सूचनाको शक्ति - The Power Of Information

        

सिने सम्वाद

जसले खोले एक बिघामा सिनेमा थिएटर

अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउन्ड र भव्य वातावरणका कारण सिने रोयलले नेपालमा सिनेमा थिएटरले अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ ।

चिकित्सा पेसा गरिरहेको व्यक्तिलाई लग्जरी सिनेमा हल बनाउने सोच कहाँबाट आयो ?

म धेरै चलचित्र हेर्दिनँ । बुवा (वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.विनोद थापा) भने कलेज पढ्दा धेरै सिनेमा हेर्नुहुन्थ्यो । मैले थिएटर बनाउन थालेपछि धेरैले यही प्रश्न गरे । मेरो एक मात्र उद्देश्य नेपालगन्जमा केही नयाँ काम गरेर बेन्चमार्क बनाउने हो । थिएटर बनाउने कुरासँग भारत भ्रमणको एउटा प्रसंग जोडिएको छ । १५ वर्षअघि भारतको जयपुर घुम्न गएको थिएँ । त्यहाँ घुम्दा धेरैले राजमन्दिर हलमा सिनेमा हेर्न सुझाव दिए ।

यो कुरा सुनेर मलाई अचम्म लाग्यो । त्यहाँ के विशेष छ भनेर गएँ । पर्यटकका लागि ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्रजस्तै सिनेमा हल पनि हुने रहेछ । नेपालगन्जमा त ‘क्रस बोर्डर टुरिजम हब’ बनाउन सकिन्छ भन्ने लाग्यो र लग्जरी सिनेमा थिएटरको काम सुरु भयो । जयपुरमाजस्तै नेपालगन्ज आउने हरेक व्यक्ति सिनेरोयल थिएटरमा पुगुन् भन्ने छ । सञ्चालनको दुई दिनमै एक हजार बढीले ६ वटा सिनेमा हेरेका छन् । जसमा ३० प्रतिशत त भारतीय नै छन् ।

नेपालगन्जमै किन सिनेमा हल बनाउनु भयो ?

सिने थिएटर भनेको छुट्टै इमोेसन आउने ठाउँ हो । जहाँ हरेक पटक जाँदा फरक फरक अनुभव हुन्छ । चाहे त्यो हरर मुभी होस् वा कमेडी मुभी, दर्शकले फरक आनन्द पाउँछन् । नेपालगन्जमा पनि त्यस्तै रिफ्रेस सेन्टरकोे खाँचो थियो । दिनभर काम गरेपछि कहाँ जाने ? यही प्रश्नले गर्दा नै नेपालगन्जमा केही नयाँ गरौं भनयो क्षेत्रमा लागेको हो । चार वर्ष लगाएर इन्टरनेसनल स्ट्यान्डरको सिने थिएटर बनाउन सफल भएको छु ।

अहिले बनेजस्तै सिने थिएटर बनाउने योजना थियो ?

थिएन । हामीले अरु सिने थिएटरको लागत हेर्दा सातदेखि नौ करोडमा बनाउने लक्ष्य राखेका थियौं । भारतको मुुम्बईमा पुगेर पनि हे¥यौं । त्यहाँ इन्टरनेसनल स्ट्यान्डरको लग्जरी सिने थिएटर बनाउने इराना एग बोटेलाई भेट्यौं । उहाँले इन्टरनेसनल स्ट्यान्डरको बनाउने भए काम गर्छु भन्नुभयो । उहाँको मुम्बई र दुबईमा कार्यालय रहेछ । विश्वभर १४०० भन्दा बढी सिने थिएटर डिजाइन गरिसक्नु भएको रहेछ । एरा आर्टेटेक्टले नेपालकोे डेकोरेन डिजाइनसँग मिलेर हाम्रो प्रोजेक्टमा काम गरे । विश्वमा भएका सबै टेक्नोेलोजी खोज्दैै गयौं । जे जे नयाँ र राम्रो थियो । ल्याउँदै गयौं । काम गर्दै जाँदा लागत बढेर २५ करोडसम्म पुगेको हो ।

थिएटरमा के–के इन्टरनेसनल स्ट्यान्डर प्रयोग भएको छ ?

सिने थिएटरमा सिट, स्क्रिन, प्रोजेक्टर र साउन्ड सिस्टम हुन्छन् । हाम्रोमा अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउन्ड सिस्टम छ । बेल्जियमबाट २० हजार लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्री डी प्रणाली जडित छ । जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्दछ । यो पनि नेपालकै पहिलो प्रयोग हो ।

नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । यहाँ प्रयोग भएका अधिकांश प्रविधि विश्वस्तरका र विदेशबाटै मगाइएका छन् । सिने रोयलले अत्याधुनिक अग्नि सुरक्षा प्रणाली र पूर्णरूपमा अग्नि–प्रतिरोधी अडिटोरियमका साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पालना गर्दछ । थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गर्दछ ।

सिने रोयलमा कस्तो अग्नि नियन्त्रणको कस्तो सिस्टम छ ?

