बाँकेका हरेक थारु वस्तीमा धुमधामका साथ माघी मनाइएको छ । गरिब, मध्यम, धनी जस्तोसुकै वर्ग भए पनि तराईका थारुहरु माघी पर्वलाई भव्य रुपमा मनाउँछन् ।
माघ १ गते थारु जातिको स्वतन्त्रताको दिन हो । त्यति मात्र होइन, यस दिनलाई उनीहरुले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । सधैं खेतिपातीमा व्यस्त रहने हुनाले उनीहरुले वर्षमा एक दिन माघीलाई मुक्तिको दिनका रुपमा पनि मनाउँछन् ।
बाँके नौवस्ताका ६८ वर्षीय रामजनम थारुका अनुसार, यस पटक माघीलाई भव्य रुपमा मनाइएको बतानउनुभयो । उहाँले युवा युवतिले नाचेर गाएर मिठो परिकार खाएर माघी मनाएको बताउनुभयो ।
थारुहरुले सामाजिक, आर्थिक र पारिवारिकलगायत धेरै किसिमका कामको बाँडफाँड योजना र नीति तय माघिकै दिन गरेको पनि रामजनमले बताउनुभयो ।
उहाँका अनुसार घरमुलीको चयन, बसाइसराइको तय, आर्थिक पारदर्शिता, असमान व्यवहारको मूल्याङ्कन गरी घरमा कसको विवाह गर्ने कसको नगर्ने, छोराछोरीलाई पढाउने नपढाउने, घर छुट्टिने, जग्गा किनबेच गर्नेकि नगर्ने, जमिन्दारको जग्गा लगाउन छोडने वर्षभरीको सबै निर्णय माघीमै गरिएको बताउनुभयो ।
अर्का अगुवा मैटहवाका नरेश चौधरीले घरका सबै एकै ठाउँमा जम्मा भएर परिवारका सदस्यले घरमुलीसमक्ष आफ्नो प्रस्ताव राखिसकेपछि वर्षभरीको कामको निर्णय गरेपछि नाचगानसहित माघी मनाएको बताउनुभयो ।
उहाँले मिठो खाएर, मघौटा नाच नाचेर माघी मनाएको बताउनुभयो । थारु समुदायका महिला, पुरुषले आफ्नै संस्कृति झल्किने भेषभुषामा सजिएर जिल्लाका विभिन्न ठाउँमा माघी मनाएका छन् ।
टिटिहिरियाका राजु थारुले थारु संस्कारअनुसार, चामलको ढिक्री, घोङ्गी, सुंगुरको मासु, अनदीको जाँड र रोटी, तरुल, गन्जी, माछा माघीको दिनमा खाइने हुँदा सोही खाएको बताउनुभयो ।
माघीका दिन महिलाले कपडामा संस्कृति झल्काउने गोन्या, चोल्या, लेहंगा, गट्या, अघरान, लगाएको र गहनाहरुमा चाँदी र प्राचीन मोरु पैसाबाट बनाइएका भिछ्या, पैरी, चुरीया, तरीया, मुन्द्री आदि लगाएको थारु अगुवाहरुले बताएका छन् ।
यसैगरी पुरुषहरुले पनि झुल्वा, भेग्वा, धोती आदि लगाएर दुनामा जाँड खाँंदै महिला–पुरुष आपसमा रमाइलो गरेर नाचगान गरी माघी मनाएको रझेनाका अगुवा माइला थारुले बताउनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके