सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

यस वर्षको मनसुन केही ढिलो बाहिरिने, दशैँ ‘हिले’ हुनसक्ने

अबको केही दिनपछि मनसुन फेरि सक्रिय हुने

यस वर्षको मनसुन सरदर मितिभन्दा केही ढिलो बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् ।  मनसुन बाहिरिने मिति अक्टोबर २ तारिख भए पनि निर्धारित मितिभन्दा केही ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।

गएको वर्ष पनि मनसुन निर्धारित मितिभन्दा नाै दिन ढिला गरी अक्टोबर ११ तारिखमा बाहिरिएको थियो । अहिलेको अवस्थालाई हेर्दा अहिले मनसुनी गतिविधि निष्क्रियजस्तो देखिए पनि अबको केही दिनपछि मनसुन फेरि सक्रिय हुने सम्भावना छ ।

मनसुनी गतिविधि दशैँको नवमीदेखि सक्रिय हुने अनुमान गरिएको माैसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले बङ्गालको खाडीमा न्यून चापीय प्रणाली विकास हुने क्रममा रहेको छ ।

बङ्गालको खाडीमा न्यून चापीय प्रणाली विकास भएमा नेपालमा पनि पानी पर्ने सम्भावना रहिरहन्छ । त्यसकै कारण यस पटकको दशैँका मुख्य दिनहरूमा देशका विभिन्न भागमा मनसुनी वर्षा हुने सम्भावना छ ।

अहिलेसम्मको मौसमी गतिविधिका आधारमा यसपालिको दशैँ हिले हुनसक्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । अहिले बङ्गालको खाडीमा विकास भइरहेको न्यून चापीय प्रणाली केही दिनमा पूर्ण बन्ने र त्यो नेपालको पूर्वी क्षेत्र हुँदै पश्चिमतर्फ लाग्दा पानी पर्ने सम्भावना देखिएको हो ।

अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको  छ । तर नियमित पानी पर्ने वा झरी भने परेको छैन ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १९:१२