सूचनाको शक्ति - The Power Of Information

        

विशेष रिपोर्ट

एमालेको अस्तित्व शून्य नपारिदिन प्रचण्डसँग ओलीको हारगुहार

अझ भन्दा राष्ट्रियसभामा केही सिट जोगाउनका लागि प्रचण्डकहाँ गएर गिडगिडाउन जानु भनेको एमालेपंक्तिका लागि लज्जाको विषय हो ।

संसदमा नेकपा एमाले र माओवादी केन्द्रको आकार हेर्ने हो भने तुलना पनि गर्न मिल्दैन । माओवादीसँग जम्मा ३२ सिट छन् भने एमालेसँग एमालेसँग ७८ सिट छन् । एमाले र कांग्रेस संसदका हाराहारीका शक्ति हुन् । अझ लोकप्रिय मतमा त एमाले देशकै ठूलो र पहिलो पार्टी हो । राष्ट्रियसभामा त अहिले पनि एमाले नै सर्वाधिक ठूलो पार्टी हो ।

अध्यक्ष पनि एमालेकै छन् । उसका १७ सिट आफूसँग छन् । तर यतिखेर देशकै ठूलो दल एमाले आफ्नो अस्तित्व शून्य नपारिदिन भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकहाँ दिनदिनैजसो धाउन थालेका छन् । आफ्ना लागि केही माग्न ओलीले प्रचण्डकहाँ धाउने दिन आउला भनेर के सोचेको थियो र । ओली अहिले प्रचण्डसँग अनुनय विनय गर्दैछन् ।

अझ भन्दा राष्ट्रियसभामा केही सिट जोगाउनका लागि प्रचण्डकहाँ गएर गिडगिडाउन जानु भनेको एमालेपंक्तिका लागि लज्जाको विषय हो । हुन त यसको अर्को पाटो पनि छ । न प्रचण्ड दिने हैसियतमा छन् । न एमालेले पाउने नै निश्चित भइसकेको छ । प्रचण्ड एमालेको साथ लिएर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गराउने र केही समय काम देखाउने दाउमा छन् । उनको त्यही स्वार्थले एमालेलाई केही सिट दिलाउनेसम्मको उपाय अगाडि आएको हो ।

एमालेलाई केही सिट दिएर प्रचण्डलाई कुनै नोक्सान हुनेवाला पनि छैन । एक्लै लड्ने हो भने माओवादीसँग एउटा सिट पनि राष्ट्रियसभामा हुने छैन । अहिले उसले पाउने र जोगाउने भनेको कांग्रेसकै आडमा हो । प्रतिस्पर्धा हुने भनेको पनि कांग्रेस र एमालेकै बीचमा हो । उनीहरु दुई ठूला शक्तिलाई भिडाएर केही सिट आफ्ना पोल्टामा पार्ने प्रचण्डको दाउ हो । यस्तै कांग्रेसले पाउने सिट उसैका हुन् । एमालेले पाउने सिट झन् उसैका हुन् ।

उनीहरुकै प्रतिद्वन्द्वितामा खेलेर अहिले प्रचण्ड सिट बाँड्ने ठाउँमा पुगेका छन् । कांग्रेसको काँध चढेर प्रधानमन्त्री प्रचण्ड एमालेलाई अध्यक्ष ओलीलाई माग्ने बनाइरहेका छन् । आगामी फागुन २० मा ६ वर्षे कार्यकाल पूरा हुने राष्ट्रियसभाका २० सांसदमध्ये एमालेका सबैभन्दा धेरै छन् । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ लगायत सांसदहरु दिलकुमारी रावल, इन्दु कडेरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुवार, रामचन्द्र राई र राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल गरी एमालेका ८ सांसदको पदावधि आगामी फागुनमा सकिँदैछ ।

