सूचनाको शक्ति - The Power Of Information

        

प्रविधिले खेतीपातिमा हराउँदै गोरु, फैलिँदै ट्याक्टर

कुनै बेला खेतीपातिका लागि हलो र गोरु अपरिहार्य थिए । असारमा धान रोप्न होस् वैशाखमा मकै छर्न । घैयाबारीमा तोरी छर्ने होस् या कोदोको बाँझो फुटाएर तरकारी खेति बलिया गोरु र हलो जुवा नभई हुँदैन थियो ।

तर, बढ्दै गएको सहरी केन्द्रित बसाइँ सराइ, युवाको विदेश पलायन र प्रविधिको विस्तारले यतिबेला नेपालको कृषि व्यवहारमै परिवर्तन ल्याइदिएको छ । जसका कारण गाउँ घरमा गोरुको संख्या महत्व हराउँदै गएको छ भने ट्याक्टरसहितका कृषि औजारको प्रयोग दिन प्रतिदिन फैलिंदै गएको छ ।

सरकारी तथ्याङक अनुसार २०६८ सालमा ८ लाख ४५ हजार मानिसले कृषि गर्नका लागि ट्याक्टरको प्रयोग गरेका थिए । जसअनुसार देशभर ३७ हजारको संख्यामा ट्यांक्टरहरु थिए । तर, २०७८ सालमा ट्याक्टर प्रयोग गर्ने कृषकको संख्या १६ लाख ३९ हजार पुग्यो भने देशभर प्रयोगमा रहेको ट्यांक्टरको संख्या पनि ५८ हजार नाघेको सातौं कृषि गणनामा उल्लेख छ ।

जसरी कृषिमा ट्याक्टरको प्रयोग बढ्दो छ यसले परम्परागत हलोको प्रयोग र गोरु पालनमा भने ठूलो गिरावट ल्याइदिएको छ । कृषि गणनाको तथ्याङ्क अनुसार कृषि प्रविधिको विस्तारका कारण परम्परागतसंगै आधुनिक फलामे हलोसमेत कृषकबाट विस्थापनको चरणमा देखिन्छ । २०६८ सालमा नेपालका १० लाख ७३ हजार कृषक परिवारले फलामे हलोको प्रयोग गर्थे ।

सो बेलाजम्मा जम्मी किसानहरुसँग ८ लाख ५६ हजार फलामे हलो थिए । तर, २०७८ मा आइपुग्दा फलामे हलो प्रयोग गर्ने किसान परिवार संख्या ७ लाख ३ हजारमा झरेको छ । जुन परिवार संख्याका हिसाबले १२ प्रतिशतको गिरावट हो । यस्तै आधुनिक फलामे हलोको कुल संख्या पनि ५ लाख १० हजारमा झरेको छ जुन झण्डै ३ लाख थानले कम हो ।

१० वर्षअघि नेपालका २२ लाख ८१ हजार कृषकहरुले गाईगोरु पालेका थिए । त्यो बेला नेपालमा कुल ६४ लाख ३० हजार गोटा गाई र गोरु रहेको सरकारी तथ्याङ्क छ । तर, २०७८ मा आईपुग्दा गाईगोरु पाल्ने किसान र गाईगोरुको संख्यामा भारी गिरावट आएको छ । अहिले नेपालमा गाई र गोरु पाल्ने किसानको संख्या ५ लाख ७२ हजारले घटेर १७ लाख ७ हजारमा झरेको छ ।

यस्तै, नेपालमा कुल गाईगोरुको संख्यामा पनि १८ लाख ४९ हजारले घटेर ४५ लाख ५९ हजारमा आइपुगेको छ । नेपालमा पछिल्लो समय कृषि मेशनरीको प्रयोग बढेको नेपालमा ट्याक्टरको कारोबार गर्ने व्यवसायी उमेश नारायण मानन्धर बताउँछन् । उत्पादन बृद्धिका लागि यान्त्रीकरणको महत्व बुझेपछि किसानहरु आकर्षित भएको उनको भनाइ छ ।

‘सहजै उपलब्धता, उत्पादकत्व बृद्धि र छिटो काम सम्पन्न हुने भएकाले किसानहरु यान्त्रीकरणमा प्रोतसाहित भएको छ,’ कृषि मेशनरी व्यवसायी संघका निवर्तमान उपाध्यक्षसमेत रहेको मानन्धन भन्छन्,’ पहिलो तराई र समथर भूभागमा बढी प्रचलनमा रहेको यान्त्रीकरण अहिले बिस्तारै पहाडी क्षेत्रमा पनि बढीरहेको छ ।’

राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेश तिमल्सिना कृषिमा यान्त्रीकरणको प्रयोगले व्यवसायीक खेती बढेको र यसमा श्रमको संख्यामा कमी हुनै गएको बताउँछन् । विश्वमा उन्नत कृषिमा जहिल्यै पनि यान्त्रीकरण पहिलो प्राथमिकतामा रहेको भन्दै नेपालमा ढिलै भए पनि सुखद सुरुआत भएको उनको बुझाइ छ ।

‘राष्ट्रिय कृषि गणनाको तथ्याङ्कअनुसार पनि कृषिमा यान्त्रीकरण वृद्धि भएको र कृषिमा सक्रिय जनसंख्या घटेको देखिएको छ,’ अध्यक्ष तिमल्सिना भन्छन्, ‘७१ प्रतिशतले खेती गरेर खान नपुग्ने अवस्थाबाट अब सुधारन हुँदै जाने देखिन्छ ।’ नेपालको पहाडी क्षेत्रमा कृषिमा अझै यान्त्रीकरण चुनौतीपूर्ण रहेको भन्दै उनले सरकारको नीति त्यसतर्फ हुनुपर्ने बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतवार १३:५९

लोकप्रिय