सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र ‘कान्तारा’मा निर्माताले गीत चोरेको आरोप

दक्षिण भारतको केरलाको प्रसिद्ध ब्यान्ड थक्कुडम ब्रिजले ‘कान्तारा’ चलचित्रका निर्मातालाई आफ्नो गीत चोरेको आरोप लगाएको छ।

ऋषभ शेट्टीको निर्देशनमा निर्माण भएको उक्त चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

चलचित्रले रिलिजको २५ औं दिनमा बक्स अफिस कलेक्शनको मामिलामा केजीएफ र केजीएफ २ लाई पछाडि छोडेको छ। यसैबीच अहिले चलचित्रलाई लिएर विवाद पनि सुरु भएको छ ।

ब्याण्डले चलचित्रको गीत ‘वराह रुपम’ आफ्नो गीत ‘नवरसम्’ को नक्कल भएको बताएको छ । यति मात्र नभएर उक्त ब्यान्डले यो मुद्दा अदालतमा लैजाने चेतावनी सामाजिक सञ्जालमा मार्फत दिएको छ ।

इन्स्टाग्राम अकाउन्टमा पोस्ट सार्वजनिक गर्दे ब्यान्ड थक्कुदम ब्रिजले लेखेको छ– ‘हामी हाम्रा दर्शकहरूलाई यो जानकारी गराउन चाहन्छौं कि थक्कुडम ब्रिज चलचित्र कान्तारासँग कुनै पनि हिसाबले जोडिएको छैन ।

कान्ताराका चलचित्रकर्मीले हाम्रो गीत नवरसम् चोरेर प्रतिलिपि अधिकार नियम उल्लंघन गरेका छन् । त्यसैले जिम्मेवार रचनात्मक टोलीविरुद्ध कानूनी कारबाहीको माग गर्नेछौं।

कान्ताराका निर्माताले सामग्री र संगीतमा हामीसँग कुनै पनि अनुमति लिएका छैनन्। साथै निर्माताले वराह रुपम गीतलाई पनि ओरिजिनल जस्तै प्रमोट गरेका छन् ।’

दर्शकहरूले पनि ब्यान्ड थक्कुदम ब्रिजले लेखेको कुरालाई सर्मथन गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार ०८:०३