अडिटोरियम भनेको सलाईको डब्बाजस्तै हुन्छ । आगो लाग्यो कि एकै पटकमा सबै स्वाहा हुन्छ । आगलागीबाट सबैभन्दा बढी क्षति पनि सिने थिएटर नै भएका छन् । हामीले दर्शकलाई सुरक्षित बनाउन झन्डै अढाइ करोड रुपैयाँ अग्नि सुरक्षा सिस्टमका लागि मात्रै खर्च गरेका छौं । एक लाख २५ लिटर क्षमताको अन्डरग्राउन्ड पानी संकलन गर्ने प्रणाली जडान जडित छ । आगो लाग्यो भने फायर सिस्टमले नै आगो निभाउन सक्छ । हामीले प्रयोग गरेका प्लाइ, कार्पेट, सिटको कपडा आगो लागिहाले पनि नफैलिने खालका छन् । जहाँ आगो लाग्छ, त्यही निम्छ । हाम्रो जस्तो प्रविधि नेपालमा अरु कतै प्रयोग भएको छैन ।

सिने रोयलको खास विशेषता के छ ?

यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गरेको छ । अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउन्ड र भव्य वातावरणका कारण सिने रोयलले नेपालमा सिनेमा थिएटरले अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ । एक बिघा क्षेत्रफलमा फैलिएको सिने रोयलको कुल सिट क्षमता ५६० छ । हामीले तीन वटै थिएटरलाई अपाङ्गमैत्री बनाएका छौं । अपाङ्गमैत्री शौचालय पनि छ । हामीसँग कम्तीमा पनि एक सय गाडी र तीन सय मोटरसाइकल अटाउने पार्किङ छ । यहाँ रेस्टुरेन्ट र डिपार्टमेन्ट स्टोरको काम पनि भइरहेको छ ।

अरु नयाँ अभ्यास के के छन् ?

इन्टरनेसनल स्ट्यान्डरको थिएटरमा ग्यासको प्रयोग गर्न पाइँदैन । हाम्रो किचन पनि पूरै इलेक्ट्रिक किचन हो । हामीले उपभोक्तालाई ताजा बर्गर खुवाउँछौं । पपकर्न बनाउने मेसिन अमेरिकाको गोल्ड मेडल कम्पनीको हो । लबीमा राखिएको झुमर पनि इटलीबाट ल्याएका हौं ।

आर्थिक संकटका बेला यति ठूलो लगानीमा सिनेमा घर बनाउनु भयो । आर्थिक मन्दीको असर पर्दैैन ?

आर्थिक मन्दीले सबैतिर तनाव नै तनाव छ । हामीले कोभिड अघि नै थिएटरको निर्माण सुरु गरेका थियौं । पहिलो लकडाउनमा त सबैैभन्दा पहिलो बन्द गर्ने भनेकै सिनेमा घर थियो ।

कोभिडको प्रभाव कहिलेसम्म रहन्छ भन्ने पनि थाहा थिएन । हामीले डेढ वर्ष काम रोक्यौं । कतिले क्यासिनो बनाउन सुझाव दिए । तर, समाजलाई प्रत्यक्ष फाइदा नहुने बिजनेसमा हाम्रो रुची गएन । दोस्रो लकडाउनपछि काम नरोकौं भनेर बनाउन लाग्यौं ।

दर्शकलाई कसरी राहत हुन्छ त ?

ब्यस्त जीवनशैलीले धेरै जना तनावमा छौं । जति तनाव भए पनि थिएटर भनेको ‘स्टे«स फ्री’ हुने ठाउँ हो । पहिले पहिले म पनि धेरै सिनेमा हेर्दैनथें । नेपाली चलचित्र त निकै कम हेरेको छु । हल खुले यता ६ वटा चलचित्र हेरिसकें । बुबा पनि हरेक दिन सिनेमा हेर्नुहुन्छ । दर्शकलाई पनि हामीले लागतभन्दा निकै सस्तोेमा सेवा दिइरेका छौं । हप्तामा दुई दिन र हरेक दिनको बिहानी शो आधा शुल्कमा हेर्ने व्यवस्था गरेका छौं ।

स्रोत : अन्नपूर्ण पोष्ट
प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ०९:०८