लक्ष्मीपूजाका दिनमा बाँकेका विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् ।
एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको हो । तीन स्थानमै पसलमा आगलागी भएको प्रहरीले बताएको छ ।
बाँकेको खजुरामा रहेको एक पसलमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट सल्केर आगलागी भएको र नेपालगन्ज र राप्तीसोनारीका पसलमा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
खजुरा ५ धनौली नजिकै विष्णु वर्माले सञ्चालन गर्दै आएको बर्मा हार्डवेयरमा लक्ष्मीपूजा गर्न जलाइएको दियोबाट सल्केको आगोले आगलागी भएको धनौली प्रहरीले जनाएको छ ।
आगलागीबाट पसलमा ६ लाख बराबरको पेन्ट, सिमेन्ट तथा निर्माण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले बताउनुभयो ।
नेपालगन्जको घरबारीटोलमा रहेको सौगात इलेक्ट्रो हवमा गएराति आगलागी भएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बिसीले जानकारी दिनुभयो ।
ध्रुव दाहालले सञ्चालन गर्दै आउनुभएको उक्त पसलमा बिजुलीकाे तार सर्ट भएर आगलागी भएको हुनसक्ने उहाँले बताउनुभयो । राति नै प्रहरी र दुईवटा दमकलको सहायताले आगलागी नियन्त्रणमा लिइए पनि पसल जलेर सामानहरु नष्ट भएको प्रहरी निरीक्षक बिसीले बताउनुभयो ।
त्यसैगरी राप्तीसोनारी ४ बैजापुरचोकमा रहेको कमल चौधरीले सञ्चालन गर्दै आउनुभएको एक इलेक्ट्रोनिक पसलमा पनि आगलागी भएको राप्तीसोनारी–४ का वडा अध्यक्ष मीनराज खड्काले जानकारी दिनुभयो ।
बन्द रहेको पसलमा आगलागी भएको हुँदा विद्युत् सर्ट भएर नै आगलागी भएको हुनसक्ने अध्यक्ष खड्काले बताउनुभयो । प्रहरी र स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको र पसल जलेर पूर्णरुपमा नष्ट भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका विभिन्न तीन स्थानमा विभिन्न कारणले आगलागी भएको र आगलागीबाट कुनै मानवीय र पशु चौपायाको भने क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके