सूचनाको शक्ति - The Power Of Information

        

सशस्त्रका डिआइजीले दिए तालिम केन्द्रलाई चुनौती

बढुवा भएको एक वर्ष पनि नपुग्दै कोशी प्रदेशको बराह बाहिनीमा पोकलीको कमाण्ड सम्हाल्न गएका डिआइजी अञ्जनीकुमार पोखरेल विवादमा मुछिएका छन् । कमाण्ड सम्हालेदेखि नै विवादमा रहेका डिआइजी पोखरेल हाल चाँहि २० जना जवानलाई बाहिनीभित्रै गोताखोरको तालिम शुरु गरेर विवादमा आएका हुन् ।

कुरिनटारमा एसएसपी महेश थापालाई पेलेर उनले यस्तो तालिम शुरु गरेका हुन् । यो विषयमा केन्द्रको निर्देशनलाई पनि अवज्ञा गरिरहेका छन् । कही दुर्घटना भए सबै कुरिनटारमा लैजानुपर्ने भए पनि उनले भने सामान्य तालिम गराइरहेका छन् । सशस्त्र प्रहरीका अधिकृतहरूले पनि तराईमा गोताखोरको तालिम गराइरहेको भन्दा अचम्म मानेर बसेका छन् ।

उनको यो कदमले तालिम केन्द्र कमजोर भएको सन्देश गएको भन्दै सशस्त्र मुख्यालयले शोभनीय नभएको भन्दै त्यसो नगर्न निर्देशन दिएको छ । तर, उनले अटेर गरेर तालिम सञ्चालन गर्दै आएका छन् । माओवादी केन्द्रका हरिबोल गजुरेल नजिक रहेका पोखरेल आफूलाई सशस्त्रभित्र अब्बल दर्जाको प्रहरी कर्मचारी भएको बताउँदै तल्लो तहका दर्जाको सलामसमेत नफर्काउने डिआइजी हुन् ।

उनले माथिको आदेशलाई समेत लत्याएर गोताखोरको तालिम सञ्चालन गरेका छन् । हाल सशस्त्र प्रहरीका ११ वटा तालिम केन्द्र छन् । ती सबै तालिम केन्द्रमा विभिन्न प्रकृतिका तालिम हुन्छन् । हुलदंगा पोखरामा रहेको लामापाटन, विपद व्यवस्थापन सम्बन्धी कुरिनटार चितवनमा, सीमा सम्बन्धी नवलपरासीको बर्दघाटमा, बाँकेको नौबस्तामा जवानहरूको तालिम हुन्छ, विशेष युद्धकला तालिम सप्तरीमा हुन्छ ।

तर, उनले यी तालिम केन्द्रको औचित्यमाथि नै प्रश्न गरेर प्रहरी महानिरीक्षक राजु अर्याललाई समेत चुनौती दिइरहेका छन् । यसअघि पनि उनले झापामा अनुगमनका लागि भन्दै आफ्ना घुमुवा पठाएर त्यहाँको सशस्त्र प्रहरीलाई निकम्मा बनाउन खोजेका थिए । गत जेठमा उनले प्रहरी निरीक्षक नवलप्रभात राईको नेतृत्वमा घुमुवा टोली पठाएर झापामा खटिएको सशस्त्र प्रहरीलाई कमजोर भएको देखाउन खोज्दा आफै विवादमा तानिएका थिए ।

त्यतिबेला राईले ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेका थिए । सादा पोसाकमा खटिएका सशस्त्र प्रहरी निरीक्षक राईले ड्युटी राम्रो नगरेको भन्दै झापाको मेचीनगरस्थित नेपाल–भारत सीमा नकलबन्दामा ड्युटीमा खटिएका सशस्त्रमाथि कुटपिट गरेपछि उनी निलम्बनमा परेका थिए ।

डिआइजी पोखरेल भने माओवादीको सोर्समा जोगिएका थिए । निरीक्षक राईसहितको टोलीको कुटपिटबाट सशस्त्र प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दार रामबहादुर कार्की, गणेश तामाङ र सहायक हवल्दार शान्तबहादुर राई र जवान उमेश राजवंशी घाइते भएका भएका थिए । उनीहरूलाई मेची नदीको पानीमा चोबल्दै भाटाले हानेका थिए ।

स्थानीयले सशस्त्र प्रहरी बल नकलबन्दा बिओपीको गाडी पनि तोडफोड गरेका थिए । सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याललाई पनि निकम्मा बनाउने उनी भने राईलाई कारवाहीको डण्डा वर्षाएर आफू भने बराह बाहिनीमै अहिले गोताखोरको तालिम गराएर बसेका छन् ।

त्यसअघि पनि उनले डिएसपी सुमन शर्मालाई स्याउ तस्करी गराएको अभियोग लगाएर बाहिनीमा तानेका थिए । सूचना शाखामा बसेर बल्लतल्ल बिओपी कमाण्ड गएका सुमन शर्मा तस्करी नै गराइहाल्ने प्रवृत्तिका नभए पनि उनलाई त्यही आरोपमा अपमानपूर्वक फिर्ता बोलाएर आफ्नो मान्छेलाई पठाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलवार १२:२०