सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र ‘बगान’ को व्यापार उत्साहजनक

शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ ।

शनिबार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन् । यो चलचित्रले कति ग्रस कलेक्सन गर्‍यो भन्ने यकिन तथ्याङ्क भने आईपुगेको छैन ।

लामो समयपछि नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । शनिबार नै केही शो सङ्ख्या थप भएकोमा शनिबारको व्यापारपछि आइतबारको लागि अझै थप शो थपिएको काठमाडौँ उपत्यका वितरक करण श्रेष्ठले बताए ।

वितरक श्रेष्ठले पछिल्लो समयमा चलिरहेका चलचित्र भन्दा अत्यन्त राम्रो व्यापार भएको बताए । उनले असारको झरीमा समेत दर्शकलाई हलसम्म ल्याउन ‘बगान’ सफल रहेको बताए । आज काठमाडौँ उपत्यकाका प्रायः हलहरू हाउसफुल देखिएका छन् । काठमाडौँ बाहिरबाट पनि राम्रो खबर आएको छ ।

शनिवार पनि काठमाडौँका विभिन्न हलहरूमा पुगेका निर्देशक तथा अभिनेता सरोज खनालले आफुले जुन उद्देश्यले हामीले चलचित्र बनाएको हो, त्यो पुरा हुने बाटोमा अगाडी बढेको बताए ।

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’ मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतीमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतवार ०७:२३