सूचनाको शक्ति - The Power Of Information

        

मीनबहादुर गुरुङलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश

ललिता निवासको सरकारी जग्गा हिनामिनामा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले गुरुङलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले दुई करोड ४६ लाख धरौटी माग गरेको गुरुङका तर्फबाट बहस गरेका कानून व्यवसायी ललितबहादुर बस्नेतले बताए ।

आइतबार भएको थुनछेकको बहसपछि जिल्ला अदालतले गुरुङलाई पुर्पक्षका लागि थुनामा राख्नु आवश्यक नभएको ठहर गरेको हो । ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा लगेर हिनामिना गरेको भन्दै ३१० जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

त्यसको मुख्य योजनाकारमा रहेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङलाई असार १२ गते पक्राउ गरेको थियो । उनी बन्दीप्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले छोड्न अस्वीकार गरेको थियो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गुरुङसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा २०७६ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले गुरुङसँग दुई करोड धरौटी मागेको थियो । उनी दुई करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतवार १६:३०

लोकप्रिय