सर्वप्रथम् पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु । पृथ्वीनारायण शाहको पालामा यति सानो नेपालका बाइसे–चौबिसे लगायत दर्जनौं राष्ट्र थिए । ती भुरेटाकुरे राज्यहरु निकै कमजोर र गरिब थिए । राज्यको आयस्ता सेना र हतियारमा खर्च हुन्थ्यो । भुरेटाकुरे राजाको विलाशिता झनै खर्चिलो थियो ।
त्यो समयमा पृथ्वीनारायण शाहले बाहिरी शक्तिबाट देशलाई बचाउनको लागि एकताको बिकल्प देखेनन् । उनले धेरै राज्यसँग युद्ध गरेर, कतिपय राज्यसँग बिहे तथा मितेरी साइनो लगाएर तथा कतिपय राजालाई आश्वासन दिएर बलियो राज्य खडा गर्ने अभियान सुरु गरे । हामीले बिभिन्न सभ्यताका इतिहास अध्ययन गर्ने हो भने लाखौँ मान्छे मारेर राज्य खडा तथा ब्यवस्था अडिएका थिए ।
(पृथ्वीनारायण शाहको जीवनकालमा बनेको मूर्ती । विकेपेडि़याबाट)
त्यो समयमा नेपालमा घरेलु हतियार मात्र थिए । जनसंख्या पनि कम थियो । तसर्थ केहि सय सैनिकलाई जित्नेबित्तिकै राज्य जितिन्थ्यो । यसैकारण पनि पृथ्वीनारायण शाहको एकीकरण अभियानमा ठूलो जनधनको क्षति नभएको आंकलन गर्न सकिन्छ । उनी जीवनपर्यन्त लडे, सफल पनि भए । उनले काठमाडौं अर्थात नेपाल जितेपछि आफ्नो राज्यको नाम गोरखा राख्न सक्दथे । तर उनले नेपाल राखे ।
यसबाट उनको जनमत कदर गर्ने स्वभाव देखिन्छ । त्यस्तै उनले नेपाललाई चार जात छत्तिस वर्णको फूलबारी भनेर सबैको साझा अस्तित्वको सम्मान गरे । पृथ्वीनारायण शाहलाई अहिलेको चस्माले हैन, त्यो बेलाको चस्माले मुल्यांकन गर्नु पर्दछ । उनैले एकीकरण गरेको देशमा बसेर उनैलाई सामन्त र विस्तारवादी भन्नु आफ्नो इतिहासको अपमान गर्नु हो । जहाँसम्म पृथ्वीनारायण शाहले किर्तिपुरेका १७ धार्नी नाक काटे भन्ने छ, त्यो बिम्बात्मक कुरा हो ।
बलियो राष्ट्रसंग ३–३ पटक युद्ध हुँदा, कालु पाण्डेजस्ता प्रधान सेनापतिको मृत्यु हुँदा दुबैतर्फ क्षति भएको थियो नै । ‘पृथ्वीनारायण शाहले किर्तिपुरेको नाक काटे’ भनेको उनले युद्धमा हराएर बेइज्जत भयो भन्ने अर्थ हुनसक्छ । फलानोले हाम्रो कुलको नाक काट्यो भन्ने कुरा अहिले पनि हुन्छ । त्यो बेला किर्तिपुरको सानो जनसंख्यामा एक धार्नी पनि नाक थिएनन्, सबैको काटेको भए पनि । उनका सन्ततिमध्ये कतिपयले राम्रो गरे, कतिपयले राम्रो गरेनन् ।
त्यो आधारमा शाहवंश र अन्य शाशकले गरेका गल्ती उनीमाथि थोपर्नु अन्याय हुनेछ । एउटा कुरा सत्य हो, पृथ्वीनारायण शाहले एकीकरण नगरेका भए पछि अंग्रेजसँगको युद्धमा हालको नेपाल अंग्रेजको हातमा पक्कै जान्थ्यो । उनकै कारण एकीकृत शक्ति भएको तथ्य हामीले बिर्सिनु हुँदैन । युद्धको क्रममा केहि अमानवीय घटना भए होलान् । केहि जबर्जस्ती भयो होला । संसारका अधिकांश राष्ट्र यसरी नै निर्माण भएका हुन् । नेपाल एकीकरणको महान अभियान सुरु गर्ने महानायक पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन !
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
डा.रविन्द्र पाण्डे । काठमाडौं