‘कबिर’जी हार्दिक बधाई छ । मानिस अनुभव सिकाई विचारले मात्र खारिएर नहुने रहेछ । तपाई वैचारिक हिसाबले यो डिग्री उहिले प्राप्त गर्नुभएको थियो । तर यहाँ बुर्जुवा मापनको मूल्य छ, परिवर्तनको एक कमान्डर परिवर्तनको एक गुरु परिवर्तनको एउटा योद्धा तपाईको मुहार आएको यो खुशीको अनेक कोणबाट विश्लेषण गरे । तपाईमा यतिबेला मनभित्रैबाट आएको खुशी थाम्न नसकेर सुखका आँसु आएको तस्वीरमा देखे । तपाईको जीवन संघर्ष उपलब्धीलाई खोतल्दै गए ।
तपाईसँग ठ्याक्कै भेट भएको दिन त मलाई याद छैन । द्वन्द्वकालमा जनयुद्धका सञ्चार माध्यमबाट तपाईको नाम सुन्ने गर्दथे । औपचारिक रुपमा २०६२–०६३ को जनआन्दोलन पछाडी नै हाम्रो परिचय भेट भएको भन्ने मेरो अनुमान छ । तपाईसँग जतिबेला भेट भए केही कार्यक्रममा रहँदा तपाईका विचार भावना सुन्दा तपाई खारिएको परिपक्व गुरुकै रूपमा पाए । विपन्न कमैया परिवारमा जन्मेर कक्षा १० पढ्दा पढ्दै जनयुद्धमा होमिएको पात्र ।
जीवनमा केही गरौं भन्ने हुटहुटी भएको पात्र । जनयुद्धले शान्ति प्रकृयामा विश्राम लिएपछि एक कार्यक्रममा थारु पढे लेखेका छैनन् भन्ने कसैको आवाजले तपाईको भित्री मनलाई घोचेपछि २०५१ सालमा छाडेको कक्षा १० को परिक्षामा २०६५ सालमा सामेल भएर एसएलसी पास गरेको पात्र । कतिपय तपाईका सहकर्मीले पनि हिजो बुर्जुवा ठानिएको शिक्षा हासिल गर्दैछ भन्नेसम्म गाईगुई सुने पनि आज यो विभुषित भएपछि धेरैलाई थाहा भएको छ । तपाईको यो सफल शैक्षिक यात्रालाई मैले धेरै कोणबाट नियाले ।
आर्थिक अवस्थाका कारण पढ्न नसकेर २०५१ सालमा ज्याला मजदुरी गर्न घरबाट हिँडेका दिन, बुर्जुवा शिक्षा र तत्कालीन राज्यसत्ता परिवर्तनका लागि जनयुद्धमा होमिएका दिन, यो बुर्जुवा शिक्षा काम छैन भन्दै परिवर्तनको लाममा उभिन संगठन बनाउँदै हिँडेका तपाईका दिन धेरै कुराहरु केलाए । २०६२–०६३ को परिवर्तन हुँदा, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा हुँदा, तपाई नगर प्रमुख हुँदा आएका खुसीभन्दा हिजो औपचारिक शिक्षाबाट बिभुषित हुँदा देखेको खुशीमा तुलना गरे ।
तपाईले जीवनमा प्राप्त गरेका धेरै खुसीमध्ये यो खुसी नै उत्कृष्ट खुसी हो भन्ने कुरा तस्बिरले बोलिरहेको पाए । एउटा संयोग नै मान्नुपर्छ हिजो अवस्था र व्यवस्थामा परिवर्तनको युद्धमा होमिदा प्रचण्डकै मातहतमा होमिनुभएको थियो, आज समय क्रमले तिनै प्रचण्डको उपस्थितिमा तपाई विभुषित हुनु भएको छ । कबिर अर्थात् दुर्गाबहादुर थारु, अब तपाई एउटा पाठशालामा रुपान्तरण हुनुभएको छ । अबका धेरै विद्यार्थीले तपाईको बारेमा अनुसन्धानमूलक लेख थेसिस लेख्ने छन् । एउटा कमैयाको छोरा जनयुद्धमा कसरी होमियो ?
एउटा सामान्य किसान परिवारको छोरा कसरी स्थानीय सरकार प्रमुख बन्यो ? बुर्जुवा शिक्षा बहिष्कारको लाममा लागेको ब्यक्ति आज किन विभुषित हुनुपर्यो ? एउटा राजनीतिककर्मीलाई औपचारिक शिक्षाको प्रमाणपत्र जरुरी छ कि छैन ? यावत् प्रश्नहरुको उत्तर अबको युवाहरूलाई अनुसन्धान गर्न म अनुरोध गर्दछु । यो समाजले पढे लेखेका राजनीतिज्ञको खोजी गरिरहेको छ । निर्वाचनमा हुँदा उम्मेदवारको शैक्षिक योग्यता तोकिनुपर्छ भन्ने आवाज उठिरहेको छ । तपाई फेरि पनि राजनीतिक पात्र हो । हिजो अनुभव गरेको पात्र हुनुहुन्थ्यो आज अनुभव र पढेको पात्र बन्न सफल हुनुभएकोमा फेरि पनि हार्दिक बधाई छ ‘कबिर’जी यो शैक्षिक यात्राको निरन्तरताको कामना ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
अर्जुन सुवेदी । बर्दिया