दक्षिण–पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले मनसुन लम्बिँदा यस वर्षको दशैं ‘हिले दशैं’ बनेको छ । न्यून चापीय क्षेत्रको प्रभावका कारण महानवमीदेखि लगातार पानी परिराखेको छ ।
मनसुन लम्बिँदा यस वर्षको दशैं झरीमय बनेको छ । पछिल्लो ६ घण्टादेखि विभिन्न प्रदेशमा वर्षा भइराखेको छ । प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी लगायतका प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर, हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले नेपालमा अझै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मितिभन्दा केहीदिन ढिला बाहिरिने सम्भावना रहेको बताएको छ । महाशाखाले भारी वर्षा भएपछि ती क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत हुन अनुरोध समेत गरेको छ ।
यस्तै आगामी तीनदिन कर्णाली, महाकालीसहितका नदीको जलसतह बढ्ने सम्भावना छ । कर्णाली र महाकालीसहित पूर्वी राप्ती, तिनाऊ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरूमा एक्कासी बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष मनसुन बाहिरिन ढिलाइ भएकाले अझै वर्षा भइरहेको छ ।
आज देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । पछिल्लो समयमा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठान लगायतका जिल्लामा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
वर्षा कायमै रहने भन्दै महाशाखाले असोज २२ गतेसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव बढ्ने अनुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीपहिरो लगायतका कुनै जोखिम भएमा स्थानीय सरकार, प्रहरी प्रशासन वा गृह मन्त्रालयमा तत्काल जानकारी गराउन अनुरोध गरेको छ ।
सत्यपाटी । काठमाडौं ।