यस वर्षको मनसुन सरदर मितिभन्दा केही ढिलो बाहिरिने मौसमविद्ले अनुमान गरेका छन् । मनसुन बाहिरिने मिति अक्टोबर २ तारिख भए पनि निर्धारित मितिभन्दा केही ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।
गएको वर्ष पनि मनसुन निर्धारित मितिभन्दा नाै दिन ढिला गरी अक्टोबर ११ तारिखमा बाहिरिएको थियो । अहिलेको अवस्थालाई हेर्दा अहिले मनसुनी गतिविधि निष्क्रियजस्तो देखिए पनि अबको केही दिनपछि मनसुन फेरि सक्रिय हुने सम्भावना छ ।
मनसुनी गतिविधि दशैँको नवमीदेखि सक्रिय हुने अनुमान गरिएको माैसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले बङ्गालको खाडीमा न्यून चापीय प्रणाली विकास हुने क्रममा रहेको छ ।
बङ्गालको खाडीमा न्यून चापीय प्रणाली विकास भएमा नेपालमा पनि पानी पर्ने सम्भावना रहिरहन्छ । त्यसकै कारण यस पटकको दशैँका मुख्य दिनहरूमा देशका विभिन्न भागमा मनसुनी वर्षा हुने सम्भावना छ ।
अहिलेसम्मको मौसमी गतिविधिका आधारमा यसपालिको दशैँ हिले हुनसक्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । अहिले बङ्गालको खाडीमा विकास भइरहेको न्यून चापीय प्रणाली केही दिनमा पूर्ण बन्ने र त्यो नेपालको पूर्वी क्षेत्र हुँदै पश्चिमतर्फ लाग्दा पानी पर्ने सम्भावना देखिएको हो ।
अहिले पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै ठाउँमा सामान्यदेखि मध्यम खालको पानी परिरहेको छ । तर नियमित पानी पर्ने वा झरी भने परेको छैन ।
सत्यपाटी । काठमाडौँ ।