सूचनाको शक्ति - The Power Of Information

        

सनसनीपूर्ण खुलासा

कम्बोडियामा ‘ओलीको लगानी’ पुष्टि गर्ने फ्रान्सेली पत्रकारको त्यो लेख

फ्रान्सेली पत्रकार रोल्यान्ड ज्याकार्ड खुफिया शैलीमा संसारका सनसनीपूर्ण घटना र भ्रष्टाचारको खुलासा गर्न खप्पिस छन् ।

देशमा पछिल्लो समय भ्रष्टाचार यति मौलाएको छ कि नेतादेखि उच्च कर्मचारी करोडमा नभई अर्बमा भ्रष्टाचार गर्न थालेका छन् । उनीहरु भ्रष्टाचार वापत् पाउने रकम देशभित्र नभई बाहिर नै लेनदेन मिलाउँछन् । त्यस्तो रकम विदेशी बैक र विभिन्न कम्पनीमा लगानी हुने गरेको खुलासाहरु भइरहेका छन् ।

जलविद्युत, दूरसञ्चार, पूर्वाधार निर्माण लगायत दशौं अर्बको ठेक्कापट्टामा विदेशमै कमिशनको लेनदेन हुने र उतै व्यवस्थापन हुने गतिविधि बढ्न थालेको छ । भ्रष्टाचारका रकमहरु स्वीस बैंक, दुबई, सिंगापुर लगायतका सुरक्षित ठाउँहरुमा राखिने गरेका छन् । कतिपयले लगानीका रुपमा समेत भ्रष्टाचारको रकम लुकाएको विषय उठिरहेको छ ।

यसरी नेपाली जनताको पसिनाको कमाई भ्रष्टाचार गरी विदेशमा पुर्याउने शक्तिशाली गिरोह नै सक्रिय छ । त्यस्ता गिरोहको विदेश ओहोरदोहोर शंकास्पद छ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विदेशमा शंकास्पद लगानी र बैंकहरुमा रकम जम्मा गरेको विषय चर्चामा आइरहेको छ । कुनैबेला ओलीले नै रातो कार्पेट ओछ्याएर एमालेमा केन्द्रीय सदस्य बनाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले यो विषयलाई चर्चामा ल्याइदिएका हुन् ।

प्रसाईँले चुनौतीका साथ आफूसँग ओलीको कम्बोडियाको दूरसञ्चार कम्पनीमा लगानी रहेको ठोकुवा गरेका छन् । वास्तवमा प्रसाईँले यसरी ठोकुवा गर्नुमा उनले ओलीलाई नजिकबाट बुझ्नु र नेपालबाट विदेशमा के कसरी पैसा पुगिरहेको छ भन्ने बुझ्नु पनि मुख्य कारण हो । उनी आफै विगतमा यस्ता चलखेलमा लागेकाले यसबारे प्रसाईं अवगत नहुने कुरै भएन ।

ओलीको कम्बोडियाको टेलिकममा लगानीबारे सन् २०२० को जुलाई १२ मा फ्रान्सेली पत्रकार रोल्यान्ड ज्याककार्डले खुलासा गरेका थिए । यही खबरलाई लिएर विभिन्न मिडियाले त्यतिबेला समाचार बाहिर ल्याए । तर, ओलीले भारतीय सञ्चारमाध्यमले आफूविरुद्ध प्रोपोगान्डा मच्चाउन खोजेको भन्दै खण्डन गरे । चुच्चे नक्सा जारी गरेकाले आफ्नो बदनाम गर्न भारतीय मिडिया लागेको आरोप लगाए ।

वास्तवमा उनले चातुर्यतापूर्वक फ्रान्सेली खोजमूलक मिडियाले बाहिर ल्याएको विषयलाई छासमिस पार्न केही मात्रामा सफलता पनि हासिल गरे । ओलीको विदेशमा आर्थिक लगानीबारे खुलासा गर्ने पत्रकार भने सामान्य होइनन् । ज्याकार्डले अलकायदाका दिवंगत नेता ओसामा विन लादेन र आतंकवादबारे पनि सनसनीपूर्ण खुलासाहरु गरेका छन् । उनले सन् २००१ मा आतंकवादको नेटवर्क सम्बन्धी लेखेको पुस्तकले ठूलो सफलता हासिल गरेको छ ।

ज्याकार्ड युएई र स्वीजरल्यान्डमा हुने ठूला आर्थिक गतिविधिमा समेत आफै संलग्न हुने गरेको खुलासा भएको छ । उनलाई सन् २०१७ मा कतारले भोगेको कुटनीतिक संकटमा समन्वयकारी भूमिका निभाएको आरोप समेत लागेको थियो । कतिपय ठूला आर्थिक गतिविधि मिलाउन रकम लिएको आरोप पनि उनीमाथि लागेको छ । तर, ज्याकार्ड खुफिया शैलीमा संसारका सनसनीपूर्ण घटना र भ्रष्टाचारको खुलासा गर्न खप्पिस छन् । उनको खोजमूलक लेखहरु ग्लोबल वाच एनालिसिस नामको अनलाइन मिडियामार्फत् सार्वजनिक हुने गरेको छ ।

