सूचनाको शक्ति - The Power Of Information

        

लगातार वर्षातका कारण बाँकेको जनजीवन प्रभावित

 बाँके लगायत आसपासका जिल्लामा बिहीवारदेखि परेको अविरल बर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

बिहीवार बिहानदेखि बाँकेमा लगातार बर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले वर्षा अझै केही दिन लम्बिने बताएको छ ।

लगातार नेपालगञ्जमा भइरहेको बर्षाका कारण न्यूरोड, सेतु बिक चोक, डीएसपी रोड लगायतका स्थान जलमग्न भएका छन् ।

चाडपर्वको मुखमा परेको अविरल बर्षाले नेपालगञ्जको बजार व्यवसाय पनि प्रभावित बनेको छ । अबको तीन दिनसम्म पश्चिमी क्षेत्रका नदीमा बहाव उल्लेख्य बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सावधानी अपनाउन भनेको छ । महाशाखाका अनुसार बाँके, अर्घाखाँची, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, सल्यानलगायत १६ जिल्ला उच्च जोखिममा छन् ।

महाशाखाले ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पनि अनुरोध गरेको छ । देशको पश्चिमी भू–भागका नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

ती नदीमा पानीको बहाव सतर्कता तहसम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १९:३५