सूचनाको शक्ति - The Power Of Information

        

पदमचाल फूललाई एक चुम्बन

प्राकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । उनीहरू ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट आवश्यक सामग्री आफैंले बोकेर मिक्वाखोला गाउँपालिकाको प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र लोदेन पुगे ।

कठिन यात्राले गर्दा अनिलको तन भारी भए पनि प्राकृतिक सुन्दरताले मन चङ्गा जस्तै उच्च पहाडी क्षेत्रको हावासँगै डुलिरहेको थियो । पदमचाल (केन्जो) फूल देख्नेबित्तिकै त्यसमा उनको आँखा प¥यो । अनौठो र सुगन्धित त्यस फूल नजिकै गएर अनिलले चुम्बन गरे । ढकमक्क पदमचाल फूलले सझिएको फाँटहरु देख्दा जो कोही पनि मोहित हुने गर्दछन् ।

केही छिनमै कुहिरो छोपिदिँदा पृथ्वीको कुनै एक कुनामा हराएको जस्तो अनुभूति हुने गर्दछ । केही क्षणमा ढपक्क कुहिरोले ढाक्ने र बिस्तारै उड्दै जाँदा दुलहीले लजाउँदै घुम्टो उघारे जस्तै लाग्दछ । रोमाञ्चक मौसम र ढकमक्क फूलले आनन्द प्राप्त हुन्छ । फूलको सौन्दर्यताका लागि वा फूलप्रतिको प्रेम भावले सबैलाई आनन्द दिन्छ ।

यतिखेर जिल्लाको उच्च पहाडी क्षेत्रहरु गरगहनाले दुलही सजिए जस्तै यस फूलका गुच्छाले ढकमक्क सजिएको पाइन्छ । पत्रैपत्र परेको पिरामिड जस्तो यो फूल देखेर मोहित नहुने सायदै छन् । कतिपय प्रत्यक्ष देखेर मक्ख पर्छन् भने कतिपय फोटो भिडिओ हेरेर लोभिन्छन् ।

केन्जो प्रत्यक्ष देख्नलाई उच्च पहाडी क्षेत्र पुग्नुपर्छ । चट्टान भएको भिरालो पहाडमा फुलेको केन्जोनजिक पुग्न केही कठिन त हुन्छ नै । पछिल्लो समयमा विभिन्न क्षेत्रहरुमा तस्बिरको प्रयोग बढ्दै गएको छ । होटल रेस्टुरेन्ट विभिन्न क्षेत्रहरुमा पनि यस फूलको आकर्षक तस्बिर राखेको देख्न सकिन्छ ।

उच्च पहाडी क्षेत्रमा कतिपयले पदमचाललाई फूलको रानी पनि भन्ने गर्दछन् । मिक्वाखोला गाउँपालिका लुम्बासुम्बाको उच्च पहाडी क्षेत्रमा केन्जो प्रशस्त देख्न पाइन्छ । मिक्वाखोला गाउँपालिका—५ लोदेन, तोक्पेगोला र फक्ताङलुङ गाउँपालिका—७ सिङजेमा, देउमा, माउमा क्षेत्रमा कमैरुपमा पाइने कञ्चनजङ्घा संरक्षण क्षेत्रका कार्यक्रम सहायक जितेन चेम्जोङले बताए ।

उच्च डाँडाहरुमा पहरामा सेताम्य फुल्ने यो फूलको बनावट धरहरा जस्तै ठाडो हुन्छ । केन्जो एक दुर्लभ प्रजातिको फूल हो । लेकाली चौर र अग्ला डाँडामा निकै आकर्षक देखिने गरी फूलेको भेटिन्छ । संस्कृत भाषामा यसलाई रेवाचिनी, अम्लसार, बेतसाम्ल, फलाम्ले, गन्धिनी भनेर पनि चिनिन्छ । पोलिगोनेसी वनस्पति परिवारभित्र पर्ने यो फूल नेपालको तीन हजार मिटरदेखि चार हजार मिटरसम्मको उच्च पहाडी भेगमा आफैँ उम्रिएका हुन्छन् ।

व्यावसायिक खेती भने हालसम्म भएको देखिँदैन । यसको बोटलाई अचारका रुपमा पनि प्रयोग गर्न मिक्वाखोला गाउँपालिका—५ तोक्पोगालाका तेन्जिङ शेर्पाले बताए । उच्च पहाडी भेगमा फिरफिरे, ठिङ्ग्रे वा गोब्रे सल्ला इत्यादि भएका जङ्गलको छेउछाउमा, थुम्कामा, खुला ठाउँमा र ढुङ्गाको अन्तरमा हुर्किन्छ । एकदेखि दुई मिटरसम्म अग्लो हुने पदमचाल जरा र जमिनमुनि रहने काण्ड कसिएको गठिलो हुन्छ भने बाहिरी भाग चाउरी परेको हुन्छ ।

यसबाट सुगन्धित वासना आउँछ । स्वाद भने पिरो, टर्रो र केही मात्रामा अमिलो पनि हुन्छ । जमिनबाटै पलाएर आएका लामा डाँठ भएका यसका पातहरू ३० सेमी चौडा हुन्छन् । बिरुवाका माथिल्लो भागमा तल्ला पातहरूको दाँजोमा साना हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत आदर्श क्षेत्रीका अनुसार पदमचाल फूल विशेषतः नेपालको हिमाली भेग दोलखा, गोरखा, लमजुङ, म्याग्दी, हुम्ला, बाजुरा, जुम्ला, पर्वत, रुकुम, बागलुङलगायतका जिल्लामा पाइन्छ । यसलाई व्यावसायिक रुपमा लगाएर आर्थिक लाभ लिन सकिने क्षेत्रीले बताए ।

स्रोत : रासस
प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार १०:१३