उक्त मिडिया फ्रान्सेली भाषामा पनि रहेको छ । ज्याकार्ड लेबनानमा जन्मिएका फ्रान्सेली पत्रकार हुन् । उनी आतंकवादको गहिरो अध्ययन गरेका विज्ञ हुन् । सँसारमा राष्ट्रपति र प्रधानमन्त्री भइसकेकाहरुले गरेका ठूला भ्रष्टाचारको सनसनीपूर्ण खुलासा गर्छन् । ओलीको कम्बोडियामा रहेको लगानीबारे ज्याकार्डको खोजमूलक खबर अहिले पनि ग्लोबल वाच एनालिसिसमा पढ्न सकिन्छ । उक्त खबरमा ओलीनिकट मानिएकाहरुको नाम पनि सार्वजनिक गरिएको छ । जसमध्ये दिवंगत व्यवसायी आङछिरिङ शेर्पा पनि छन् ।

शेर्पाले लगानीको वातावरण निर्माण गराएको उल्लेख छ । ज्याकार्डको बाइलाइन खबर अनुसार ओलीको कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी गराउन तत्कालीन चिनियाँ राजदूत हु चुन्ताईले समन्वय गराइदिएका थिए । यसमा चीनका अधिकारीहरुको भित्री भूमिकाको विषय उल्लेख छ । आङछिरिङ ओलीका सबैभन्दा प्रीय व्यवसायीका रुपमा परिचित थिए । ओलीले आफू प्रधानमन्त्री हुँदा उनको परिवारका सदस्यलाई राजदूत समेत बनाइदिएका थिए ।

ओलीको चीनसँगको विशेष सम्बन्धमा आर्थिक स्वार्थको विषय पनि ज्याकार्डले खुलाएका छन् । यतिसम्मकी ओलीको लगानी कम्बोडियामा पुर्याउन चिनियाँ कुटनीतिज्ञ फेनोम फेन बो जियाङगिओ पनि सहयोगी बनेको भनिएको छ । जियाङगिओको समन्वयमा ओलीको कम्बोडियाका तत्कालीन प्रधानमन्त्री हुन सेनसँग विशेष सम्बन्ध बनेको दाबी गरिएको छ । खबर अनुसार ओलीले चिनियाँ टेलिकम कम्पनी हुवावेको हितमा हुनेगरी निर्णय गर्न लगाएको भनिएको छ । हुवावेले ओलीको ठाडो आदेशमा ठेक्काहरु पाउने गरेको उल्लेख छ ।

ओली प्रधानमन्त्री हुँदा कम्बोडियाको भ्रमण गरेका थिए । हालै त्यहाँ भएको चुनावमा पनि पर्यवेक्षकका रुपमा पुगेका थिए । ओलीको कम्बोडियामा आवतजावत र उनका निकटस्थहरुको त्यहाँ हुने गरेको सक्रियताले ज्याकार्डले ग्लोबल वाच एनालिसिसमा गरेको दाबीलाई बल पुग्न जान्छ । यी खबरहरु किन आए भन्ने पनि महत्वपूर्ण विषय बन्ने गरेको छ । कतिपय विदेशी मिडियाले ओली परिवारको स्वीस बैंकमा लगानीको विषय पनि उठाए ।

ओलीले भने नाकाबन्दीको विरोध गरेपछि भारतको मिडियाले अफवाह फैलाएर यसबारे समाचार बनाएको दाबी गरे । वास्तवमा यस्ता सनसनीपूर्ण खबर भारतीय मिडियामा होइन, पश्चिमा मिडियामा आएका छन् । ओलीको नेपालमा विशेष सम्बन्ध रहेका व्यवसायी, बाह्य देशमा बलियो सम्बन्ध रहेका नेता देखि विचौलियाको काम गर्नेहरु सम्मको खुलासा हुनुले शंकास्पद लगानी पत्याउने आधार बन्न सक्छ ।

अर्कोतर्फ, ओली र उनीनिकटस्थहरुले जुन मिडियाले लगानीबारे प्रकाशित गर्यो उसको आलोचना गरेका छैनन् । न त खोजमूलक पत्रकारिता गर्ने ज्याकार्डबारे कुनै शब्द बोलेका छन् । ज्याकार्ड भने भ्रष्टाचारको भित्री खबरहरु अझै प्रकाशित गरिरहेका छन् । ज्याकार्डको खोजमूलक खबर तथ्य नजिक छ । यदि ओलीले विदेशमा लगानी गरेका हुन् भने ढिलोचाँडो त्यसको पर्दाफास हुनेछ ।

रोल्यान्ड ज्याककार्डको आर्टिकल पढ्न यहाँ लिङ्क क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १४:०७

लोकप्रिय