातायात आवतजावत गर्ने ठाउँमा गाडीको भाडा तिरेर सदरमुकाम ल्याउने गरेको सिमकोट गाउँपालिका–७ चौगनफया गाउँका रमेश शाहीले बताए ।

स्थानीय शाहीले भने, ‘बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेमा उत्पादन गरिएका डोको हुम्लामा बिक्री गर्न खरिद गरी ल्याएका छौँ, अहिले सदरमुकाम आसपासका गाउँमा लिएर बिक्री भइरहेको छ ।’ ढम्कनेबाट १५० डोको सिमकोट ल्याएको उनले बताए । सिमकोट पुर्याइएका डोको यता बिक्री नभए चीनको ताक्लाकोट लैजानेसमेत शाहीको भनाइ थियो ।

हुम्लाबाट डोका ताक्लाकोट पुर्याएपछि त्यहाँ बिक्री हुने शाहीले बताए । निगालोको चोयाबाट हातले उत्पादन गर्न सकिने परम्परागत डोकोको सिमकोटसम्म आइपुग्दा एक हजार ८०० रूपैयाँदेखि दुई हजार रूपैयाँका दरले बिक्री भइरहेको शाहीले बताए । ढम्कनेमा ६०० रूपैयाँदेखि ८०० रूपैयाँसम्म पर्ने गरेको भए पनि हुम्लाको सिमकोटसम्म आउँदा गाडी भाडा लगायतका खर्चले गर्दा महँगो मूल्यमा बिक्री गर्नुपरेको उनले बताए ।

जंगलमा पाइने निगालोको चोयाबाट उत्पादन हुने डोको एकदेखि चार किलोग्रामसम्म हुने गरेका छन् । डोको बुन्ने सीप भएकालाई बुन्न सजिलो हुने गरेको भए पनि जंगलमा गएर निगालो संकलन गर्न समय लाग्ने र दुःख हुने गरेको शाहीले बताए । सिमकोट बजारस्थित एयरपोर्ट चोकमा डोको बिक्री गर्दै गरेका शाहीले भने, ‘आजभोलिको समयमा निगालो ल्याउन पनि डिभिजन वन कार्यालयमा गएर पुर्जी काट्ने र त्यसपछि मात्र निकासी गर्न पाउने कारणले समस्यासँगै दुःख थपिएको छ ।’

विगत केही समयदेखि निगालोका डोका, डाला, छुन्का, सुप्पा, खार्या, छाप्री, पाथो, थुन्कोलगायतका सामग्री खरिद गरेर आफ्नो मूल्यमा बिक्री गरी गुजारा गर्दै आएको शाहीले बताए । बाजुराको बडिमालिका–७ स्थित ढम्कनेबाट बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, हुम्लाको ताँजकोट, अदानचुली गाउँपालिका हुँदै सर्केगाड गाउँपालिकाको गिउसीसम्म गाडीमा र गिउसीदेखि खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका गाउँसम्म डुलाउँदै बिक्री गर्ने गरेको उनले बताए ।

गाउँमा अन्य आम्दानीको स्रोत फेला नपारेका ३४ वर्षका शाही अहिले सोही पेसामा रमाउन थालेका छन् । उनले अहिले दिनभरि पिठ्युँमा डोकाको भारी लिएर गाउँ चहार्ने आफ्नो दैनिकीजस्तो बन्दै गएको बताए । गाउँमा जाँदा दिनमा चारदेखि सात जति डोको बिक्री गरेर १० देखि १५ हजार रूपैयाँसम्मको आम्दानी हुने गरेको छ । उनका अनुसार खरिद र गाडीको ढुवानी जोड्दा फाइदा थोरै आउने गरेको छ ।

शाहीले आफैले डोको बुनेर बेचे मनग्य फाइदा हुने बताए । आफ्नो गाउँको जंगलमा निगालो नहुने र आफूलाई डोको बुन्ने सीपसमेत नभएकाले अर्काले बुनेको डोको भए पनि त्यहीँ खरिद गरेर बिक्री गर्ने गरेको उनको भनाइ छ । आजभोलि बजारमा प्लाष्टिकका डोको, डालो आकारका सामग्री आएकाले पनि यसको व्यापार घट्दो क्रममा रहेको उनी बताउँछन् ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार १८:०१

लोकप्रिय