सूचनाको शक्ति - The Power Of Information

        

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबिचको बाँकी खेल आज

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानको आइतबारकाको खेल वर्षाले अवरुद्ध भएपछि बाँकी खेल सोमबार खेलाइने भएको छ ।

श्रीलंकाको कोलम्बोमा आइतबार खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको भारतले २४ ओभर १ बलमा दुई विकेट गुमाएर १ सय ४७ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।

सोमबार सोही अवस्थाबाट बाँकी खेल खेलाइने आयोजकले बताएका छन् । भारत र पाकिस्तानबिचको यो खेल सुपर फोर चरणको खेल हो । यसअघि समुह चरणमा पनि यी दुई टोलीको खेल वर्षाले अवरुद्ध हुँदा अंक बाँडिएको थियो ।

एसिया कपको सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश भिडिरहेका छन् । अहिलेसम्म सुपर फोरमा पाकिस्तान र श्रीलंकाले २–२ अंक जोडेका छन्भने बंगलादेश र भारतले अंक जोड्न सकेका छैनन् ।

बंगलादेशले दुबै खेल हारेको छ भने भारतले सुपर फोरको पहिलो खेल पाकिस्तानसँग खेलिरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार ०९:०९

लोकप्रिय