सूचनाको शक्ति - The Power Of Information

        

राप्तीसोनारीले भूमिहीनलाई निस्सा वितरण कार्य अघि बढाउँदै

बाँकेको राप्तीसोनारी गाउँपालिकाले वडा नं. ४ मा ऐलानी जग्गाको निस्सा वितरण गरी नापजाँच सुरु गरेको छ ।

राप्तीसोनारीले भूमि आयोगको सहयोगमा वडा नम्बर ४ राजपुर टोलका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेर जग्गाको नापजाँच सुरु गरेको हो ।

उक्त वडाका वडाध्यक्ष मिनराज खड्का (सन्तोष), राप्तीसोनारी गाउँपालिका अन्तर्गत भूमि आयोगका अमिन शेरबहादुर रोका नेतृत्वको टोली, इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज वरिष्ठ सई लक्ष्मीप्रसाद आचार्य, वडा नम्बर ४ का वडा सचिव होम सूर्य केसी लगायतको उपस्थितिमा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले ऐलानी जग्गाको कित्ताकाट र नक्सांकन कार्यको औपचारिक सुरुवात गरेका थिए । उक्त कार्यक्रममा अध्यक्ष पौडेलले तीव्र गतिमा जनताको जग्गाको काम गर्न प्रविधिकहरुलाई निर्देशन समेत दिएका थिए ।

पालिका अध्यक्ष पौडेलले सबै वडाका जनतालाई लालपूर्जा दिनसके अहिलेको जनप्रतिनिधिको निकै ठूलो उपलब्धि हुने बताउँदै भने, ‘कुनै ठाउँमा समस्या आए तत्काल वडा र पालिकाले सहजीकरणमार्फत समस्यालाई सुल्झाइन्छ र काम अगाडि बढाइन्छ ।’

वडाध्यक्ष खड्काका अनुसार राजपुर टोलका १ सय ४० जना स्थानीयलाई निस्सा वितरण गरिएको छ । आगामी फागुनसम्म वडाको सबै ऐलानी जग्गाको काम सक्ने गरी काम अघि बढेको उनले बताए ।

‘नयाँ वर्ष २०८१ सम्ममा सबैलाई लालपुर्जा दिने हाम्रो उद्देश्य हो । त्यसको लागि तीव्र गतिमा काम हुनेछ,’ खड्काले भने ।

राप्तीसोनारीले जग्गा नापजाँच गर्दा आइपर्ने समस्या समाधानका लागि एउटा टिम समेत बनाएको छ । वडा अध्यक्ष खड्काको संयोजकत्मा वडा सदस्यहरु, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि गरी ११ सदस्यीय सहजीकरण समिति निर्माण गरिएको छ ।

यसअघि पनि राप्तीसोनारी गाउँपालिकाले पहिलोपटक गाउँ ब्लक जग्गाको लालपूर्जा वितरण गरेको थियो । पालिकाले यस अघि वडा नम्बर १ मा गाउँ ब्लक जग्गा  अन्तर्गत  ४७ घरधुरीलाई लालपूर्जा वितरण गरेको थियो ।

वडा कार्यालयले पालिका अध्यक्ष पौडेल, नापी कार्यालय बाँकेका प्रमुख सहदेश सुवेदी लगायतको उपस्थितिमा स्थानीय बासिन्दालाई लालपूर्जा वितरण गरेको थियो भने अन्यलाई पनि लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढेको छ ।

उक्त जग्गाको लालपूर्जाका लागि २०७२ सालदेखि प्रक्रिया अघि बढाइएको थियो । सबै प्रक्रिया पूरा गरेर नापीले स्थानीय वासिन्दालाई उक्त जग्गाको पूर्जा दिएको हो । त्यस्तै राप्तीसोनारीको वडा नम्बर ३ मा पनि निस्सा वितरण सुरु गरिएको छ ।

राप्ती सोनारीको वडा नम्बर ३ मा मात्रै भूमिहीन दलित २६, भूमिहिन सुकुम्वासी ३९ र अव्यवस्थित बसोबास गर्ने ७ सय ९० जना रहेका छन् । उनीहरुका लागि निस्सा वितरणको काम सुरु भएको राप्तीसोनारीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १८:४४

लोकप्रिय