अहिले मनाइरहेको महिलाहरुको महान् चाड हरितालिका तीज निकै तामझामका साथ देशभरि नै मनाइँदैछ । सहरका पार्टी प्यालेसहरु तीजको रौनकले भरिएका छन् । रङ्गीचङ्गी महुमूल्य गहना कपडाले सजिएर महिलाहरु नाच्न व्यस्त छन् । महिलाहरुले तीजको दरको मिठास चुमिरहेका छन् । पहिला मनाउने तीज र अहिले मनाउने तीजमा निकै भिन्नता आएको देखिन्छ । विकट गाउँघरको चेलीबेटीहरुले तीज दुई दिन मात्र मनाउँदैछन् ।
गाउँघरका महिलाहरुलाई खेतीपाती घाँसदाउराको धन्दाले मुस्किलले तीज मनाउने फुर्सद हुन्छ र त्यहाँ तीज जम्मा दुई दिनको मात्र हुन्छ । सहरका महिलाहरु महिनौँ–हप्तौँ अगाडिबाट महँगा महँगा रेस्टुरेन्ट–पार्टी प्यालेसहरुमा दर खाने व्यस्ततामा छन् । यस्तो सहरको तडकभडकले धनीका घरमा तीज आउला गरिबको घरमा निरासा छाउने छ । हाम्रो मौलिक परम्परा संस्कृतिलाई नै ओझेलमा पार्ने गरी तीज अति नै तडकभडक, उत्ताउलो र खर्चालु भएको छ । यस्तै अत्यधिक महँगो खर्चालु जीवनशैलीले भ्रष्टाचार, कालोबजारी, दुई नम्बरी धन्दा गर्न अवश्य सघाउ पुगेको छ र अरुलाई पनि त्यसतर्फ डोर्याउने छ ।
पहिलाका अधिकांश महिलाहरु घरधन्दामा सीमित थिए । महिलाहरुलाई घर परिवारको बुहार्तन निक्कै कठिन हुन्थ्यो । त्यस बखतमा महिलाहरु तीजको गीतमार्फत आफ्ना दुःखसुख पोख्ने गर्थे । आफ्ना मनको भारी तीजको गीतमार्फत हलुको बनाउँथे । नारी मुक्ति तथा नारी स्वतन्त्रताका विषयमा गीतहरु रचिन्थ्यो । केही समय पहिलाका तीजका गीतहरु निक्कै मार्मिक एवम् सान्दर्भिक हुन्थे । अन्य गीतभन्दा तीजका गीतका लय, भाका भिन्न किसिमको छुट्टै हुन्थ्यो । गीत पनि अति मिठासपूर्ण हुन्थे । जस्तै गीतको बोल छ,
आमा तिमीले
आमा तिमीले जन्म दियौ जुन दिन मलाई धर्तीमा
त्यही दिनदेखि बाँधिएकी छु बन्धनमा
कति नियम बान्यौ आमा यही छोरीको नाउँमा
लाइदिएका छन् हत्कडी नेल हातपाउमा
आधुनिकताको नाममा बजारमा आएका तीजका गीत तथा गीतहरुमा गरिने नाच मौलिक परम्परा संस्कृतिभन्दा निकै भिन्न रहेर व्यापारिक प्रयोजनका हिसाबले मात्र गर्न थालिएको छ । अहिले बजारमा आएका तीजका गीतहरु पनि निक्कै तडकभडक र उत्ताउलो खालका छन् । जस्तै गीतको बोल छ,
पोइल जान पाम्
तीजैमा बर्त बसी पूजा गरी भगवान्
आश गर्छु अब त बनोस् मेरो काम
सधैँभरि माइतीघरमा बस्ने मलाई मन छैन
अहिलेकै सालमा पोइल जान पाम् । शिव पाइला जान पाम् ।
यस्ता खालका तडकभडक उत्ताउला गीतहरुले हाम्रो समाजलाई कता लैजाँदै छ ? गीतकारको सङ्ख्या बढिरहँदा किन समाजलाई मार्गदर्शी गीतहरु रचिएका छैनन् ? के जमाना नक्कली नै आएको हो त ? केही तीजका गीतहरु हिन्दी सेनेमाको नक्कल गरिएको पाइन्छ । कुनै तीजका गीतहरु झ्याउरे जस्तो भाकामा छन् । कुनै गीत डिस्कोजस्ता पनि छन् । कुनै तीजको गीतको त शब्दको अर्थै छैन । जस्तै अहिले अत्यधिक मात्रमा बजारमा बजिरहेको तीजको गीत छ ( हंकंगको सारीले नेपालको धुलो उडायो) यस्ता व्यापारिक हिसाबले तयार गरिएका गीत सङ्गीतले केही व्यक्तिलाई फाइदा हुन सक्छ तर हाम्रो मौलिक परम्परा संस्कृति हाम्रो समाजबाट ओझेल परेर हामीले गुमाउनुपर्नेछ ।
