सूचनाको शक्ति - The Power Of Information

        

दशैँतिहारमा सफल साबित भएका चार फिल्म

गत वर्ष दशैँतिहारमा कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएन । कोरोना महामारीका कारण बन्द भएका हल दशैँकै छेको पारेर खुले पनि कुनै पनि निर्माताले आफ्नो फिल्म प्रदर्शन गरिहाल्ने आँट गरेनन् ।

यो वर्ष भने दशैँ र तिहार दुवै चाडमा हलमा नेपाली फिल्मको कमी भएन । दशैँतिहार नेपाली निर्माताका लागि फिल्म प्रदर्शन गर्न पहिलो रोजाइको मिति हो । धेरै विदा हुने भएकाले फिल्मलाई लगानी सुरक्षित गर्न तुलनात्मक रूपमा सजिलो हुन्छ भन्ने उनीहरूको बुझाइ छ । त्यसका उदाहरण पनि धेरै छन् ।

यो वर्षको दशैँतिहार नेपाली फिल्म उद्योगका सुखद रह्यो । छ हप्ताको अन्तरमा प्रदर्शनमा आएका सात फिल्म मध्ये चार फिल्म व्यावसायिक रूपमा सफल साबित भए । तर, केही फिल्मले हलमा पानी पनि भन्न पाएनन् । असोज ७ गते प्रदर्शनमा आएको ‘प्रेम गीत ३’ व्यावसायिक रूपमा सबैभन्दा सफल रह्यो ।

हिन्दी र नेपाली गरी दुई भाषामा विश्वका झण्डै चार दर्जन देशमा एकसाथ प्रदर्शन भएको फिल्मले विश्वभरबाट ३५ करोडमाथि कमाइ ग¥यो । जुन नेपाली फिल्म उद्योगका लागि ऐतिहासिक कमाइ हो । घटस्थापनाको दुई दिनअघिदेखि प्रदर्शनमा आएको फिल्मले दशैँ विदाको भरपुर फाइदा उठायो ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा देखिएका थिए । त्यस्तै दशैँको दुई दिनपछि असोज २१ देखि प्रदर्शनमा आएको दिपेन्द्र लामा निर्देशित ‘दुई नम्बरी’ले बक्स अफिसमा करिब ७ करोड रुपैयाँ कमाइ गरेको छ । फिल्म तीन हप्ताभन्दा बढी दर्शकको उल्लेख्य उपस्थितिका साथ हलमा प्रदर्शन भएको थियो ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ । दशैँको छेको पारेर प्रदर्शन भएका प्रेम गीत ३ र दुई नम्बरी व्यावसायिक रूपमा सफल हुँदा तिहारको छेकोमा प्रदर्शन भएका ‘के घर के डेरा’ र ‘महापुरुष’ यतिवेला सफलताका साथ प्रदर्शन भइरहेका छन् ।

कात्तिक ४ देखि प्रदर्शनमा आएको दीपेन्द्र के खनाल निर्देशित के घर के डेराले ४ करोडमाथि कमाइ गरिसकेको छ भने अबको एक हप्तामा पाँच करोडको आँकडा पार गर्ने संकेत देखिएको छ । त्यस्तै कात्तिक ११ देखि प्रदर्शनमा आएको प्रदीप भट्टराईद्वारा लिखित तथा निर्देशित फिल्म महापुरुषले पहिलो तीन दिनमै साढे तीन करोडमाथि कमाइ गरेको छ । दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको फिल्मले पहिलो हप्तामै ५ करोडको आँकडा छुने देखिएको छ ।

सामाजिक कथामा बनेको फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली र रविन्द्रसिंह बानियाँ लगायतको मुख्य भूमिका छ । यीबाहेक असोज १४ सुरेन्द्र पौडेलको निर्देशनमा बनेको बाबरी, असोज २८ मा साकार पन्तको निर्देशनमा बनेको ‘हिजो आजका कुरा’ र कात्तिक ४ मा रिमेश अधिकारीको निर्देशनमा बनेको ‘नालापानी’ प्रदर्शनमा आएका थिए । यी व्यावसायिक रूपमा सफल हुन सकेनन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ११:२१