हालसम्म राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालसहित एमाले सांसदहरुको संख्या १७ छ, जुन राष्ट्रियसभामा दलगत प्रतिनिधित्वका हिसाबले सबैभन्दा धेरै हो । ८ जना सांसदको पदावधि २० फागुनमा सकिएपछि भने राष्ट्रियसभामा एमाले ९ सिटमा झर्छ । यो स्थितिमा सत्तारुढ गठबन्धनबीच तालमेल र इमानदार कार्यान्वयन भइदियो भने एमालेले कुनै पनि सिटमा विजय हासिल गर्न सक्दैन ।

किनकि, राष्ट्रियसभाका लागि हुने निर्वाचनमा सबै प्रदेशमा सत्तारुढ गठबन्धन मतभारका हिसाबले बहुमतमा छ । सत्तारुढ गठबन्धन एकजुट हुँदा २० माघमा हुने राष्ट्रियसभा निर्वाचनमा एमाले कुनै पनि सिटमा विजयी हुने स्थितिमा छैन । राष्ट्रपतिबाट मनोनयन हुने एक सिट मन्त्रिपरिषदले सिफारिस गर्ने भएकाले यो सिटमा पनि एमालेले आशा गर्ने स्थिति छैन । यस हिसाबले अहिलेसम्म राष्ट्रियसभामा सबैभन्दा ठूलो दल रहेको एमाले फागुनपछि तेस्रो ठूलो दलमा खुम्चिन पुग्छ । पहिलो र दोस्रो ठूलो दल को हुने भन्ने कुरा सत्तारुढ गठबन्धनमा हुने भागबण्डाले निर्धारण गर्छ ।

यसपटक ८ सदस्य गुमाएर राष्ट्रियसभामा तेस्रो दलमा झर्ने एमालेको आकार दुई वर्षपछि हुने निर्वाचनमा शर्मनाक हुने स्थिति छ । अर्थात् त्यो बेला एमाले राष्ट्रिय सभामा एक सिटमा खुम्चिन्छ । त्यो बेला राष्ट्रिय सभामा एमालेका सोनाम ग्याल्जेन शेर्पा मात्र रहनेछन्, जो दुई वर्षअघि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका जसपाका हेमराज राई (हाल एमाले) लाई आश्चर्यजनक रुपमा पराजित गर्दै राष्ट्रिय सभामा पुगेका थिए ।

राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्ष हुने र शेर्पाले २ वर्ष कार्यकाल मात्र पूरा गरेकाले दुई वर्षपछि राष्ट्रियसभामा एमालेको बिउको रुपमा शेर्पा मात्र रहन्छन् । ०७९ मा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाले एक वर्ष पूरा गरिसकेका छन् । स्थानीय तहको साढे १ वर्षभन्दा बढी अवधि पूरा भएको छ । त्यसैले आगामी चार वर्ष अर्थात् २०८४ भित्र तीन वटै तहको निर्वाचन हुनेछन् । चार वर्षपछि हुने निर्वाचनको परिणाम के हुन्छ, आकलन गर्न सकिँदैन ।

तर, त्यो बेला पनि सत्तारुढ गठबन्धन एकजुट भइरहने र प्रत्येक प्रदेशमा मतभारको स्थिति अहिलेजस्तै भइदियो भने शेर्पाको पदावधि पूरा हुँदा ४ वर्षपछि राष्ट्रियसभामा एमाले शून्य स्थितिमा पुग्न पनि सक्छ । ओलीले त्यो दिनसम्मकै चिन्ताले अहिले नै सताएको छ । एमालेको ओरालो यात्रा कहिलेसम्म हो र एमालेविरोधी राष्ट्रिय–अन्तर्राष्ट्रिय गठबन्धन कहिलेसम्म कायम रहन्छ ? अहिल्यै भन्न कठिन छ । तर ओली र उनका आसेपासेहरुको अहंकार कायम रहेसम्म परिस्थिति उल्टन सक्ने देखिँदैन ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ०९:५४

लोकप्रिय