आधुनिकताको नाममा अति मूल्यवान् तीजमा लगाइने गहना कपडाको चेलीबेटीहरुमा निकै प्रतिस्पर्धा भइरहेको छ । कसले कतिसम्मको गहना कपडा शो गर्ने भन्ने प्रचलनको निकै विकास भइरहेको देखिन्छ । जस्तै एकै घरमा चार दिदीबहिनी छन् भने दुई दिदीबहिनी अति नै सम्पन्न छन्, बहुमूल्य गहना कपडा लगाउन सक्छन् ।
अरु दुई दिदीबहिनी विपन्न छन् र उनीहरुसँग सामान्य गहना कपडा छ भने तिनै लगाएका गहना कपडाले पनि भावनात्मक सम्बन्धमा फाटो ल्याउन सक्छ । सम्पन्न दिदीबहिनीहरुलाई तीजको हर्ष उमङ्ग होला तर विपन्न दिदीबहिनीहरुलाई तीज नै निकै निराशाजनक हुन सक्छ । हाम्रो समाजमा सबै सम्पन्न छैनन् । वर्षदिनको चाडमा सबै समान हुन नसक्दा कतिको मनमा चाड नभएर चोट हुन सक्नेछ ।
हरितालिका तीज अहिलेको अति आधुनिकतामा आवश्यकभन्दा अनावश्यक परिवर्तन भएको महसुस भइरहेको छ । परम्परादेखि चलिआएको प्रचलन आफ्ना पतिदेवको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै तीजमा निराहार बर्त बस्ने चलन चल्ती रहिआएको छ । २४ सैं घण्टा निराहार बर्त बसेर आफ्नु श्रीमानको खुट्टाको जल खाई खुट्टा ढोग्ने पुरानु प्रचलनलाई हामीले आलिकति परिवर्तन गर्नुपर्ने देखिन्छ । निराहार बर्त बसेर, श्रीमानको खुट्टामा ढोगेर, खुट्टाको जल खाँदैमा आफ्नो पतिदेव सुस्वास्थ्य हुन्छन् भन्ने धार्मिक मान्यता छ ।
यो प्रचलनलाई २१ औँ सताब्दीमा आइपुगेका नारीपुरुषका समानता हुनुपर्छ भन्ने मान्यताले स्वीकार गर्न सक्छ र ? यस बेला लैंगिक विभेदको निक्कै बहस चलिरहँदा हामीले पुरानै चलन चल्तीलाई निरन्तरता दिन सकिएला र ? यले नारीपुरुष समान हुन् भन्ने बहस तथा अभियान निरर्थक हुनेछ । भगवानका नाममा पूजा गर्नु र बर्त बस्नु आफैँमा महान् कर्म हो तर त्यसको सट्टा देखावटी र अवैज्ञानिक काममा सहमत हुन आजको मानिस तयार हुन्छ र ? पूजा गर्नु र बर्त बस्नु आफ्नो आत्मसन्तुष्टिका लागि गरिन्छ ।
तर आफ्नै पहिचान र अस्तित्व नै गुम्ने गरी अर्काका लागि गरिएको उपासनाले महिलाहरुलाई सधैँ पछाडि नै धकलिरहनेछ । प्राचीन कालदेखि श्रीमानको सुस्वास्थ्यको कामना गर्दै महिलाहरु निराहार बर्त बस्दै आएका छन् । तर किन श्रीमतीका निमित्त पुरुषहरु कहिल्यै बर्त बस्दैनन् ? महिलाहरुमाथि धर्मको नाममा गरिने भेदभाव र कुरीतिसहितको कुसंस्कार अझै पनि विद्यमान छ । जति पनि पवित्र धर्मको लेपन लगाएर सम्पूर्ण महिलाहरुमाथि कुरीति, कुसंस्कार लादिएको छ त्यसको हामीले दाहसंस्कार गर्नैपर्नेछ ।
होइन भने हामीहरुले नारीपुरुष समानताको खोजी गर्नु व्यर्थ हुनेछ । महिलाहरुमा अत्यधिक महँगा गहना कपडा एवं तडकभडकको विकास हुनुभन्दा पनि बौद्धिक विकास होस् र अझै योग्यता क्षमताको विकास भएर महिलाहरु सशक्त हुन सकुन् तब नै नारीपुरुष बिचको विभेद र घरेलु हिंसा अर्थात् महिलाहिंसा अन्त्य हुन्छ । अनि मात्र हामी समग्र महिलाहरु आधा आकाश मात्र नभएर आधा धर्ती पनि ओगट्न सक्षम हुनेछौँ । देश विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरुमा महान चाड हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना !
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
कल्पना खरेल । बाँके