सूचनाको शक्ति - The Power Of Information

        

‘धेरै फिल्म खेल्नु कलाकारका लागि घातक’

गत बर्ष सर्वाधिक धेरै फिल्म नायक दयाहाङ राइको रिलिज भयो । यो बर्ष पनि दयाकै फिल्म सर्वाधिक रिलिज हुने पक्का छ । तर, नायक राई भने कुनै पनि कलाकारले धेरे फिल्म खेल्नु उसैका लागि घातक हुने तर्क गर्छन् ।

जेठ २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘निरफूल’को बिषयमा मिडियासँग कुरा गर्दै दयाले भने, ‘कुनै पनि कलाकारले धेरै फिल्म खेल्नु हुदैन । यसो गर्दा उसले फिल्ममा आफूले चाहेको जस्तो भूमिका गर्न सक्दैन । तर, मेरो यस्तै भैरहेको छ । कुनै कलाकारले बर्षमा दुई वटासम्म फिल्म खेल्नु राम्रो हुन्छ ।’

दयाले यो बर्षका लागि आफू प्याक रहेको पनि बताए । भने, ‘यो बर्षका लागि मसँग फिल्मको सेड्यूल हाउसफूल भैसकेको छ । तर, अब नयाँ बर्षबाट म अहिलेको जसरी धेरै फिल्म गर्दिनँ ।’ दयाले आउँदो बर्षबाट आफ्नो काम गराईमा परिवर्तन ल्याउने तर्क गरे ।

फिल्म ‘निरफूल’को बिषयमा कुरा गर्दै दयाले भने, ‘यो फिल्म मेरो मनमा छ । कुनै कुनै फिल्म गर्दा शितलता प्रदान गर्छ । जारीपछि मलाई निरफूलको कथाले छोएको थियो । फिल्म पनि निकै राम्रो बनेको छ ।’ फूलमान बल निर्देशित यो फिल्मले भूकम्पको समयमा एउटा परिवारले भोगेको भोगाइको कथा भन्छ । दया यो फिल्मलाई दर्शकले ५० बर्षपछि पनि संझिने बताउँछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १०:१६